नियात्रा : वेदिडतिर मुटुको चालमा
–युवराज नयाँघरे
राति घसेको तेलले काम गरेछ !
जाडो, थकाइ, न्यानो लुगा र तेल घसाइले निन्द्रा परेछ मज्जैले। फेरि मोजासम्म नखोली सुतेथेँ। अझ अर्को कुरा लुइटेल र कार्कीका माझमा घुस्रेको थिएँ म। खुब तातोमा परेछु। छेउसम्मै परेनछ लेकाली ठिही।
बिहानको पाँचै बजे आँखा खुले।
आज चैतको अन्तिम दिन।
३१ गते। त्यति मात्र होइन २०६९ सालकै अन्तिम दिन। सिङ्गो वर्षको पुछारमा हिमाली थुम्कामा छु म। बितेको एउटा पूरा वर्षको बिसौनीमा चुचुराको थाप्लामा छु म। मेरा शरीरबाट थुत्तिएर गएको एउटा सालको समाप्तिको अन्तिम बिन्दुमा छु म।
मैले कटेरोबाट बाहिर हेरेँ। हिजो त राति आइपुगेथ्यौँ। घनघोर जङ्गलको माझमा टक्रक दुइटा झुप्रा। उत्तरतिर काला पहाडको ताँती। लस्कर मास्तिर चम्चमाइरहेका सेता हिमाल। पूर्व–उत्तरतिर सुनले पुछिएका अनेक हिउँचुली देखिन्थे चमचम।
अगेनाको डिलमा बसेर तातो पानी र चिया सुर्काइयो। उज्यालो थियो दिन। अकासमा बादल थुप्रेको छैन रत्तिभर नि। दाँत सिरिङ्ग्याउने चिसो चैँ छ।
मैले ढाडमा झोला कसेँ। त्यतिन्जेलमा उद्धव र कमल पनि बाटो लाग्न झटपट गर्दैछन्।
‘सिङ्गो दिन हिँड्नै छ !’
मैले मनमनै भनेँ।
एक छिनको अल्याङतल्याङपछि हामी तीन भाइ बिहानको छ नबज्दै बाटोमा पाइला घिसार्न थाल्यौँ। खोल्सो तरेपछि कार्कीले लट्ठी काटे। सानो खुकुरी रहेछ उनको झोलामा। जे होस्, त्यसले काम पाएको ठानेँ मैले।
‘अब पुरापुर तीन घन्टा लस्केपछि बल्ल भात खान पाइन्छ !’
लुइटेलको बोलीले आडभरोसा दियो।
तेर्छो बाटोमा थियौँ हामी।
पात खसेर छपक्कै छोपिएको बाटो। रातिको शीत खसाइले पुछिएका छन् पहेँला र फुस्रा पातहरू। चकमन्नलाई चराको चिर्बिरले भरङ्ङ पार्छ छिनछिनमा।
खुट्टा चिप्लिन्छन् घरीघरी।
तर्पाया–तर्पाया उकाली भेटियो। झ्याम्म–झ्याम्म रुखले बाटोलाई सिँगारेको लाग्छ। शीतलु बाटोमा तागत पाउँदैछन् हाम्रा शरीरले।
बिहानैको वन।
‘उठिसकेका छैनन् कि क्या हो !’
पोथ्रा छुँदै मैले भनेँ।
‘अबेरसम्म गथासो पोख्दै रात कटाए कि ?’
लुइटेलले तिखो स्वरमा भने।
‘बूढेसकालमा निन्द्रा कम पर्छ नि त !’
कार्कीले अग्ला र पाका रुखतिर हेर्दै बोले।
बाक्लो जङ्गल नाघिरहँदा कुरा पनि रुखपातसँग जोडेर गरिरहेका छौँ हामी। तर ती हाम्रा निकट छन्। ती हाम्रा वरपर छन्। ती हाम्रा छेउकुनामा छन्।
झ्याउका विशाल घेराबन्दीमा परेका रुख देखिए। भुइँदेखि अग्ला–अग्ला रुखसम्म झ्याउका साम्राज्यले निलिसकेका थिए। जमीन समेत हरिया र फुस्रा झ्याउका लहराले बेरबार भएका थिए।
ठाउँठाउँमा भेटिन्थे गहिरा, कालाम्मे ओडार।
ओडारका चेपमा मान्छेले अगेनो बनाएको, चम्कामा आगो बालेको र रात बिताएको मज्जैले देख्न सकिन्थ्यो। यसो कोल्टामा देखिने रुखको छाया पनि ओडारझैँ लाग्थ्यो मलाई। घरी अघि घरी पछि भइरहेँ म। लुइटेल र कार्कीका पाइला मेरै वरपर हुन्थे। हिजोभन्दा थोरै उकाली र तेर्पे लाग्दैछ आज बाटो।
आज मेरो पेटमा गड्याङगुडुङ मच्चिएको छ रातिदेखि नै। पानी कम खाएको छु। लेकाली आलु र साग खान थालेको निकै छाक भइसक्यो। एकोहोरो उकालीको कारणले पनि भुँडीमा बिसन्चो थुप्रिएको होला।
पटक–पटक जङ्गल पसिरहेको छु। खाने पानी बोकेको प्लास्टिकको बोतल छ। त्यागतीर्थदेखि तिर्खा मेट्नसम्म त्यै बोतल जिन्दावाद !
मैले पातको प्रयोग पनि खुबै गरेँ। देश गुनाको भेष त गर्नै पऱ्यो। अहिले जेसुकैमा पानी खर्च गरे—भरे खानै नपाइएला एक थोपो पनि ! अनि त…….?
सुरुर्र गएको बाटो ढुङ्गाको अरनखटनमा छ। परीपरीका ढुङ्गाले गर्दा बाटो छ ज्यादै उबडखाबड। पारिपट्टि अजङ्ग–अजङ्गका काला पहाड भेटिने र हराउने गर्छन्।
गड्याङगुडुङ कराइरहेकै छ रोल्वालिङ खोलो। उसका सेता फिँजमा घरी हामी नजिकिन्छौँ, घरी टाढिन्छ खोलो। तर घना जङ्गल माझबाट बगेको खोलाको ध्वनि ठोक्किइरहन्छ हाम्रा कानमा एकनासले।
एक घन्टाभन्दा बढी नै लुइँलुइँ लर्किएपछि भेटियो ठूलो झर्ना। सारा वनै थर्काएर आवाजमय थियो—झर्ना। ठूलै ठाउँ ढाकेर बगेको थियो। भीरबाट हाम्फाल्दा पनि फराकै ठाउँ रोजेको झर्नाले—तल बग्दा पनि निकै ठाउँ ओगटेको थियो। बडा घरको बडै चाला !
