सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-२१)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
ये मे मतमिदं नित्यनुतिष्ठन्ति मानवाः।
श्रद्धावन्तोऽनसूयन्तो मुच्यन्ते तेऽपि कर्मभिः।।३१।।
ये त्वेदभ्यसूयन्तो नानुतिष्ठन्ति मे मतम्।
सर्वज्ञानविमूढांस्तान्विद्धि नष्टानचेतसः।।३२।।
श्रद्धायुक्त भएर द्वेष नलिई, जो लिन्छ मेरो मत
उसको छुट्तछ कर्मबन्धन यहीं हे पार्थ ! त्यो मुक्त छ।
ईर्ष्यायुक्त भएर जुन् पुरुषले मान्दैन मेरो मत
त्यस्लाई तिमी पट्टमूर्ख र स्वयम् त्यो नष्ट हो यो बुझ।।१७।।
सदृशं चेष्टते स्वस्याः प्रकृतेर्ज्ञानवानपि।
प्रकृतिं यान्ति भूतानि निग्रहः किं करिष्यति।।३३।।
इन्द्रियस्येन्द्रियस्यार्थे रागद्वेषौ व्यवस्थितौ।
तयोर्न वशमागच्छेत्तौ ह्यस्य परिपन्थिनौ।।३४।।
जस्तो हुन्छ निजस्वभाव त्यसमै ज्ञानी पनि चल्दछ
सारा जीव निजस्वभाववश छन्, यो रोक्न को सक्छ र ?
हाम्रा इन्द्रियसाथमा विषयको सम्पर्कका धर्म हुन्
रागद्वेष, तसर्थ हुन्न यिनको वश् बन्न यी शत्रु हुन्।।१८।।
श्रेयान् स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात्।
स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः।।३५।।
आफ्नो धर्म निकृष्ट नै किन नहोस् उत्तम् त्यही बन्दछ
पाउन्नौ परधर्मबाट तिमीले कल्याणकारी फल।
मर्नु श्रेय स्वधर्ममा छ, त्यसले पालन् उसैको गर
डर्लाग्दो परधर्म हुन्छ त्यसले उस्बाट बच्ने गर।।१९।।
अर्जुन उवाच
अथ केन प्रयुक्तोऽयं पापं चरति पुरुषः
अनिच्छन्नपि वाष्णेर्य बलादिव नियोजितः।।३६।।
भन्छन् अर्जुन पापले नरकमा लैजान्छ लोक् जान्दछ
यो जानेर पनि अजानसरि भै त्यै पाप ऊ गर्दछ।
केले अच्युत पाप गर्न कति नै मन्ले नचाहे पनि
गर्छन् मानिस पापकर्म करले लाएसरीका बनी।।२०।।
(क्रमशः)