आत्मदाह गर्नुअघि प्रेमप्रसादले रवीन्द्र मिश्रसँग गरेका थिए यस्तो छलफल - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

आत्मदाह गर्नुअघि प्रेमप्रसादले रवीन्द्र मिश्रसँग गरेका थिए यस्तो छलफल



आत्मदाह गर्नुभन्दा केही घण्टाअघि प्रेमप्रसाद आचार्यले आफूलाई आमरण अनशन बस्ने योजनामा रहेको सन्देश पठाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बताएका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि मंगलबार दिउँसो पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका आचार्यलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याइए पनि बचाउन सकिएन। त्यसअघि फेसबुकमा लामो स्टाटस लेखेका आचार्यले आफूलाई पनि सन्देश पठाएको जानकारी राप्रपा उपाध्यक्ष मिश्रले बिहीबार दिएका हुन्।

‘म आमरण अनशन बस्ने योजनामा छु’– प्रेमजी, तपाईंले अस्ति बिहान मलाई पठाएको सन्देश हो यो’, उपाध्यक्ष मिश्रले बिहीबार फेसबुकमा लेखेका छन्, ‘तर त्यसको केही घण्टाभित्रै दिउँसोसम्ममा तपाईंले आत्मदाह रोज्नुभएछ।’ उनले अगाडि भनेका छन्, ‘तपाईंले आत्मदाहपूर्वको पत्रमा उल्लेख गर्नुभएझैँ तपाईंको आत्मदाह देशको परिवर्तनका लागि प्रयास गरिरहेका हामी कैयौँ र दशकौँदेखि देशको नेतृत्वमा बसेकाहरूको विफलताको परिणाम हो।’

यस क्रममा उपाध्यक्ष मिश्रले नेपाली समाज इतिहासमै सबैभन्दा बढी ‘पतीत’ भएको दाबी पनि गरेका छन्।

‘विगतमा हाम्रो समाज अशिक्षा, रूढिवाद र गरिबीबाट ग्रस्त थियो तर यो तहको ‘पतीतता’ बाट ग्रस्त थिएन’, मिश्रले लेखेका छन्, ‘त्यस्तो ‘पतितता’ जहाँ समाज र देश परिवर्तन गर्न सक्ने शिक्षा, आधुनिकता र सम्पन्नता भएकाहरूमा, अपवादलाई छोडेर, नैतिकता र मानवता शून्य भएको छ।’

आचार्यले ऋण तिर्न श्रीमतिलाई सहयोग गरिदिन गरेको अपिलमा आफूले पनि ‘सानो सहयोग’ गर्ने निर्णय गरेको मिश्रले बताएका छन्। साथै उनले देशभित्र र बाहिर रहेका सबै मनकारी नेपालीहरूलाई सहयोगका लागि अनुरोध पनि गरेका छन्।