‘यो केताङ खोलो हुनु पर्छ !’
लुइटेलले अड्कल काटे।
मैले हातमुख धोएँ। कञ्चन पानी चिसो र मिठो थियो उत्तिकै।
काठेपुलभन्दा तल बगरबाटै तर्दा छिटो हुने देखियो। मैले बगरमा कुलकुलाएको चिसो पानीमा आफ्नो अनुहार हेरेँ। सेतै फुलेका दारीजुँगाले जोगी झैँ देखिन लागेको थिएँ म।
‘साधु झैँ भइसकेछु है म !’
फतफत मेरो।
‘होइन, घरबार त्यागेर ज्ञानको खोजीमा हिँडेको वैरागी पो होला त !’
उद्धव उर्लिए।
‘मैले त सन्तको रूप देखेँ !’
कमल उकालीमा उभिएर बोले।
हामी हाँस्यौँ। मैले यतिन्जेलमा चिसो पानीले मुख र दारी पखालिसकेको थिएँ। पन्जा लाएर लट्ठी टेकिरहेका कार्की र लुइटेल पनि पानी अचाउन थाले मुखमा।
लगातार हिँडाइको यो दोस्रो दिन।
शरीरमा उकालो र लेकको हावाले रजगज गरोस् भन्ने लागेको छ मलाई। त्यसैले नहतारिइकन पैताला सार्दै छौँ। हिजोभन्दा आज झन् बढी सतर्क हुनुपर्ने छ हामीले। मन, शरीर र गतिको तालमेल नमिलाए पुग्ने सपना अधुरै हुने डर मभित्र बेस्सरी बढेको छ। साथीहरूलाई नभने पनि लेक लाग्ला कि, रित्तै फर्किनुपर्ने पो हो कि, च्छोरोल्पा नटेकी अपुरै फिर्नुपर्ने पो हो कि भन्ने डरका जलजलाउँदा फोका मनमा फुट्थे घरीघरी।
‘बिस्तारै है, बिस्तारै !’
बिसाउँदै हिँड्दा भनिरहन्थेँ म।
जतिसुकै गरे पनि कार्की चैँ एकदुई थुम्का नाघिसकेका हुन्थे। मेरा कुरा तिनका छेउसम्म पनि पुगेको लाग्दैन्थ्यो मलाई।
गौरीशङ्करका थुम्कामा बादल आउने र छेल्ने क्रममा कमी भएन। पातलो बादलले आफनो शक्तिले भ्याएसम्म छेकिरहेथ्यो हिमाल। हिजो देखिएको यो चुली बिहान बेग्लै खालको थियो। अब त झन् अर्कै र भिन्नै खालको देखिँदै थियो। सुनको जलपले धोइएको। एकदमै झलझली र पहेँलपुर।
काला पहाड, हरिया थुम्का र सेता हिमालको अग्लिने र पुड्किने क्रम भइरह्यो। हामी यी तीनै परिवेशमा अँगालिएर पाइला घिसारिरहेका थियौँ….घिसारिरहेका थियौँ….।
बादल देखेपछि मनमा अनेक कुरा खेल्थे। बादलका मुखमा आएपछि साथीहरूबाट अनेक सुन्नुपर्ला भनेर आकाशतिरै कम हेर्थें म।
चिप्ला ढुङ्गाका खातैखात पारेर राखिएको यसो कुइनेटाबाट पूर्वउत्तर हेर्दा बेग्लै खालको चाँदी झैँ सुकिलो हिमाल खित्काएको देखियो। चुली खित्काउँदा बादलको मुस्लो ह्वारह्वारी छरियो चारैतिर।
‘यसले पानी पो पार्छ कि ?’
मैले भय पोखेँ।
‘होइन, त्यो गौरीशङ्करले सास फेरेको !’
लुइटेलले सजिलै भने।
उनको व्याख्याले मलाई साहस दियो।
निकै छिप्पिसक्यो बिहान। पर–पर घामको निफननाफनमा परेका पहाडमा ओर्लन्छ नौलो परिवेश। चिल्ला डाँडाहरू झन् अघाएका र बलिया देखिन्छन्। रोल्वालिङ उत्तर लमतन्न पसारिएको खरीखुन्नै कालाम्मे पहाड झन् हरिमुस्ले देखिन्छ, झन् अरिमट्ठे देखिन्छ र झन् जोधाहा देखिन्छ। तै हामी हिँड्ने डाँडा रुख, लहरा र पोथ्राले समृद्ध देखिन्छ।
दोहोरी सुनिरहेको छु चराहरूको।
‘भाइ, यिनले गफ गरेका कि गीत गाएका ?’
‘दुबै नहुन सक्छ। कतै झगडा पो हो कि ?’
मलाई अर्थ्याए लुइटेलले।
हामी जति हाँस्यौँ, त्यति नै पाइला सारिरहेका थियौँ।
उकालो निकै कटेपछि टिम्मुर चाटेर थकाइ माऱ्यौँ। सास फुलेजस्तो, कान गुम्म भएजस्तो र हिरिक–हिरिक होलाजस्तो भएपछि टिम्मुर चाटेथ्यौँ हामीले।
पानी घुट्क्याएर दम फुलेको छातीलाई आराम दिएँ मैले।
केही अघिदेखि गुराँस फुलेको देखिरहेको थिएँ। गाढा राता थिए ती। यहाँनिर त सेता गुराँस। चिमाल भनिदो रैछ तिनलाई। एउटा सिङ्गो पहाडलाई पस्दै–निस्कँदै र फेरोबाट हराउँदै–देखिँदै गइरहेका छौ हामी।
मदानीको फेरमा घुमिरहेको लाग्दैछ।
केही अघि पसेको खोँचबाट फुत्त आइपुग्छौँ फेरि। अनि फेरि सुस्तरी घना वन हुँदै आपट्टे जङ्गलभित्र छिर्छौँ हामी। लुकामारी हुन्छ गज्जबको।
अकास हेर्दा टेकेको भुइँ हल्लिएको लाग्छ। लामबगर, चरीकोट र जिरीतिरबाट भेला भएको छ–छ सेतो बादल। हामी लम्किरहँदा फेरि सेता बादलको रङ फेरिएर कालै बन्छ। मनभरि भयका कऱ्याङकुरुङ उड्छन् भुरुर्र।
गीत गाउने चरी छ फुत्रुक्कफुत्रुक्क। बाटोको ढुङ्गामा पाइला राख्दा चरोले ऊर्जा थपेको लाग्छ मलाई। घाम तल–तल सर्दैछ पहाडका पैतालातिर।
जामुने मान्द्रोको घारी नै घारी देखा पर्छ। हामी सुस्ताउँछौँ केही बेर।
‘शहरको आँखा नपरेर नि दाइ !’
