ब्यवसायिक बंगुरपालेका युवाको लोभ लाग्दो कमाइ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ब्यवसायिक बंगुरपालेका युवाको लोभ लाग्दो कमाइ



इन्दु केसी

सुखड कैलाली । पछिल्लो समय दैनिक सयौं युवा विदेश पलायन भइरहेका छन । गाउँमा रोजगारीको संभावना नदेखी युवा विदेश पलायन भइरहेका बेला कैलालीको घोडाघोडी नगरपालिका–८ का बलबहादुर सोनाहा भने गाउँमै बंगरपालन गरेर मनग्ये आम्दानी गर्न थालेका छन् ।

६ वर्षदेखि बंगुर पाल्न थालेका उनी अहिले व्यवसायिक रुपमा लागेका छन् । बंगरपालन व्यवसाय सुरु गर्न अघि उनको आर्थिक अवस्था दयनीय थियो । अल्पसंख्यक जातिमा पर्ने सोनाहा वाति जिल्लामा ७ परीवार छन । सोनाहा भन्छन, ‘दैनिक छाक टार्न समस्या थियो,’ अरुको परिवारलाई लगाएको, खाएको देख्दा मलाइ पनि आफ्नो परिवारलाइ त्यसै गरी राखौं लाग्थ्यो, तर त्यसरी राख्ने मेरो हैसियत थिएन ।’ उनलाई परिवारको खर्च धान्न साहुबाट ऋण निकाल्नु पर्ने अवस्था थियो, ऋण पाउन पनि मुस्किल थियो, साहुले पत्याउदैनथे । तर यो व्यवसायमा लागेपछि उनको आर्थिक हैसियत नै फेरिएको छ ।

विदेशमा काम गर्नुको कठिनाइ र स्वदेशमा केही गर्छु भन्ने अभिप्रायले यो व्यवसाय गरेको उनले बताए । उनि भन्छन, ‘पहिले म सोनाहा विकास समाज बर्दियाको सचिव थिए, इन्टरनेसनल संस्था जिएनको सहयोगबाट हामीले १७ लाख लगानीमा बंगुरपालन गरेका थियौ । अहिले सनँैटा सहकारी संस्थालाई सो फर्म हस्तान्तरण गरेका छौं ।’ सोनाहा विकास समाजमा बस्दा बंगुरपालनको अनुभव भएपछि यो व्यवसायमा लाग्न सहज भएको उनले बताए । ‘सबैभन्दा मुख्य कुरा सिप र अनुभव रहेछ,’ उनले भने, ‘जोश जागर र साहस भए सबै यही गर्न सकिन्छ’ ।

कैलालीमा बंगुरपालनको राम्रो सम्भावना देखेर यही पेसा रोजेको उनको भनाइ छ । सुरुवाती चरणमा उनले करिब एक लाख रुपैयाँ आम्दानी गर्थे, । अहिले उनी वार्षिक तीन लाख रुपैयाँ आम्दानी गर्छन् । व्यवसायिक रुपमा लागेपछि घर खर्च र छोराछोराछोरीको पढाइ खर्च व्यहोर्न सहज भएको उनले जानकारी दिए ।

सुरुमा ६ वटा बंगुरका बच्चा राखेर व्यवसाय सुरु गरेका उनीसँग हाल ७५ वटा बंगुर छन् । ‘आफ्नै गाउँमा केही गर्ने सोच बनाएर यो व्यवसाय सञ्चालन गरेको हँु,’ उनले भने, ‘अहिले सोचे अनुरुपको आम्दानी हुन थालेको छ ।’

उनको व्यवसाय देखेर जिल्ला पशु सेवा कार्यालयले उनलाई दुई लाख रुपैयाँ अनुदान दिएको छ । करिब एक सय बंगुर पाल्ने लक्ष्य रहेको उनले ६ लाख रुपैयाँ लगानी गरेर व्यवस्थित खोरसमेत बनाएका छन् । केही समयमै बंगुर थप्ने तयारी उनले गरेका छन् । सोनाहाले व्यवसायिक रुपमा बंगर पालन गरेर छोटो समयमै आर्थिक अवस्था सुधारेको उनका छिमेकी बसन्त चौधरीले बताए । सुरुमा घरखर्च चलाउन हामीबाट ऋण लिएर चलाउथे,’ उनले भने, ‘तर अहिले हामीले ऋण माग्नुपर्ने अवस्था आएको छ । उनिसँग मेसान, पाख्रेबास,डिउरोक, ल्यान्ड्रेस जातका बंगुर छन् । सोनाहाले बंगुरले बच्चा जन्माएपछि एउटा बच्चा गाउँकै गरिव किसानलाइ निशुल्क दिने गरेका छन् । उनि भन्छन, ‘बंगुरले बच्चा जन्माएपछि एउटा बच्चा गाउँकै किसानलाइ दिने गरेको छु, उनीहरुको पनि आयआर्जन होस भन्ने मेरो उदेश्य हो ।’

भाले लागेको एक सय १४ दिन मै बच्चा जन्मने र बच्चा छुटाएको एक हप्ता मै फेरि सोही प्रक्रिया दोहोरिने उनले बताए । एउटा बंगुरले ७ देखि १८ वटासम्म बच्चा जन्माएको छ, उनले भने,’ एउटा बच्चा ४ हजारदेखि ५ हजार सम्ममा बिक्री हुन्छ । बंगुरले निकाल्ने मल प्रयोग गरेर उनले तरकारी खेती पनि गरेका थिए । केहि समय मल प्रयोग गरी तरकारी खेती गरे उनी भन्छन, ‘धेरै जमिन छैन, अहिले मल बेच्ने गरेको छु ।’ युवाले केही गरेर देखाउनु पर्छ भन्ने सोच र उद्देश्यले बंगुरपालन व्यवसाय सुरु गरेको उनको भनाइ छ ।

रोजगारीका लागि ठूलो लगानीमा विदेश गएर अर्काको मुलुकमा पसिना बगाउनुभन्दा स्वदेशमै आत्मनिर्भर बन्न सकिने उनको धारणा छ । ठूलो लगानी गरेर विदेसिनुभन्दा सोही खर्चमा मिहेनत गरे राम्रो आम्दानी हुन्छ,’ उनले भने, ‘पैसा पनि राम्रो कमाइने र मालिक पनि बनिन्छ ।’ उनि भन्छन ,थोरै जमिनमा बढि उत्पादन कसरी गर्न सकिन्छ भन्ने सोचेर, यो ब्यवसायमा लागे, यो ब्यसाय घर परीवारले पनि हेर्न सक्ने हुनाले सहज हुन्छ ।

आगामी दिनमा स्थानीयतहले उद्योग र व्यवसायका लागि नयाँ नीति ल्याएर काम गर्ने वातावरण बनाउनु जरुरी रहेको उनले बताए । ‘केही गरौं भन्ने सोच भएका युवायुवतीलाई सरकारी तवरबाट सहयोग गर्नुपर्छ,’ उनी भन्छन, ‘मुलुकलाई आत्मनिर्भर बनाउन उद्योगी र व्यावसायिक विकासमा राज्यले पनि लगानी गर्नुपर्छ ।’