सहकारीमा संचालकको मनपरी , कार्यकाल सकिए पनि नयाँ समिती गठन भएन - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

सहकारीमा संचालकको मनपरी , कार्यकाल सकिए पनि नयाँ समिती गठन भएन



६ महिनाभित्र गर्नुपर्ने साधारण सभा ९ महिना बितिसक्दा पनि हुन सकेन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको साना किसान कृषि सहकारी संस्थामा संचालकको मनपरी क्रियाकलाप देखिएको छ । ऐनअनुसार आर्थिक वर्षको ६ महिनाभित्र गर्नुपर्ने साधारण सभा ९ महिना बितिसक्दा पनि हुन सकेको छैन ।

उक्त सहकारीको वर्तमान सञ्चालक समितिको ३ बर्षे कार्यकाल पनि गत पौषमै सकिएको छ । तर नयाँ कार्य समिति गठनका लागि बार्षिक साधारण सभाको अझैसम्म पनि टुङ्गो लाग्न सकेको छैन । जसका कारण सहकारीका सदस्यहरु समेत असन्तुष्ट बनिरहेका छन् । अध्यक्षले बोलानुपर्ने साधारण सभा विभिन्न बाहना बनाई आलटाल गरिएको छ । नयाँ समिति बनाउन बाटो खोल्नुपर्ने आवश्यकता भएपनि अहिलेसम्म त्यसको कुनै छाँटकाट देखिएको छैन । साथै अहिलेसम्म आर्थिक प्रतिवेदन पनि अनुमोदन नगरिएकोे एक जना सेयर सदस्यले बताए ।

निष्कृय लेखा समिति
करिब ४ हजार सेयर सदस्य र १८ करोडभन्दा बढीे कारोबार रकम रहेको उक्त सहकारी संस्था विगत १ वर्षदेखि लेखा समिति बिनै चलिरहेको छ । गणेश जैसीको संयोजकत्वमा गठित लेखा समिति अहिले निष्कृय जस्तै छ । संयोजक जैसीले गत असारमा राजीनामा दिएपछि लेखा समिति पनि निष्कृय जस्तै बनेको हो । सहकारीको लेखा समिति नहुँदा दैनिक कार्यालय सञ्चालन लगायतका खर्चमा पनि अ समस्या भएको र मनोमानी ढंगले चलिरहेको एक जना कर्मचारीले बताए । हालसम्म त नयाँ लेखा समिति बनिसक्नु पर्ने हो, उनले भने कसैलाई मतलब नै छैन ।

स्थापना कालदेखि हालसम्म अध्यक्ष
हाल सञ्चालक समिति अध्यक्ष रहेका पदम रिजाल संस्थाको स्थापनाकाल वि. स. २०५६ सालदेखि हालसम्म पटक पटक गरी अध्यक्ष पदमा रहेका छन् । यो सहकारी स्थापनाको करिब १९ वर्ष पुग्नै लाग्दा बीचमा केही महिना बाहेक बाँकी समय आफै अध्यक्ष बनेर चलाएको एक शेयर सदस्यले बताएका छन् । उनले भने, सुरु देखिकै अध्यक्ष वहाँ नै हो, पहिला सहकारी पनि सानो थियो,सेवा सुविधा पनि केही थिएन, बीचमा एकपटक संस्थामा आगलागी हुँदा केही महिना मात्रै दुईजना अरु कोही अध्यक्ष बनेका थिए । नत्र वहाँ नै हो, अहिले त अध्यक्षलाई पनि सेवा सुविधाको व्यवस्था छ भन्छन् । त्यसो त उनी साधारण सभाबाटै चुनिएका हुन् ।

कार्यालय नै घर
प्रबन्धक मिना पराजुली परिवार सहित ९ महिनादेखि सहकारीको कार्यालय रहेको भवनमै बस्ने गरेकी छन् । सञ्चालक समितिका एकजना सदस्यले भने, मलाई थाहा छैन, म उपस्थित थिइन, सञ्चालक समितका केही व्यक्ति बसेर अर्को व्यवस्था नहुन्जेल बस्न दिने भन्ने निर्णय भएको सुनेको हो । हालसम्म त व्यवस्था गरिसक्नु पर्ने हो खै किन भएको छैन ?

यस विषयमा जिज्ञासा राख्दा सरकारी संस्थाका वर्तमान उपाध्यक्ष पूर्ण बिष्टले वार्षिक साधारण सभा र चुनावी सभा विविध कारणले हुन नसकेको स्वीकार गरे, उनले भने लेखा परीक्षण अरु सबै भई सकेको छ ,अबको सभाबाट नेतृत्व चयन पनि गर्ने भएकोले तयारी गर्न समय लागेको हो, अब ढिला हुँदैन,नयाँ भवनको उद्घाटन पनि गर्नु छ सम्भवतः मन्त्रीलाई बोलाएर भव्य रुपमा गर्ने सोच छ, अब नयाँ वर्ष पछि लगत्तै हुन्छ ।

जेसुकै भएपनि यस्ता सामुहिक संस्था चलाउँदा ऐन कानुनको पनि ख्याल गर्नुपर्छ । कानुन र नियम अनुसार संस्था चलाएमा कसैले पनि औँला उठाउन सक्दैनन् । संस्था सामूहिक विचारका आधारमा चल्ने भएकोले मनोमानी र मनपरी कृयाकलाप कसैलाई पाच्य हुन सक्दैनन् ।