३५ वर्षे लुटतन्त्र र ७६ युवाको रगतको हिसाब खै ? - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

३५ वर्षे लुटतन्त्र र ७६ युवाको रगतको हिसाब खै ?



के तपाईंले कहिल्यै मसानघाटमा उभिएर कसैले जीवनको सुन्दर गीत गाएको सुन्नुभएको छ? या आफ्नै हातमा लागेको रगतको टाटा लुकाउँदै कसैले शान्तिको शङ्खघोष गरेको देख्नुभएको छ? अचेल नेपालको राजनीतिक रंगमञ्चमा दुरुस्तै यस्तै एउटा विभत्स र सिरिङ्ग पार्ने प्रहसन चलिरहेको छ। विगत ३५ वर्षसम्म यो देशको माटो, यसको वैभव र यसका करोडौँ सपनाहरूलाई पालैपालो निर्लज्जतापूर्वक लुछ्ने दुईवटा अनुहार—पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीलाई अचानक ‘देशको माया’ लाग्न थालेको छ।

हिजोसम्म सिंहदरबारको कुर्सी जोगाउन देशको सार्वभौमिकता र नागरिकको भविष्यलाई दाउमा राख्ने यी पात्रहरू आज राष्ट्रवाद र सुशासनका यस्ता संवाद ओकलिरहेका छन्, मानौँ यो देशलाई यो हविगतमा पुर्‍याउने अपराधीहरू अरू कोही हुन्, उनीहरू त केवल निर्दोष दर्शक मात्र थिए! तर इतिहास साक्षी छ, यो देशलाई कंगाल बनाउने र युवाहरूलाई देशविहीन बनाउने खेलका मुख्य खेलाडी यिनीहरू नै हुन्।

पछिल्लो साढे तीन दशकको इतिहास पल्टाउने हो भने, नेपाली जनताले देश बन्ने आशमा यी र यस्तै अनुहारहरूलाई पटक–पटक आफ्नो काँधमा बोके। कहिले क्रान्तिको नाममा त कहिले शान्ति र समृद्धिका गुलिया नारामा जनताले आफ्नो रगत र पसिना बगाए। तर, विडम्बना ! नेताहरूले देशको भाग्य कोरेनन्, केवल आफ्नो र आफ्ना आसेपासेको मात्रै सुनौलो भविष्य कोरे।

काण्डै–काण्डको खात र संस्थागत भ्रष्टाचार
यी ३५ वर्षमा देशले विकासको होइन, भ्रष्टाचार र काण्डहरूको नयाँ उचाइ चुम्यो। लडाकु शिविरको अर्बौंको घोटालादेखि यति, ओम्नी, नक्कली भुटानी शरणार्थी प्रकरण हुँदै गिरीबन्धु टी–स्टेटसम्म आइपुग्दा बेइमानीका कुनै यस्ता शृङ्खला बाँकी छैनन्, जसमा नेतृत्वको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नहोस्। राजनीतिलाई सेवा होइन, नाफा कमाउने व्यापार बनाइयो।

योग्यताको हत्या र निराशाको खेती
कुनै पनि देश तब मात्र बन्छ, जब त्यहाँका संस्थाहरू बलिया हुन्छन्। तर, प्रचण्ड र ओली प्रवृत्तिले देशका हरेक अंगलाई पक्षघात गराइदियो। ‘राम्रो मान्छे’लाई पाखा लगाएर ‘हाम्रो मान्छे’ अर्थात् आफ्ना झोले र कार्यकर्तालाई मात्र अवसर दिने कुसंस्कारले संस्थागत रूप लियो। देशमै केही गर्छु भन्ने क्षमतावान् युवाहरूलाई कि त खाडीको तातो घाममा पसिना बगाउन बाध्य पारियो, कि त युरोप–अमेरिकाको भिसा लाइनमा धकेलियो। सत्ताको तर मार्ने काम भने नेताका आसेपासे र बिचौलियाले मात्रै पाइरहे। राज्य संयन्त्रले युवाहरूलाई सपना होइन, केवल चरम निराशा बाढ्यो।