म टक्क अडिएर घारी हेर्न थालेँ।
‘परेको भए यो घारी उहिल्यै लाछलुछ भइसक्थ्यो !’
लुइटेल बोले।
‘यसका पात, जरा, फल क्यै बाँकी रहन्नथे !’
कार्की पनि चम्किए।
निकै लस्किएपछि चौर भेटिए। फाँटिला चौरमा बस्तुभाउ नभए पनि गोबरका गुइँठा थिए जहाँसुकै। कतै सुकेका, कतै आला। जे होस्, गतिविधि थियो एकदमै भर्खर–भर्खरको।
‘मान्छे नभए पनि मान्छेले पालेका चारखुट्टे चैँ रै’ छन् !’
मैले गुइँठालाई लात्तीले हान्दै भनेँ।
‘यता त चौरी छाडिदिने हो। चर्दैचर्दै महिनौँपछि माथि घरमा पुग्छन्। त्यतिन्जेलमा त हिउँ पर्न थालिसक्छ पो त।’
‘बस्तुले नै बास र गाँस मिलाएर जीवन चलाएका हुन्छन्।’
कार्की र लुइटेल पालैपालो बोल्छन्।
हरिया पाटन आइरहे घरीघरी।
यसो कुइनेटाबाट गौरीशङ्करका चुचुरामा चाँदी पोतेजस्तो, सुनले धोएजस्तो र सिँदुरे रङले पुछेजस्तो परीपरीका रूप घरीघरी ठोकिन्छन् आँखामा। एउटै चुली पनि अनेक आकार र पारामा आँखासोझी देखापर्छ।
कोल्टिएको बाटो एकोहोरो अगाडि छ लमकलमक। उकालीले तेर्पेमा गएर सास फेर्छ। हामी पनि बिसाउँछौँ ज्यान। म त थचक्कै बस्छु।
ढुङ्गेनी उबडखाबडको उकालीमा फ्रान्सेली केटो र चिनियाँ केटीको जोडी भेटियो। उनीहरू च्छोरोल्पाबाट हिजो हिँडेका रहेछन्।
छोटो कुराकानी भो।
‘खाने ?’
मैले खल्तीबाट एक फाँको मकै तिनका सामु तेर्साएँ।
‘धन्यवाद ! भर्खरै पाउरोटी खाएर यता लागेका हामी।’
चारपटक च्छोरोल्पा आएको तन्नेरी फ्रान्सेलीले भन्यो।
अनि हामी लाग्यौँ तेर्पैतेर्पे। बौलाहा खोलाको काठे फलेक तरेर पारि पुगेपछि छोयो घामको तातोले। तर नि नाक कान भने चिसै हुन्थे–जुनै बेला।
गौरीशङ्करमा पोखिएको पहेँलो घामले तिर्मिराए आँखा। जिउमा घामको लेपनले निकै सन्चो पाऱ्यो। यै घामको सिरक ओढेर र यै घामको सिरानी ओछ्याएर सुतुँ–सुतुँ भयो मलाई। हो, कति मीठो घाम !
केल्जे पुग्दा बिहानको नौ बजेछ।
पाखा र चौरमा जम्माजम्मी एउटा घर। बास, गाँस, कपास दिने यै घर। याङ्जी शेर्पाको टहरामा छ सबैथोक। धुँवा पुतपुताइरहेको झ्याल छ। तीँबाट एउटी स्याउगालेले चिहाई झुलुक्क।
‘अब राति बाहेक बाटोमा क्यै खान पाइन्न। यीँ खाएर उकालो लाग्नु पर्छ।’
उद्धवले पारि हेर्दै भने।
मान्नै पऱ्यो नि हामीले। उनी परे जानकार। जेजे बराजु–सोहीसोही नाति। कार्की र मैले टाउको हल्लायौँ।
हिजो साग र आलु पाकेथ्यो। आज पाकेछ आलु र साग। त्यसकै झोलमा एक थाल लुँड्याइयो। टिम्मुर र सिलामको छोप बोकेकै थियौँ हामीले।
‘झोला हलुक्याउँन !’
लुइटेल यसै भन्थे।
अनि अचार, खाजा र अरू अनेक सामलतुमल झिकेर खुवाउँदै हिँड्थे। याँ पनि तिख्खर स्वादको छोपसँग थाल रित्याइयो। बाटादेखि मकै र भटमास फँक्याइएकोले भोक थिएन उत्तिको। तैपनि ‘भातप्रेमी गोर्खाली’लाई भातैको पिरलो जतिखेरै !
यीँनिर भेट भो—बोलेन्द्रसँग। अनुहार, बोलीचाली र व्यवहार सबै शेर्पै भइसकेका उनी थर मात्र आचार्य ब्राह्मण थिए। वेदिङको गुम्बामा पढाउन बसेका उनकी पत्नीले पकाएका भातभान्सा अघिल्लै दिन हामीले खाएथ्यौँ—सुरमुचेमा।
विदा हुने बेलामा उनले भने—‘अब झन् उकालो छ। मुटुको चालमा खुट्टाको चाल मिलाउनु होला। लेक लाग्ने डर अब बढी हुन्छ। जति सक्दो बिस्तारै जानु होला। क्यै न क्यै खाइरहनु होला।’
उनले गुरुमन्त्र दिएझैँ लाग्यो मलाई।
घाम राप्पिएर उज्यालिएको दिन। भुँडी पनि भरियो। थकाइ पनि मेटियो। अनि हामी एक घन्टाको लऱ्याङतऱ्याङपछि बाटो लाग्यौँ। रोल्वालिङ खोलाले गर्जन छोडेन। उसको कल्याङमल्याङ र हुँकार उर्लिरह्यो झन्झन्।
अल्छी हुन–हुन खोजेका पैतालालाई साथी बनाएर बाटो लाग्यौँ। पुग्न धेरै बाँकी थियो। काँ हो काँ………….पर।
गुराँस झन् बाक्ला भेटिए।
राता, निख्खर राता र फुस्रा। किसिमकिसिमका गुराँस टिप्न हात गइरहन्थे। भीर र खोँचमा गुराँसका पोथ्राले मनलाई तुलबुल–तुलबुल पारिरहन्थे। गढतीरको गर्मी र हावाले हाम्रा गाला मुसार्न छोडेनन्।
एकलास छ धुमधामको।
मान्छेहरू कोही छैनन्। मानिसका सबै काम, कुरा र व्यवहार गरिरहेछन् यिनै रुखहरू। मान्छेले गाउने गीतहरू यिनै चराहरू गाइरहेछन्। मान्छेले खुइय्य गर्ने निश्वास यै हावाले फेरिरहेछ।
केल्जे छोडेको केही समयपछि भेट भो एउटा बसाइँ सरेको परिवारसँग। बाह्रपन्ध्र जनाको हुलले बसाइँ सर्नेको सामान थाप्लामा, हातमा, काँधमा र कम्मरमा बोकेर लावालस्कर लागेका थिए। ना गाउँबाट बसाइँ सरेर टासिनाम जाँदै रहेछ यो परिवार।
‘त्यो झन् दुर्गम गाउँ हो !’
