घोडाघोडी नगरपालिकामा पाँचौ नगरसभा सम्पन्न ,साढे ४५ करोडको बजेट प्रस्तुत - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

घोडाघोडी नगरपालिकामा पाँचौ नगरसभा सम्पन्न ,साढे ४५ करोडको बजेट प्रस्तुत



बिशाल पाण्डेय / सुखड ,कैलाली ।        
कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाले पाँचौ नगरसभा बैठक तथा आगामी आर्थिक बर्ष २०७५/ ७६ को नीति तथा कार्यक्रम सहितको कुल ४५ करोड  ५४ लाख ३७ हजार बराबरको बजेट आइतबार सार्वजनिक गरेको छ ।

नगरपालिकाको पाँचौ नगर सभामा नगर उप-प्रमुख प्रेम कुमारी थापाले निति तथा कार्यक्रम सहित ४५ करोड  ५४ लाख ३७ हजारको बजेट बिबरण प्रस्तुत गरेकी थिइन ।

घोडाघोडी नगरपालिकामा ५ वटा शिर्षकमा बजेट विवरण प्रस्तुत गरिएको छ जस अन्तरगत पुर्वधार बिकासमा सबै भन्दा बढी ३६.८१ प्रतिशत  बजेट विनियोजन गरिएको छ भने सबै भन्दा कम वन वातावरण तथा विपत व्यवस्थापन विकासमा २.८२२ प्रतिशत  बजेट विनियोजन गरिएको छ ।

आर्थिक बर्ष २०७५/०७६ को बार्षिक बजेट विवरण गर्दा आर्थिक विकासमा ३ करोड १४ लाख ८७ हजार(१२.६९%), सामाजिक विकासमा ५ करोड ८७ लाख(२३.६७%), पुर्वाधार विकासमा ९  करोड १३ लाख(३६.८१%), वन वातावरण तथा विपत व्यवस्थापन  विकासमा ७० लाख(२.८२२%) र  सुशासन तथा संस्थागत क्षमता विकासमा ५ करोड ९५ लाख ५० हजार (२४.०१%) बजेट सहितको नीति तथा कार्यक्रमका बारेमा थापाले जानकारी दिइन । त्यस्तै  समानिकरण  तर्फको कुल जम्मा बजेट २४ करोड ८० लाख ३७ हजार र शसत तर्फको कसल जम्मा  २० करोड  ७४ लाख  गरी  कुल ४५ करोड  ५४ लाख ३७ हजार रकम विनियोजन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी कैलाली क्षेत्र नं ३ का प्रदेश सासद अमर साउदले घोडाघोडी नगरपालिकामा प्रदेश सरकारले करिब ५ करोड ५ लाख बराबरको बजेट छुट्टाएको जानकारी दिदै नीति तथा कार्यक्रम मार्गनिर्देशन रहेकोे बताए उनले भने, ‘ यसले सम्पुर्ण कुरालाइ समेट्न नसक्ला, चुनाबका बेला जनताको बिचमा बोलेको कुरालाइ हामिले बिर्सनु हुँदैन ।’ साथै सासद साउदले सबैमिली समृद्ध र सुखी नगरपालिका बनाउ आग्रह गर्दै जनतालाइ दिएको आस्वासनलाइ नीति निर्माण गर्दा सम्झनुपर्ने सुझाव दिए ।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको  कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य मालती सार्की , संघीय समाजबादी फोरमका नेता भरत चौधरी, नेकपाका  नेता नैन सिंह चौधरी , नेपाली काङ्ग्रेसका नेता बम बहादुर सिंह र नेकपाका नेता खडक रावतले नगरसभामा स्पष्ट नीति ल्याउन नसकेको बताए ।

घोडाघोडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष मनराज शाहिको शुभकामना मन्तव्य सङै सुरु भएको कार्यक्रमको संचालन घोडाघोडी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत उमेश राज रेग्मीले
संचालन गरेका थिए ।