जेनजी आन्दोलन : रगतको टाटा र अनुत्तरदायी सत्ता
जब ३५ वर्षको यो लुटतन्त्र, बेरोजगारी र बेथितिले सीमा नाघ्यो, तब राज्यको यही स्वेच्छाचारिताले एउटा नयाँ आँधीलाई जन्मायो— ‘जेनजी (Gen-Z) आन्दोलन’। यो कुनै राजनीतिक पार्टीको झोला बोक्नेहरूको भिड थिएन। यो त ती युवाहरूको आन्दोलन थियो, जसको वर्तमान यी नेताहरूले खोसेका थिए र भविष्य निमोठ्दै थिए। उनीहरूले सडकमा आएर केवल एउटा बाँच्न लायक देश मागेका थिए, न्याय मागेका थिए।

“तर, आफ्नो अधिकार माग्दै सडकमा ओर्लिएका युवाहरूको छातीमा राज्यले फूल होइन, सिसाका गोलीहरू बर्सायो।”

सत्ताको उन्मादमा ७६ जना होनहार युवाहरूलाई सडकमै ढालियो। त्यो रगतले काठमाडौंको सडक मात्र भिजेन, सिंगो देश रोयो। तर, विडम्बनाको पराकाष्ठा हेर्नुहोस्— त्यतिबेला सत्ताको कुर्सी घुमाइरहेका केपी ओलीले ती निर्दोष युवाहरूको रगत सुकिसक्दा पनि आजसम्म एक शब्द माफी मागेका छैनन्। एउटा लोकतान्त्रिक भनिने देशको प्रधानमन्त्रीले आफ्नै नागरिकको हत्या हुँदा देखाएको यो निर्ममता, अहंकार, कुसंस्कार र दम्भले इतिहासको पानामा कालो पोतेको छ।

अहमता र अकर्मण्यताको बन्दी
‘म नै राज्य हुँ’ भन्ने ओलीको त्यो अमानवीय दम्भ र ‘जसरी पनि सत्ता मेरै वरिपरि घुम्नुपर्छ’ भन्ने प्रचण्डको अवसरवादले देशलाई सधैं बन्धक बनायो। ७६ जना युवाको ज्यान जाँदा चुँइक्क नबोल्ने, बरु उल्टै सत्ता जोगाउन राति–राति विदेशी दूतहरूसँग लम्पसार पर्ने यी नेताहरू आज कुन मुखले देशको माया लागेको नाटक गर्दैछन्? उनीहरूका लागि देशको अर्थ नक्सा र माटो मात्र रह्यो, त्यहाँ बस्ने नागरिकको आँसु र रगतसँग उनीहरू कहिल्यै जोडिएनन्।

०००
३५ वर्षसम्म राज्यसत्ताको दोहन गरेर, योग्यतालाई कुल्चिएर, र आफ्ना सपना माग्ने ७६ जना कलिला युवाहरूको रगतको होली खेलेर— आज उनीहरूलाई एक्कासि ‘देशको माया’ लाग्नु एउटा भद्दा मजाक र क्रुर प्रहसन बाहेक केही होइन। यो देशप्रेम होइन, फेरि एकपटक नागरिकको आँखामा धुलो छरेर सत्ताको चास्नीमा डुबुल्की मार्ने नयाँ प्रपञ्च मात्र हो।

७६ जना कलिला नेपालीको रगतले लतपतिएको सडक र न्याय नपाएर रोइरहेका आमाहरूको आर्तनादलाई साक्षी राखेर अब फैसला गर्ने बेला आएको छ। ३५ वर्षसम्म देशको भविष्यलाई आगो लगाएर न्यानो ताप्ने कसाईहरू आज संस्कारी घरमूली बन्ने ढोंग गर्दैछन्। इतिहास क्रुर छ, यसले न त ७६ जना युवाको हत्याराको दम्भलाई बिर्सनेछ, न त देशलाई मरुभूमि बनाउने मतियारहरूलाई माफी दिनेछ।

प्रचण्ड र ओलीहरूले कान खोलेर सुने हुन्छ— अब देशलाई उनीहरूको नक्कली ‘माया’ र गोहीको आँसु होइन, उनीहरूको यो अभिशप्त पञ्जाबाट सदाका लागि मुक्ति चाहिएको हो।