उद्धवले बताए।
नेपालीहरूका खप्परमा कति धेरै दुःख ? सुख भनेर जीवन घिसार्दा–घिसार्दै कहिल्यै आनन्दीको झुल्को देख्न नपाइने ! सुखी देख्ने आँखा, खुशी सुन्ने कान एकै पटक किन झीरले रोपिएका ?
हलुका उकालो नाघेर भेटिएको भीर। भीरबाट उत्तरपट्टि देखिएको कालो पहाड झन् अक्करे छ, आपट्टे छ, अस्मेल छ।
‘कस्ता जब्बरे डाँडाहरू !’
दारी कन्याएर आँखाका नङ्ग्रा गाडे लुइटेलले।
म नबोली सहमतिमा पुगेँ सुनेका कुरामा।
अनौठा पहाडहरू पसारिएका छन्। पहेँलो कार्पेटले ठाउँठाउँमा टाँसेर ठडिएको पहाड अङ्जगको छ। मास्तिर गोल खेल्ने मैदानजस्तो पहाडको चुली आँखा अत्याउने गरी अग्लिएको छ, छ।
भेटियो झ्याउको गलैँचा।
एकछिन थकाइ मारियो।
डर बेस्मारी फत्केको छ—‘कतै लेक लागिहाल्छ कि मलाई ?’
‘सकेसम्म बिस्तारै जानु पर्छ !’
थामथुम पार्छु शङ्काको धुँवालाई। अनि बिस्तारै हिँडिरहेको छु म।
बोलेन्द्रले दिएको सुझावलाई सम्झिरहेको छु। उनको कुरोलाई मनमा साँचेर पाइला घिसारिरहेको छु।
अब बाटो त तल ओर्लियो।
माथि भीरको कुइनेटाबाट देखियो डोगाङ। नीलो छाना भएको झुरुप्प बस्तीको डोगाङ। शीतल ओर्लियो छातीमा।
ओरालीमा सिँढी थियो। बर्खामा ढुङ्गा बगिहाले, काठे सिँढी पनि राखिएको थियो—दुईचार ठाउँमा। बुद्धिमान्ले अरू बुद्धि खियाएको देख्न पाइयो।
भीरमा भऱ्याङ ! मज्जा लाग्यो।
मास्तिरबाट खसेको ठाडो खोला थियो भयानक गर्जनासाथ। त्यसको चिसो पानीले मुख धोई वेगिइहाल्यौँ हामी। सिङ्गो पहाडबाट झरेको खोलो थियो साह्रै सुन्दर। तेर्छो बेसी हिँडेपछि फेरि भेटियो—टाइबरिङ खोलो।
डोगाङमा बाँस–निगालाका चित्रा, डोकाडाला, नाङ्ला, चाल्नी, भकारी बुनिरहेका आइमाईहरू थिए। चाङका चाङ थिए निगालाका बिटा।
सुनदन्ते शेर्पिनीसँग गप्फिएँ म त।
उसले भनी—‘बर्खामा याँ’ पुरै तीन मैना हामी थुनिन्छ !’
‘हामी अरूलाई देख्दैन। अरू पनि हाम्लाई देख्दैन !’
सुनदन्तेले आफ्नै पारामा भनेकी थिई।
तातो घाममा ऊ पिँडुला सेकाइरहेकी थिई। उसका वरिपरि अरू तीनचार तरुनीहरू खित्का छाडेर हाँस्दै कुरा गरिरहेका थिए। गालाका कुना, ओठका छेउमा अनेक बुट्टा र चित्र खोपेका थिए—सबै तरुनीले। ती बुट्टाले तिनको रुपमा रङ भरेको देखेँ मैले।
छेवैको बाँसे छाप्राबाट आमा चैँ कराउँदै थिई—‘दाउरा लिन जा, छिटो !’
तरुनीहरूको अलमलबाट रिस उठेछ आमालाई। फन्किदैँ हातमा घोचो लिएर ऊ आएपछि केटी कुदे वनतिर। हामी पनि तिनले दगुरेको बाटो पछ्याई फड्कियौँ।
डोगाङ छोडेपछि रोल्वालिङ झन् नजिक भेटियो। उसका तीरैतीर हामीले पाइला चाल्यौँ। हातैले छुन मिल्ने थिए रोल्वालिङका तिखा, चर्का र कठोर छालहरू। वर–वरसम्म बाच्छिटाले पुछिएका पोथ्राका पात र लहराले धोइएका ढुङ्गाहरू देखिन्थे एकदमै चिल्ला। सुकिला देखिन्थे बालुवाका रास।
तीनचार मोड नाघेर हामी सुस्ताइरहेका थियौँ। तीनचार तन्नेरीहरू हाम्रैछेउ आइपुगेर बसे। ती च्छोरोल्पाबाट आएका रहेछन्।
‘अरू त जान सक्लान्, तपाईं चैँ सक्नु होला र ?’
पातला जुँगा भएको केटोले मलाई औँल्याएर भन्यो।
‘तपाईंको ह्वात्त भुँडी छ !’
जुँगे बोल्न छोडेन।
‘लेक लाग्ला तपाईँलाई !’
यो भन्ने नि त्यै जुँगे।
म त खङ्ग्रङ्ग भएँ।
मनभित्र चिसो पस्यो। काम छुट्यो छातीमा। खुट्टा काम्लान्–काम्लान् जस्तै भो। एउटा अत्यन्तै नमीठो विचारको कुइरोले आँखामा छोप्यो घ्वाप्पघ्वाप्प।
उनीहरूकै अर्को साथीले भन्यो—‘दुई दिन अघि हाम्रो एउटा साथी लेक लागेर तीँ पारिबाट फर्क्यौँ। ऊ त झन् रारा पुगेको, नाम्चे पुगेको समेत थियो रे !’
‘त्यो नि तपाईँजस्तै भुँडे थियो !’
