केपी ओलीको प्रस्तावमा नै पूर्वराष्ट्रपति भण्डारी एमालेको अध्यक्ष बन्ने दाबी - Himal Post Himal Post
  • ४ श्रावण २०८२, शनिबार
  •      Sat Jul 19 2025
Logo

केपी ओलीको प्रस्तावमा नै पूर्वराष्ट्रपति भण्डारी एमालेको अध्यक्ष बन्ने दाबी



नेकपा एमालेमा नेतृत्वको बहसले नयाँ बहस भैरहेको बेला एमालेकै एक नेताले केपी ओलीको प्रस्तावमा नै पूर्वराष्ट्रपति भण्डारी एमालेको अध्यक्ष हुने दाबी गरेका छन् । एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले यस्तो दाबी गरेका हुन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताए । कार्यक्रममा थापाले पार्टीको विधानबाट दुई कार्यकाल र ७० वर्षे उमेरहद नहटेको समेत दाबी गरेका छन् । विधान महाधिवेशनले पास गरेको कुरामा राष्ट्रिय महाधिवेशनपछि जालझेल गरेर विधान छापिएको दाबी गरेका हुन् । उनले अहिले एमालेमा दुईवटा विधान देखाएर आफू अनुकूल चर्चा गर्ने काम भइरहेको बताए ।

थापाले जसले जे–जे प्रचार गरे पनि एमालेको विधानबाट दुई कार्यकाल र ७० वर्षे उमेरहद नहटेको बताए । ‘केही–केही हाम्रा नेताहरुले सामाजिक सञ्जालमा, आफ्नो पद जहाँ छ, त्यसको दुरुपयोग गरेर पार्टी पंक्तिमा हामीले राष्ट्रिय महाधिवेशनबाट पारित गरेका थियौँ भन्नुहुन्छ कहिले । कसैले विधान महाधिवेशनमै परिवर्तन भएको भन्नुभएको छ । त्यो कहीँ पनि छलफल, बहस भएको छैन । प्रथम विधान महाधिवेशनले जे फैसला गर्यो । ७० वर्षे उमेरहदवाला पनि विधान परिवर्तन भएको छैन,’उनले भने ।

२०७९ असोजमा महाधिवेशन भएको र ५ कात्तिकमा छापिएको विधान नै आधिकारिक रहेको उनले बताए । ‘त्यो विधान जे छापियो, त्यो सक्कली विधान छापियो । जे पारित भयो त्यही छापिएको छ । त्यसपछि ५ पुसमा दुईवटा विधान छापिएका छन् । बाहिरको बोक्रोचाहिँ विधान महाधिवेशनबाट पारित गरिएको भन्ने नै छ,’ उनले भने, ‘अर्को विधान के छापियो भन्दा विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनबाट पारित भनेर छापिएको छ । विधान महाधिवेशनबाट पारित भएको दुई कार्यकाल र ७० वर्षे उमेरहदवाला जस्ताको तस्तै छापिएको विधान पनि हामीसँग छ । त्यसमा छलफल केही पनि नगरी छाप्ने बेलामा अर्कै छापिएको विधान पनि छ हामीसँग । यस प्रकारको जालझेलपूर्ण कामचाहिँ जसले गर्नुभयो, त्यो नगर्दिए हुन्थ्यो ।’

स्थायी कमिटी सदस्य थापाले एमालेको सक्रिय राजनीतिमा विद्या भण्डारी फर्किनुमा प्रश्न उठाउनुपर्ने कुनै कारण नरहेको बताए । भण्डारीले राष्ट्रपतिका रूपमा आफ्नो अभिभारा सफलतापूर्वक पूरा गरेको, अझै देश र जनताका लागि केही गर्न बाँकी छ भनेर राजनीतिमा फर्किएको उनले बताए । ‘राष्ट्रपति भएको बेलामा उहाँ पार्टीको राजनीतिमा आउँछु भनेको भए प्रश्न उठ्नु स्वाभाविक थियो । अब पदीय दायित्व पूरा गर्नुपर्ने बेलामा गर्नुभयो । त्यसपछि पनि यो देशका लागि मैले केही गर्न बाँकी छ, म गर्न सक्छु भनेर उहाँ राजनीतिमा आउनु भयो,’ उनले भने ।

उनले भण्डारीले जनताप्रतिको दायित्व अनुभूति गरेर नै राजनीतिमा फर्किएको बताए । नेपाली कम्युनिस्ट आन्दोलन र राष्ट्रिय, अन्तरराष्ट्रिय क्षेत्रले पनि निष्कलंक मान्छेको अपेक्षा गरिराखेको बेलामा भण्डारीले पुनः राजनीतिमा इन्ट्री गरेको उनले बताए । एमालेभित्र भण्डारीले भन्दा त्याग र योगदान गरेको अरु थुप्रै नेताहरू भए पनि अहिलेको परिस्थितिमा सबैभन्दा बढी स्वीकार्य भने भण्डारी नै रहेको उनको भनाइ छ । भण्डारी एमालेको राजनीतिमा फर्किएपछि पार्टीभित्र उत्साह र जाँगरको स्थिति पैदा भएको पनि उनले बताए ।

थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीभन्दा बढी सबैले मान्ने साझा व्यक्तित्व विद्यादेवी भण्डारी रहेको दाबी गरे । ‘अबको नेतृत्वका लागि भण्डारीको सम्भावना प्रवल छ । कतिपय सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीभन्दा पनि साझा व्यक्तित्व विद्या भण्डारी हुनुभएको छ । उहाँ नेतृत्व गर्ने ठाउँमा पुग्नुभयो भने एमाले अझ सशक्त र एकतावद्ध हुन्छ,’ उनले भने ।

आगामी महाधिवेशनमा भण्डारी अध्यक्ष पदको सम्भावित उम्मेदवार रहेको उनको भनाइ छ । उनले ओलीको प्रस्तावमा नै भण्डारी एमालेको अध्यक्ष निर्वाचित हुने दाबी गरे । ‘केपी शर्मा ओलीको प्रस्तावमा नै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको अध्यक्ष हुने प्रवल सम्भावना छ,’ उनले भने ।