बुटवलको मेलामा भिडभाड बढ्दै - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

बुटवलको मेलामा भिडभाड बढ्दै



अाचार्य प्रदिप
बुटवल। रुपन्देही उद्योग संघको आयोजनामा बिहीवारबाट ‘समृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ बुटवलमा सुरु भएको १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४ को दोस्रो दिन १० हजार दर्शकले अवलोकन गरेको प्रदर्शनी आयोजक सचिवालयले जनाएको छ ।

प्रदर्शनीको दोस्रो दिनबाट सांस्कृतिक कार्यक्रम अन्तर्गत प्रतियोगिताहरुको सुरुवात हुनुकासाथै राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुति पनि सुरु भएको छ । सांस्कृतिक उपसमितिका राजेन्द्र कार्कीका अनुसार सांस्कृतिक कार्यक्रम अन्तर्गत शुक्रबार प्रदर्शनी आइडल २०७४ को टप १२ को प्रस्तुति भएको र शनिबार दुई जना प्रतियोगि बाहिरिने बताए । आइडलको जजमा संगीतकार तथा गायकहरु नारायण थापा, वसन्त श्रेष्ठ र विरेन्द्र अग्रहरी रहेका छन् ।

यसैगरी आरसिआई ट्यालेण्ट हन्टका टप २० प्रतियोगिको पनि छनौट भएको संयोजक कार्कीले जानकारी दिए । सांस्कृतिक कार्यक्रम अन्तर्गत शनिबार राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहने जनाइएको छ । जस अन्तर्गत चर्चित लोकदोहोरी गायक बद्री पंगेनी, सम्झना लामिछाने, अर्जुन कौशलको तथा स्थानीय कलाकार सीता राना र वसन्त लम्सालको प्रस्तुति रहने छ ।

शनिबार नै गिनिज बुकमा नाम लेखाउन सफल जादुगर बलराम सरकारले आफ्नो प्रस्तुति राख्ने जनाइएको छ । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हाँस्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल र आरसिआइ ट्यालेन्ट हन्टलगायतका प्रतियोगिताहरु रहने छन् ।

प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तक्र्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदान–प्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तत्र्रिmया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिने जनाइएको छ । यस पटकको प्रदर्शनीमा ६ लाख दर्शकले अवलोकलन गर्ने र २० करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ ।

प्रदर्शनीमा औद्योगिक प्रविधि, सूचना प्रविधि, रेष्टुरेन्ट, अटो, कृषि, हस्तकला, फलोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न र आइटीलगायतका गरी ५ सय स्टल रहेका छन् ।