यो भन्ने नि त्यै जुँगे पऱ्यो।
मेरो चोटमा उसले मुङ्ग्रो चलाउन छोडेन।
हामीले पानी घुट्क्याएर पाइला घिसारिहाल्यौँ। अब त झन् सावधानीको सुइरो चल्यो, अत्यासको घन्टी बज्यो, त्रासको बिजुली चम्क्यिो।
रोल्वालिङ खोलाको छेउ नाघिरहँदा लाग्यो—पहाड त कति धेरै पानीको खानी ! यो पहाडले खटाई–खटाई पठाएको रहेछ पानी। एकै साथ यो पानी पठाए त…..!
तेर्पेमा फड्के थियो।
पहिरिएर बाटो बगेको देखियो। अनि तीरैतीर हामी पूर्वतिर लाग्यौँ। गुराँस, भोजपत्रका कति धेरै रुखहरू ! प्राचीन समयमा चित्रकला, इतिहास, आयुर्वेद, वंशावली आदिका ग्रन्थ लेख्न भोजपत्रको प्रयोग गरिन्थ्यो। यतिखेर दाउरा बाल्न र घरका दलिन बनाउन ढालिएर चिरान बनाइँदै थिए भोजपत्रका चिल्ला– चिल्ला रुखहरू। सेता गुराँस छिप्पिएर कलेजी भइरहेका देखिन्थे जहाँसुकै।
बाफरे कति धेरै भोजपत्रका रुखहरू। साथीहरू नाप्थे—भोजपत्रका झिक्न मिल्ने बोक्रा र कागजजस्ता पातला पत्र। बाक्लो वन र खोलाको गर्जनाले मनमा अर्कै तराना उमार्छ पटक–पटक।
रोल्वालिङ तर्नै लाग्दा भरिया भेटिए।
जत्थाबाट छुटेको एक जना चैँ राल काढिरहेको थियो पुलको मुखैमा।
‘भाले तर पखेटा र सिउर नभएका !’
रक्सीले टिल्ल भएका भरिया देखाउँदै लुइटेल बोले।
मनमनै खित्काएँ म उनका कुराले। सिउर भएको म भाले चैँ लेक लाग्ला कि भनेर भित्रभित्र खुम्चिसकेको छु हजार पटक। निकै पटक मुर्छा परेर आफैँले आफैँलाई छम्काएर बिउँझाइरहेको छु।
लेक लाग्ला भनेर म पानी खान पनि ख्याल गरिरहेको छु। यी हिमालपुत्रहरू पानीका बाजे ‘बिजुली पानी’ लडाएर लुइँलुइँ हिँडिरहेका छन्। अब को भाले ?
रोल्वालिङ तरियो झोलुङ्गे पुलमा हल्लिँदै–हल्लिँदै।
देब्रेतिर ठडियो पहाड। दाहिनेतिर छङ्छङियो खोला। खोला तर्ने बितिक्कै निगालाका तिखा सुइरामा लसुन, प्याज, अदुवा र टिम्मुरको लेदो अड्काएर हात–हातमा थमाए उद्धव भाइले।
‘अब लेक नि सात डाँडा पर भाग्छ, मेरो दाजु !’
अनि पाइला सार्न थाल्यौँ।
नपत्याउँदो उकालो निकै रुखो, उराठ र अप्ठ्यारो थियो। काला र अरिमट्ठे ढुङ्गा कसैले थुपारेजस्तो लाग्थ्यो। त्यै ढुङ्गेनी नीरसमा जताततै थिए गुराँसका झ्याम्म रुखहरू। हावा पनि तातो थियो। अनेक पोथ्रा र लहराले बाटो ढाकेथे। काँडे बुट्यान पनि झन् धेरै।
आफ्नो सास सकेसम्म चाँडचाँडै फेरिएर फर्किहालोस् फोकसोमा ! यस्तै कुरा आइरहे। निकै भयो गर्मी पनि। अति उचाइमा भएको बेँसी पनि तातो र उखर्माउलोले भरिएको थियो।
गौरीशङ्कर चुली उत्तरतिर गयो कोल्टिएर। बादल र कुइराको हाँपझापमा पऱ्यो त्यत्रो प्रख्यात हिमाल। कति पातला कुइरो र बादलले सरक्कै छोपे त्यत्रो अजङ्गको हिमाल। यदाकदा मसिना र तरल कुराले तुजुग देखाउँछन् नि जीवनमा !
महादेव खोलाको पुल तरियो।
ढुङ्गेनी उबडखाबड झन्झन् देखा पऱ्यो। लेक लाग्ला भनेर हतास भएका छौँ हामी। घाम पनि तिख्खर, उखर्माउलो चेप। रुखो पाखोमा मास्तिरको कालो जब्बरे पहाडले हावा छेकिरहेको होला। भएको हावा पनि लेकाली रुखले सोसिसके होलान्। अनि हाम्लाई गाह्रो पर्दैन त !
तेर्छो र उकालीसँग जुधिरहेको छु म। त्योभन्दा ठूलो डर छ लेक लागेर बीच बाटैमा फर्किनु पर्ला कि भनेर !
अनेक खालका चेप, खोँच र ओडारहरू देखिन्छन् उत्तरतिर। अजङ्ग–अजङ्गका ढुङ्गा गुड्दैगुड्दै ठामठाममा अडिएका देखिन्छन्। तिनैमा उम्रिएका छन् रुखहरू। ढुङ्गै त सानोतिनो हावामा खस्लान् झैँ लाग्छन्। अब रुखकै भविष्यमा ढुक्क हुनु कसरी !
बोलाइरहन्छ लम्किरहेको बाटोले।
म घडी हेर्दिनँ। खल्तीमा राखेको छु। बरु घरीघरी आकाश हेर्छु। हिमालको हावापानी छिनभरमै बेग्लिन्छ। अनि हावाहुरी, पानी, हिउँ ओइरिइहाल्छ।
काला, चुच्चा र धारिला चट्टान। बाटो त कति अप्ठ्यारो। खुट्टा चिप्लेर ढुङ्गेनी चेपमा पसिसके निकै खेप। काँडे लहरा झन् बेपत्तै धेरै।
फाँटिलो चौर माझमा घर बन्दै थियो।
एक हुल भरिया यीँ आएर सुस्ताइरहेका थिए। तिनीहरूसँग पानी मागेर घाँटीसम्म भिजायौँ हामीले। ठैटी रहेछ यो ठाउँ। कसैले थाङदिङ, कसैले ठइटी भने। पाँचसात चौरी चरिरहेका थिए मास्तिरका ढुङ्गेनी धरापमा। हाम्रा बोली सुनेर ठाडठाडा कान लाउँदै घरीघरी हेर्थे हामीलाई चौरीहरू।
ओहो, चारैतिर हिमालैहिमाल !
