दशैं तिहार नजिकिए संगै टीकापुरमा स्थानीयको भिडभाड बढ्दै, ब्यापारीहरु अझै निराश - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दशैं तिहार नजिकिए संगै टीकापुरमा स्थानीयको भिडभाड बढ्दै, ब्यापारीहरु अझै निराश



यज्ञराज उपाध्याय / टीकापुर, कैलाली ।

नेपालीहरुको महान पर्व बिजया दशमी (बडा दशैं) र दिपावली नजिकिदै गर्दा कैलालीको दक्षिण पुर्वी सहर टीकापुरमा स्थानीयहरुको चहलपहल बढ्दै गएको छ । केही दिन यता टीकापुरका विभिन्न पसलहरुमा थोक तथा खुद्रा सामानहरु खरिद गर्ने र दशैं नजिकिदै गर्दा नयाँ नयाँ लुगाकपडा किन्ने हेतुले बजारमा स्थानीयहरु बढी आउन थालेका छन ।

चाडपर्वहरु नजिकिनु पुर्व टीकापुर बजार सुनसान जस्तै लाग्थ्यो र यहाँका ब्यापारीहरु पनि फुर्सदिला जस्तै देखिन्थे । अहिल दशैं र तिहार नजिकिए संगै स्थानीयहरु टीकापुर बजार तर्फ कुर्लन थालेपछि ब्यापारीहरुलाई समेत भ्याइनभ्याई छ ।

बर्षमा एक पटक आउने यी महान चाडपर्वले धेरै महत्त्व बोकेका छन । नेपालका महान चाड मानिने दशैं र तिहारलाई लक्षित गर्दै आफ्नो जन्म घर वा बसोबासित घर छाडी कामको सिलसिला या अध्ययन अध्यापनको सिलसिलामा बाहिर गएकाहरु आफ्नो घर फर्कने र त्यसपश्चात परिवारलाई आवश्यक सामानहरु किनमेल गर्ने भएका कारण टीकापुर बजार पनि चम्किदै गएको छ ।

पछिल्लो समय टीकापुर भन्दा वरिपरिका गाउँमा पनि स-साना बजारहरु बिस्तार हुन थालेपछि चाडपर्व भन्दा अन्य समयमा सामान्य नागरिकहरु टीकापुर बजार केन्द्रित नभई स्थानीय बजार केन्द्रित भएका कारण र टीकापुर नगरपालिका नजिकै भारतीय बजार तिकुनिया भएका कारण टीकापुर मै बसोबास गर्दै आएका नागरिकहरु समेत भारतीय बजार तिकुनिया केन्द्रित हुन थालेपछि टीकापुरको व्यापार खस्कदै आएको यहीँका ब्यापरिहरुले समयसमयमा गुनासो गर्दै आएका छन ।

पछिल्लो समय टीकापुरको व्यापार टीकापुर वरिपरिका गाउँमा बिस्तार भएका स्थानीय बजारले भन्दा पनि नेपालको सिमाना पारी रहेको तिकुनिया बजारले खस्किदै गएको छ । घरमा चाहिने अत्यावश्यक सामानहरु देखि लिएर आलु, चिनी सम्म किन्नका लागि समेत तिकुनिया बजार नै धाउने टीकापुरका नागरिकहरुको प्रविर्ती हाबी हुन थालेपछि टीकापुरको व्यापार चौपट्टै हुन थालेको अगुवाहरुको भनाई छ ।

अहिले चाडपर्व नजिकिदा पनि टीकापुर भन्दा तिकुनियाका बजारमा यहाँका नागरिकहरुको चहलपहल बढी छ तर पनि चाडपर्वका अवसरमा अर्को देशको बजारसम्म सामान किन्न पुग्दा केही दुर्घटना निम्तिन सक्ने भन्दै गाउँका स्थानीयहरु भने टीकापुर कै बजारमा सामानहरु किनबेचमा ब्यस्त रहेका छन जसले टीकापुरको ब्यापारलाई उकास्न महत्त्वपूर्ण भुमिका खेलेको छ ।

सत्ती छोटी भन्सान मुल भन्सारका रुपमा स्तरोन्नति भएपछि यहाँ ब्यापारी संगै स्थानीयहरुमा पनि खुशियाली त छायो तर टीकापुरको व्यापार व्यवसाय भने अझै उभो लाग्न सकेको थिएन । केही बर्ष अघि दशैं तिहार नजिकिदा टीकापुरका प्रायः पसलहरुमा निकै भिडभाड हुने गर्दथ्यो जतिबेला टीकापुर वरिपरिका गाउँका स्थानीय र टीकापुर नगरपालिकामै बसोबासित नागरिकहरु यहीँको बजारमा सामानहरु किनमेलका लागि दौड्ने गर्थे । आज सामान किन्न ठाउँ पाईएन भने भोलिको दिन बिहानै बजार सम्म जाने र सामान किनेर घर फर्कने गरेको स्थानीयहरु सम्झदै बताउछन तर अहिले प्रायः यहीँका गन्यमान्य नागरिकहरु नै आफ्नो बजार छाडी अर्काको बजार सम्म दौडने गर्दछन ।

टीकापुरमा बिगत केही बर्ष देखि फेन्सि ब्यवसाय गर्दै आएका बि.एन.के फेन्सी स्टोरका सञ्चालक देबिलाल चपाईका अनुसार तीन चार दिन यता टीकापुर बजारमा स्थानीयहरुको चाप पहिलेभन्दा बढ्दै गएको छ । स्थानीय चहलपहल बढे पनि गत बर्ष जस्तो यो बर्ष ब्यापार नभएको दुखेसो उनी पोख्छन । गत बर्ष दशैंको समयमा पचास हजार बराबरको ब्यापार भएको तर यो पटक भने दशैंको समयमा समेत पन्ध्र हजार माथि ब्यापार हुन नसकेको भन्दै उनले दुखेको पोखे ।

त्यसै गरि टीकापुर मै होटेल व्यवसाय गर्दै आएका आर.एस.एम चाउमिन एण्ड मम सेन्टरका सञ्चालक सन्तोष सुबेदीले अरु दिनहरुको दाजोमा दशै नजिक बजारमा मानिसहरुको चहलपहल बढि नै भए पनि व्यापार भने पहिले जस्तै भएको बताए । उनले यहीँका अधिकाशं मानिसहरु यहीँको बजारमा नआई भारतिय बजारमा जान पल्केको गुनासो गरे । यस्तै टीकापुर ठुला फेन्सि पसलहरुमा समेत सामान्यतया अरु दिनभन्दा मानिसहरुको चहलपहल बढिरहेको भएता पनि ब्यापारीहरुमा निराशा नै छ । टीकापुर अहिल आउने स्थानीयको तुलनामा नजिकैको भारतिय बजारमा असंख्य स्थानीयहरु जाने गरेकाले टीकापुरको व्यापार शुन्यमा झरे जस्तो लागेको ब्यापारीहरु बताउछन ।