सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-२२)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
श्री भगवानुवाच
काम एष क्रोध एष रजोगुणसमुद्भवः।
महाशनो महापाप्मा विद्ध्येनमिह वैरिणम्।।३७।।
यस्ता अर्जुनका कुरा सुनी त्यहीँ श्रीकृष्णले भन्नुभो
हे अर्जुन् ! सुन धैर्यसाथ सजिलो उत्तर् छ यस् प्रश्नको।
काम, क्रोध दुवै रजोगुण भई जन्मे महादुष्ट छन्
केहीले नअघाउने अति ठूला दुर्दान्त वैरी ती हुन्।।२१।।
धुमेनाव्रियते वह्निर्थादर्शो मलेन च।
यथोल्बेनावृतो गर्भस्तथा तेनेदमावृतम्।।३८।।
आवृतं ज्ञानमेतेन ज्ञानिनो नित्यवैरिणा।
कामरूपेण कौन्तेय दुष्पूरेणानलेन च।।३९।।
धूवाँ ढाक्तछ अग्निलाई जसरी मल् बस्छ ऐनाभरी
साल्ले जे गरि गर्भ ढाक्छ, यसले ज्ञान् ढाक्छ त्यस्तै गरी।
आयोतुल्य घिचास दुष्ट छ बुझ्यौ यो कामरूपी अरि
छोपी राख्तछ ज्ञान ज्ञानी जनको हत्पत् नखुल्ने गरी।।२२।।
इन्द्रियाणि मनो बुद्धिरस्याधिष्ठानमुच्यते।
एतैर्विमोहयत्येष ज्ञानमावृत्य देहिनम्।।४०।।
तस्मात्त्वमिन्द्रियाण्यादौ नियम्य भरतर्षभ।
पाप्मानं प्रजहि ह्येनं ज्ञानविज्ञाननाशनम्।।४१।।
मन्, बुद्धि अनि इन्द्रियै पनि सबै यस् शत्रुका हुन् घर
यिन्मा नै बसी ज्ञान ढाकी सबमा सम्मोह फैलाउँछ।
त्यस्ले अर्जुन रोक्नु इन्द्रियहरू पैले र त्यस्का पछि
पापी ज्ञान विनाशी काम रिपुको उच्छेद गर्नु पछि।।२३।।
इन्द्रियाणि पराण्याहुरिन्द्रियेभ्यः परं मनः।
मनसस्तु परा बुद्धिर्यो बुद्धेः परतस्तु सः।।४२।।
एवं बुद्धेः परं बुद्ध्वा संस्तभ्यात्मानमात्मना।
जहि शत्रुं महाबाहो कामरूपं दुरासदम्।।४३।।
भन्छन् इन्द्रियवर्ग दूर छ भनी मन् झन् अझै दूर छ
मन्देखि पर बुद्धि, त्यस् पनि परै हे पार्थ ! त्यो ब्रह्म छ।
जानी ब्रह्म छ बुद्धि पर्तिर भनी रोकेर आफ्नू मन
मारे दुर्जय कामरूप बलियो वैरी तिमी अर्जुन ! ।।२४।।
ॐ तत्सदिति श्रीमद्भागवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे कर्मयोगो नाम तृतीयोऽध्यायः ।।३।।
(क्रमशः)