सुस्ताउन नपाउँदै हिँडियो। झोला गरुँगो छ। मेरो पाइन्टको तल्लो भाग फाटेर बिजोग भएको छ। जुत्ताको तल्लो खण्ड उक्किएर ह्वाँक्क भएको छ।
‘भाइ, म त तीन ठाउँमा उध्रेको छु !’
मकै चबाइरहेको मुख, फस्नरनिर उध्रिएको पाइन्ट र जुत्ताको तलुवा उप्किएको भागलाई औँलाले देखाएँ मैले।
एक छिन हाँसो भयो मज्जैले।
निकै हिँडेपछि गोठ देखियो। ढुङ्गैढुङ्गाले बनेको गोठको झ्याल निकै कलात्मक थियो। त्यहाँ पनि तीनचार चौरी चरिरहेका थिए। घन्टी बजाउँदै—टाङटाङटुङटुङ।
मुख स्याप्पै पारेको छ तिर्खाले।
‘अब त पानी पाइन्छ होला !’
मास्तिरको सेतो खोँच देखेपछि मैले मुख खोलेँ।
निगालो जस्तो ढड्यानघारी नाघ्न निकै समय लाग्यो। चिमालघारी नि उत्तिक्कै बाक्लो। गोब्रेसल्ला, ढ्याङ्ग्रेसल्लाका रुख खुबै देखिरहेछु म। काँडे पोथ्रामा घरीघरी अड्किन्छन् जुत्ता। भाइले बाटोमा जुत्ताको धागो पोलेर डल्लो पारेथे। तर तलुवा उध्रेर वाँक्ख हुन छोडेन। जुत्ताले वाँक्ख भएर मुख बाइरहँदा डरले खुम्चिरह्यो मेरो मन।
‘भेटियो, भेटियो !’
हामीभन्दा अघिअघि हिँडेका कार्कीले खोलामा मुन्टो जोतेर बोलाएको सुनियो। रसिलो पानी। मस्तले खाइयो। आराम नि गरियो मज्जैले। झोलाबाट कट्याककुटुक झिकेर दाँत हल्लाउन पनि थाल्यौँ। भोकै नभए पनि खाजाको तलतल चैँ थियो मलाई।
खोलामा मुखै जोतेर पानी खाँदा भित्रसम्मै लुगा भिजेछन्। आफ्नो मूर्खतामा हाँसे म। पसिना र पानीको भिजाइले गतिलैसँग चिसो भयो छाती।
निकै लम्केपछि पर देखियो वेदिङको गुम्बा।
मनमा आनन्दी सल्बलायो। खुट्टाको गनगन मत्थर भयो। अनुहारमा फक्रियो खुसी। रगतमा उत्साह उर्लियो।
दक्षिण र पूर्वतिर हिमालै–हिमाल छन्। अचम्म–अचम्मका हिमालले डोर्रिएको छ बाटो। हिमालका चुलीदेखि तल फेदीसम्म कतै हिउँको थाक छ, कतै खोला दगुरेका छन्, कतै हिउँका तर्ल्याङतुर्लुङ झुन्डिएका छन्।
कहीँ ठिङ्ग रुख छन् निकै माथिसम्म, कहीँ निकै तलसम्म हिउँको रासले पुर्रिएर उम्रिनै सकेका छैनन् एउटा पोथ्रासम्म। अनौठो भूमिमा घिस्रिरहेको लाग्छ।
हिमाल एकदमै नजिकै छन् सेतैसेता। दक्षिणपट्टिको हिमाल र काला पहाडको लुकामारी भइरहन्छ हरघडी। आँखा कुद्छन् दक्षिण पनि, पूर्व पनि। हो, यतिखेर पूरै सेलाएको छ रोल्वालिङ खोलाको गर्जना। शून्य नै छ उसको गति, स्वर, लय।
समदर पुगिएछ।
बाटो तल खोलाछेउमा लामो टहरो थियो। ध्वजाले घेरिएको र त्रिशुलले छेकिएको गोरा महादेवको मूर्ति पनि थियो। सँगै छेरिङमा भनिएको बौद्ध मूर्ति पनि।
टासिनामतिर बाटो गयो, पुलपारि।
चिसो हावाले अब गीत गाउन थाल्यो कानैमा आएर सिरर्र….सिरर्र….। अनि मैले खापेँ बाक्लै धोक्रो शरीरमा।
हामी वारिको गोरेटोमा लम्किरह्यौँ खुरुखुरु। घाम ओर्लियो हिमालचुली छोएर। हामी घ्याम्पे पहाडको फेदी–फेदी पूर्वैतिर स्वाँस्वाँ गरिरहेका छौँ निरन्तर।
लेकाली चाँप, घँगारुका बोट निकै देखिन्छन्। चराका बथान चिसो हिमाली खोँचतिर वेग मारिरहेको देख्छु म। आँखा त आकाशतिर गइरहेका छन् घरीघरी।
‘यो बादलले क्यै गर्दैन दाइ !’
‘गरिहाले त हाम्रो सपना बर्बाद हुन्छ नि भाइ !’
‘हामी तल झरेपछि यसले कमाल देखाउँछ।’
‘ठीक छ, अहिले नै चैँ बबाल नगरोस् !’
समदर छोडेपछि निकै माथि भेटिएको अजङ्गको चट्टानमा बसेर लुइटेल र मेरा बीचमा कुरा भइरहेका छन्। मलाई त डर छ लेक लाग्ला भनेर, बादलले हिउँ पार्ला भनेर।
बाटो छ तर्पाया अनि उकाली। ढुङ्गाका हार लाइएका पर्खाल बिस्तारै देखापर्न थाले। गरा, पाखोबारी आउन थाले। एक हुल बलिया लामसिङे याक बाटो छेकेर बसेका थिए ढसमस्स। हामीले हाटहुट गरेपछि ती लागे मास्तिर। तिनका चुच्चा, तिखा र डरलाग्दा सिङले हामीलाई अत्याए मज्जैले।
‘अब वेदिङ टुप्लुकियो है दाजु !’
घर देखिए बाक्लै।
लम्किरहेको पाखोमा घरहरू नि भेटिए। फाट्टफुट्ट आएका घर र खेतले साँझको छायाँ बोकिरहेका थिए सुस्तरी।
चालचुल छैन कतै नि !
