देउवालाई युवा नेताको चेतावनी:- दम भए अब विशेष महाधिवेशन फेस गर्न आउनुहोस् - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

देउवालाई युवा नेताको चेतावनी:- दम भए अब विशेष महाधिवेशन फेस गर्न आउनुहोस्



काङ्ग्रेस युवा नेता शंकर तिवारीले पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो कार्यकाल लम्ब्याउने इच्छा भएको भए विशेष महाधिवेशनबाट पुनः सभापतिमा प्रतिस्पर्धा गर्न सक्ने चुनौति दिएका छन्।

सभापति शेरबहादुर देउवाले असोज २८ गते स्वास्थ्य उपचार गर्न जाने क्रममा पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएको भएतापनि निर्वाचन आयोगमा दलदर्ता गर्दा आफ्नै हस्ताक्षर प्रयोग गरेकाले कांग्रेस पार्टीभित्र फेरि एकपटक आन्तरिक द्वन्द बढेर गएको छ।

पार्टी विधानले विशेष अधिवेशनलाई महाधिवेशनमा गणना नगरेकाले छोटो अवधिका लागि सत्ता लम्बाउन खोजेको भए शेरबहादुर देउवाले त्यसबाट नयाँ वैधता प्राप्त गर्ने तिवारीको भनाइ थियो।

शेरबहादुर देउवा र उनी पछिको पिँढीलाई आफू जस्तो युवाले लोकतन्त्रको पाठ पढाउनु पर्ने समय आएकोमा लज्जाबोध भएको बताउँदै उनले पार्टीको ५४ प्रतिशत हस्ताक्षरलाई खेलाचीको रुपमा नलिन सुझाव दिए।

नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक विशेष अधिवेशनका लागि ५५ प्रतिशत हस्ताक्षर बुझाएको डेढ महिना बितिसकेको स्मरण गराउँदै नेता तिवारीले पार्टी विधान अनुसार हस्ताक्षर दर्ता भएका मितिले ३ महिनाभित्र विशेष अधिवेशन बोलाउनु पर्ने रहेको बताए।

विशेष अधिवेशन गर्ने कि नियमित अधिवेशन गर्ने, पुरानै नेतृत्वमा आम निर्वाचनमा जाने कि नयाँ नेतृत्व चयन गर्ने भन्ने बारेमा निर्णय गर्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ।