सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-२०) - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-२०)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

उत्सीदेयुरिमे लोका न कुर्यां कर्म चेदहम्।
संकरस्य त कर्ता स्यामुपहन्यामिमाः प्रजाः।।२४।।
सक्ताः कर्मण्यविद्वांसो यथा कुर्वन्ति भारत।
कुर्याद्विद्वांस्तथासक्तश्चिकीर्षुर्लोकसङ्ग्रहम्।।२५।।

मासिन्छन् सब लोक कर्म नगरी मैले बसे निष्क्रिय
सङ्कर्‌को पनि सृष्टि हुन्छ, बिथिति बढ्नेछ चारैतिर।
कार्यासक्त भएर मूढ जनता जस्तो गरी चल्दछ
लोक्‌का निम्ति तटस्थ भै त्यसरी नै सर्वज्ञले चल्नु छ।।१३।।

न बुद्धिभेदं जनयेदज्ञानां कर्मसङ्गिनाम्।
जोषयेत्सर्वकर्माणि विद्वान्युक्तः समाचरन्।।२६।।
प्रकृते क्रियमाणानि गुणैः कर्माणि सर्वशः
अंहकारविमूढात्मा कर्ताहमिति मन्यते।।२७।।

सोझा, कर्मठ, मूर्खलाई अझ झन् भ्रम्‌मा नपारी दिनु
योगी भै सब काम गर्नु र अरूलाई पनि लाउनु।
बन्छन् कार्य सबै त्यसै प्रकृतिका गुण्‌ले गरी, मूर्ख त
मैले नै सब यो गरेँ यी सबको कर्ता म हूँ भन्दछ।।१४।।

तत्त्ववित्तु महाबाहो गुणकर्मविभागयोः।
गुणा गुणेषु वर्तन्त इति मत्वा न सञ्जते।।२८।।
प्रकृतेर्गुणसंमूढाः सज्जन्ते गुणकर्मसु।
तानकृत्स्‍नविदो मन्दान्कृत्स्‍नविन्न विचालयेत्।।२९।।
मयि सर्वाणि कर्माणि संन्यस्याध्यात्मचेतसा।
निराशईर्निर्ममो भूत्वा युध्यस्व विगतज्वरः।।३०।।

आत्मा औ गुण कर्म भेद जसले राम्रो गरी जान्दछ
गुण्‌का साथै गुणै रहन्छ, यी कुरा जानेर ऊ ढुक्क छ।
जस्‌को बुद्धि छ पार्थ यी प्रकृतिका गुण्‌ले गरी मोहित
त्यो अल्पज्ञ भुलिन्छ कर्मगुणमा आसक्त भै निश्चय।।१५।।

विद्वान्‌ले उसलाई छाडिदिनु ऊ कर्मै गरोस् कर्मठ
उस्‌ले लिन्छ कुमार्ग, कर्म, किनकि बेकार हुन् यो बुझ।
सारा कर्म मलाई अर्पण गरी, औ तत्त्वद्रष्टा भई
फल्‌को चाह नली, नराखी ममता हौ पार्थ युद्धोन्मुखी।।१६।।


 (क्रमशः)