हो, घरमा ताल्चा ठोकिएका थिए। आग्लो हालिएका थिए। काठ र ढुङ्गाले ढोका थुनिएका थिए। बाहिरैदेखि सेउलाले गजबार हालिएका थिए। निर्जन बस्तीमा हामी एकोहोरो लम्किरहेका छौँ।
तीनचार घरपछि ढुङ्गेनी बार। अनि फेरि त्यस्तै तीनचार घरटुप्लकिन्थे। बस्ती हुँदा हुन् ती।
यस्तो अक्करे चेप र दुर्गममा पनि खेत र बारीमा ढुङ्गाका साँध देखेपछि मैले भनेँ—‘यो तेरो, मेरो त जाँ नि हुँदो रै’ छ !’
‘जीवन रहुन्जेल भइहाल्छ नि !’
कार्कीले पानी घुट्क्याएर भने।
यति धेरै जग्गा, जमीन, वन, पानी भएको ठाउँमा पनि ढुङ्गाका बार हुनु आवश्यक थिएन। मेरो र अर्काको भनेर साँध लाइरहनुपर्ने थिएन। तेरो र मेरो भनेर सिमाना कोरिरहनुपर्ने खाँचै थिएन।
निबारे गाउँ पुगिएको अनुमान उद्धव भाइ गरिरहेका छन्। उनी वारिपारिका हिमाली चुचुरा र गुफा देखाउँछन्। निकै माथि पुगेपछि मैले दक्षिणतिर आँखा हुत्याएँ। भयानक ओडारको अगाडि एउटा सुरिलो रुख ठडिएको छ। ओडारलाई त्यो बडेमानको अग्लो रुखको टुप्पाले पनि भेट्न सकेको छैन।
समय र जीवनको राम्रो अनुहार हो यो।
मनभरि उकुसमुकुस भइरहेको छ।
कति चुलीमा हिउँ फुसफुसाइरहेको देखिन्छ। कतै हिउँ खस्दाखस्दै जमेर तर्लयाङ्ङ भइसकेका छन्। कतै हिउँका चप्परीमुनि सङ्ला कुलेसा कुलकुलाएका देखिन्छन्। कतै हिउँका पहिरो गड्याम्मगड्याम्म खसेको देखिन्छ। सेतो धुँवा अकासिएको देखिरहेछौँ हामी पटकपटक।
कति ठाउँमा माथिबाट खसेको हिउँ खसेको देखिन्छ तप्पतप्प। कतै त माथिबाट पानी बनेर खसेको हिउँ अलिक तल आउन नपाई जमेर रुखका जिङ्ग्रिङ्ङ जरा झैँ बन्न पुग्छन्।
‘भेट्टाइस् मूला !’
मैले त्यही जिङ्ग्रिङ्ङे हिउँ देखाएर भने।
‘बगुँला भन्ठाथिस्, जमिस् मज्जैले !’
मेरो आशय पूरा गरे उद्धवले।
हाँसो भयो गज्जबसँग।
वास्तवमा हिमालमा छिनभरमै मौसम फेरिइहाल्ने। एकै छिनमा हावापानी परिवर्तन भइहाल्ने। त्यै कारण हामीले जाडो, तातो, पानी सबै खालका लुगा कोचेथ्यौँ झोलामा। यतिखेर ती झोलाले हाम्रा ढाड पिल्सिएका थिए मज्जैले। काखी पाछिएका थिए, गर्धन गलेका थिए र पाखुरा पिल्सिएका थिए।
आलु रोपिएका छन् जताततै।
कतैकतै बढी भएका आलुलाई काला झ्याउका पत्रैपत्रले छोपछाप पारिएको देखिन्छ। लेकाली भकारी यै होला।
राम्रा र चिटिक्क परेका घर छन् पुरै चकमन्न। एकदमै सुनसान। थपक्क बसेका र सुकिलामुकिला।
डाँफे देखिए—आलुबारीमा चरिरहेका।
तस्बिर खिच्न खोजेको ती पटकपटक ढुङ्गाका चेपमा लुकिहाल्थे। जतिसुकै झम्टा मारे नि डाँफे हराइहाल्थे। चियो गर्न नि साथीले छोडेनन्। अँह, नजिकै परेनन् डाँफे।
यतातिर तीन ठाउँमा घर हुँदो रहेछ सबैको। धेरै हिउँ पर्दा निबारेमा अनि वेदिङ र त्यसपछि ना गाउँमा जीवन बिताउँदा रहेछन् मान्छेहरू। हिउँ पर्न थालेपछि तलतल सर्ने र हिउँ कम हुन थालेपछि माथिमाथि सर्दा रहेछन् यी शेर्पाहरू। त्यसै हुनाले ना, वेदिङ र निबारेमा चक्र प्रणालीको जीवन हुँदो रहेछ।
विद्यालय, गुम्बा, पसल सबै सर्दा रहेछन् बसाइँसराइँजस्तै। वर्षमा तीन ठाउँमा जीवन सर्दो रहेछ यतातिर।
ठाउँठाउँमा साइरन जडिएका फलामे खाँवा देखापर्न थाले। ती च्छोरोल्पा ताल फुटेमा बचाउ र सुरक्षाका लागि गाडिएका सङ्केत हुँदा हुन्।
ढुङ्गाका अन्तर र चेपमा बनेका घरहरू थुप्रै थिए। ढुङ्गैढुङ्गाले गारो लाएर चिटिक्क भएका घर साह्रै राम्रा थिए। कति घर त ठूलठूला चट्टानलाई नै पर्खाल मानेर बनाइएका थिए। लेउ उम्रिएका र झ्याउ पलाएका बडेमानका चट्टानमुनि ढोका हालेका घर देखेर आँखा बन्थे अवाक्। ओडार नै घर बनेथे कति त !
