सहकारीमा कर्मचारीको श्रम शोषण ,संचालक समितिद्बारा आफुखुशि निर्णय  - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सहकारीमा कर्मचारीको श्रम शोषण ,संचालक समितिद्बारा आफुखुशि निर्णय 



राजीनामा दिई तलब भत्ता बुझे

बौनिया ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका-३ खैरेनीमा रहेको शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थामा कर्मचारीको चरम श्रम शोषण भएको छ ।

बिगत ६ महिना देखी कर्मचारीको तलबभत्ता निर्धारण नै नगरी संचालक समितिले श्रम शोषण गरेको पीडितले गुनासो गरेका छन । ६ सय ४९ जना उपभोक्ता रहेको बिद्युत सहकारी संस्थामा एकजना प्रबन्धकले काम गर्न नसक्ने भन्दै एक महिला र एक पुरुष गरि दुईजना कर्मचारी नियुक्ति गरिएको थियो । खुल्ला प्रतियोगितात्मक परीक्षाबाट २०७३ असोज १ गते देखि एकबर्षे करार अवधिमा नियुक्ति भएका ब्यवस्थापक धर्मा थापा र राम बहादुर चौधरीको कार्यकाल गत असोज १ गते सकिएको हो । उनीहरुले यसअघि ५/५ हजार तलब खाइपाई आएका थिए । एकबर्षे करार अवधी सकिएपछि न्यून तलबमा काम गर्न नसक्ने भन्दै प्रबन्धक राम बहादुर चौधरीले गएको पुस २५ गतेदेखि नै राजीनामा दिइ कार्यालय छोडेका थिए ।

करार नियुक्ति मिति सकिएको ६ महिनापछि गत फागुन ३ गते संचालक समितिले पुनः प्रबन्धक धर्मा थापालाई एकवर्षे करार अवधिमा नियुक्तिको निर्णय गरेको कोषाध्यक्ष नन्दाराम बिष्टले बताउनुभयो । “तलब भत्ताको निर्णय पनि सोही मितिमा गर्नुपर्ने थियोे तर, भएन यहीँबाट कमजोरी भएको हो । मैले त्यतिबेला नै तलबको निर्णय गरौं भनेको थिए अरु पदाधिकारीले मान्नुभएन कोषाध्यक्ष बिष्टले भन्नुभयो ।” संस्थाको विद्यानको परिच्छेद ८ को दफा-४९ मा संस्थाको ब्यवस्थापन प्रभावकारी बनाउन ब्यवस्थापकको योग्यता, छनौट, नियुक्ति र तलब निर्धारण र अन्य सुबिधा सम्बन्धि ब्यवस्था कर्मचारी प्रशासन नियमावली संचालक समितिद्वारा तर्जुमा गरि साधारण सभाबाट अनुमोदन गराइ लागू गर्नुपर्ने भनिएको छ । तर, साधारण सभाबाट समेत तलब भत्ता अनुमोदन नगरी संचालक समितिले गत माघ १ गतेदेखि ७ हजार तलब दिने आफुखुसी निर्णय गरेका छन ।

तलब वृद्धि गर्ने आश्वासन दिदै आएका संचालक समितिले साधारण सभाबाट समेत तलब निर्धारण नगरेको प्रबन्धक धर्मा थापाले बताउनुभयो ।” तलब वृद्धिको निर्णय साधारण सभाबाट गर्छौं भन्दै फागुन ३ मा नियुक्तिको निर्णय मात्रै गरियो । तर, अहिले आएर २ हजार रकम थप गर्नु चित्तबुझ्दो निर्णय भएन प्रबन्धक थापाले भन्नुभयो” ।

काम गरिसकेपछि कर्मचारीको पारिश्रमिक निर्धारण गर्नु आफैमा त्रुटिपूर्ण र संचालक समितिका केही पदाधिकारीको आफुखुशी निर्णय भएको उपसमिति सदस्य गोविन्द बीसीले बताउनुभएको छ । यसैगरी राजीनामा दिएका रामबहादुर चौधरीले नियुक्ति बिना ४ महिनाको तलब भत्ता बुझेका छन् भने आर्थिक बर्ष २०७४/०७५ को साउन देखि पौष मसान्तसम्मको हिसाब समेत मिलान नगरेको लेखा समिति संयोजक पुरन बिश्वकर्माले बताउनुभएको छ ।

यसअघि कार्यालयमा हाजिर भइ हिसाब मिलान गर्न बारम्बार पत्र पठाएको भएपनि चौधरीले आफुखुसी राजीनामा पत्र कार्यालयमा छोडेर अटेरी गरेको संयोजक पुरन बिश्वकर्माले बताउनुभएको छ ।