आलु मात्र फल्ने यी गरामा जताततै चौरीले गोब्राएका थाप्रा मात्र देखिन्थे। काला–खैरा डल्लाडल्ली।
खोला छङ्छङाएर बगेको देखियो। लमतन्न पसारिएको बगरमा सेता छाल र सेतै ढुङ्गाले आँखा तिर्मिराउँथे।
खोला तर्नलाई पुल थियो—अलिक पर।
साथीहरूले वरैबाट ‘तरुम्’ भनेपछि बगरतिर झरेँ म। तर आँट आएन। तीनचार ढुङ्गा हालेर जँघार तर्न सजिलो पारिदिए कार्कीले मलाई। अँध्यारो ओर्लिरहेको बगरमा हामी पारि पुग्दा अरू दुई घरहरू देखिए निर्जन र घोर चकमन्न।
अब देखियो झलमल्ल वेदिङ।
३९५० मिटर उचाइमा बसेको वेदिङको गुम्बा अघि देखिएथ्यो, अब त झन् निकै मास्तिर पहरोमा पो सऱ्यो। भीरमुनिको पाखोमा वेदिङ बसेथ्यो थपक्क।
दक्षिणपट्टिको हिमाल झल्ल देखियो। रोल्वालिङ उपत्यका एकदमै मनोहर, उत्तेजक, कामातुर र सुरम्य भएर आयो आँखा वरपर।
फाँटिलो चौरमा बसेको गुम्बा र पाठशाला नाघेर हामी रोल्वालिङ खोलाको बगर पुग्यौँ। दाहिनेतिर रहेको खोला र देब्रेतिर रहेको विशाल हिमाल। तर दुबैका वरिपरि हिमालैहिमाल। हिउँचुली नै हिउँचुलीले घेरिएको छ जताततै। आँखै तिर्मिराउने हिमालको लस्कर छ।
हिमालको उज्यालोमा अँध्यारो भाग्दैछ परपर। आकाशका तारा पनि मज्जाले खुले—वरपरका सेताम्मे चुलीको उज्यालोको भरथेग पाएर।
झमक्कै साँझमा हामी पुग्यौँ वेदिङ।
पिलपिल बत्तीलाई हिउँचुलीको झलझलाकार उज्यालोले जितिरहेको लाग्थ्यो। घरघरबाट धुँवा मास्तिर गएको देख्दा मानिसको उपस्थितिको आशा लागथ्यो झिनो। नत्र, छैन कुनै चालचुल।
खोला छोडेर हामी मास्तिर लाग्यौँ बस्तीतिर।
दावा छिरी शेर्पाको छिरिङमा भ्यु लजतिर लगे लुइटेलले।
‘दाइलाई तातो खुवाउने, न्यानोमा राख्ने !’
बाटैमा भेटिएका दावाले त मास्तिरको अर्कै घरमा पो उकाले हामीलाई। जाडो र स्याँठले आत्तिएका थिए मेरा ओठ। दिनभरिको थकानले गर्दा झोला बिसाउन मन हतारिएको थियो। कतिखेर पसारिउँ झैँ भएथ्यो। जाँ र जस्तोसुकै ठाउँमा लम्पसारिन पाए पनि हुन्थ्यो भन्ने मात्र ध्याउन्न थियो मेरो।
‘धेरै घरमा मान्छे छैनन्। मान्छे भएका ठाउँमा कुइरे मात्र छन् !’
दावाले बोलेको सुन्दै छु।
मास्तिर उकालिएको आँगन र पिँढी हुँदै एउटा घरमा पुग्यौँ। आजको बास यहीँ हुने छनक देखियो। सिउसिउ गर्दै घरभित्र पसी पनि हालेँ म त।
तरुनी छोरी लिएर बसेकी बूढी शेर्पिनीको घरमा झोलाझ्याम्टा थन्कायौँ। निमबुटी शेर्पाकी साइँली छोरीले ओछ्यानको व्यवस्था मिलाइदिई। हातमुख धुन लगेको तातो पानीले आँखा मात्र पुछेर तातोमा घुस्रेँ म।
आज पनि उही साग र आलुको झोल जुऱ्यो।
जिउ गलेर ध्वंस भएको थियो। थाकेको शरीर चटपटाउन नहुने गरी धुजाधुजा भएको थियो। तातो तेलमा घुँडा र पाखुरा मिचिरहेँ मैले। अँगेनाको तातो रापले ततायो मन समेत।
यस्तै साठी घर रहेछन् वेदिङमा। घरैपिच्छेबाट हिउँदमा हिमाल चढ्ने र बर्खामा काठमाडौँतिर सानोतिनो व्यापार गर्न झर्दा रहेछन् यताकाहरू।
हामीलाई भात पस्किरहेकी आङ छिरिङसँग मैले सोधेँ—‘नानी कतिमा पढ्छ्यौ ?’
छिरिङले पोटिलो ज्यान हल्लाएर भनी—‘इस्कुल बन्द भो। मेरो पढाइ छुटो !’
प्रथम सगरमाथा आरोही एडमन्ड हिलारीले खोलिदिएको स्कुल बन्द भएको रहेछ। त्यो बन्द भएपछि यताका सबै शेर्पा विद्यार्थी बिचल्लीमा परेका रहेछन्। तल खोलिएको लामा पाठशाला पनि ससाना केटाकेटीका लागि मात्र रहेछ।
हिउँ माथि सरेको हुनाले सबै गाउँलेहरू ना गाउँमा सरेका रहेछन्। निमबुटी पनि भोलि बिहानै त्यतै सर्दै रहिछ।
निकै रात गएपछि म बाहिर निस्केँ। अरू सबै भुसभुसी निदाइरहेका थिए। लेकको थर्थराउँदो जाडोमा डल्लिएथे सबै।
झलमल्ल जूनको उज्यालोमा चमचमाइरहेका थिए वरिपरिका हिमाल। परीपरीका हिउँचुलीले रोल्वालिङ उपत्यका शान्त, शुभ्र र शीतल लागिरहेको थियो। एकपछि अर्को हिमालले रोल्वालिङ उन्मत्त देखिएथ्यो। साँझको रोल्वालिङ हार्दिक–हार्दिक लागिरहेथ्यो।
ओहो, कति दिव्य !
धेरै परसम्म हिमालको आभा र जूनको किरणको खिचातानी देख्न सकिन्थ्यो।
उफ्, छालै लुछ्ने भयानक चिसो। बाहिरको ठिहीले डामिएर म पसेँ कोठामा। आँखामा सँगसँगै आएथ्यो हिउँको झलमल्ल उज्यालो।
आगाको भर्भराइले कोठा तातो थियो। दक्षिणतिर थिए कार्कीजी। माझका ठाउँमा बन्चरा बेच्न आएका कामीहरू घुरिरहेका थिए। रक्सी, आगो र शेर्पिनीको गन्धमा वेदिङको रात झन् नजिकियो मेरासामु।
अनौठो भएको छ मुटुको चाल। सम्हाली–सम्हाली वेदिङको चित्रमा अब मैले रङ भर्नु छ। यो चुपचाप बस्तीको भित्री मन मैले पढ्नु छ।
वेदिङ अचम्मको लोभलाग्दो हिमाली बस्ती लाग्दै छ। रातमा त यो यस्ती ! हो, रुपसी। भोलिको घमाइलो उज्यालोमा म निष्फिक्री पढ्ने छु यसलाई चारै दिशाबाट।
झ्यालबाट पसेको जूनको उज्यालोमा देखियो आङ छिरिङको सुन्दर अनुहार !
०००