रवीन्द्र समीरको कोरोनातन्त्र पढेपछि... - Himal Post Himal Post
  • ४ फाल्गुन २०८०, शुक्रबार
  •      Fri Feb 16 2024
Logo

रवीन्द्र समीरको कोरोनातन्त्र पढेपछि…



-लता केसी

पुस्तकमा स्वीकारोक्ति, “महामारीको अत्यासलाग्दो विभिषिकालाई शब्दमा संगठित गर्दै कल्पना मिसेर व्यङ्ग्यात्मक शैलीमा लेखिएको सूत्रउपन्यास हो, कोरोनातन्त्र !”

जसै बजारमा समीरको कोरोनातन्त्रको चर्चा चल्न थाल्यो , मभित्र पढने हुटहुटी बढ्यो । खाने मुखलाई जुङ्गाले कहाँ छेक्छ र ? भनेजस्तै सानो प्रयासले प्रकाशकबाट सोझै घरको गेटसम्म किताब आइपुग्यो । हातमा पर्नासाथ दुई दिन लगाएर लगभग ६ घण्टा खर्चिएँ । निकै रोचक , घोचक, प्रभावकारी र उपयोगी लाग्यो । पढन सुरु गरेपछि छाडन मन नलाग्ने रहेछ ।

७० को दशकको उत्तरार्धमा कोरोना भाइरसले विश्वभरि आक्रान्त गरेको घटनाहरूको दस्तावेज हो भन्न सकिन्छ , कोरोनातन्त्र ।

१ अङ्कबाट सुरू भएर १०१ मा रित्तिएको छ । कुनै पनि अङ्कमा शीर्षक राखिएको छैन । प्रत्येक अङ्क लघुकथाको प्रारूपमा समेटिएको छ र सबैलाई कोरोना भाइरसको कालो धागोले उनेर उज्यालो उपन्यासको रूप दिइएको छ । यो लघुकथाको क्षेत्रमा एउटा नयाँ प्रयोग मान्न सकिन्छ । स्वयम् स्रष्टाले आफ्नो लेखनमा भनेका छन् कि कोरोनाले गरेको ठूलो जनधनको क्षतिभित्र आफूले भोगेका महत्वपूर्ण घटना , अनुभवलाई मेेले सूत्र उपन्यासको रूपमा प्रस्तुत गरेको हुँ । महामारीको सुरूवात , पहिलो लहर, सिमित खोप, अक्सिजन तथा बेडको अभाव , दोस्रो लहर , खोप , तेस्रो लहर , बुस्टर डोजलगायत घटनालाई समयको सूत्रले बाँधेर औपन्यासिक बनाएको हुँ । एकएक थुंगा लेख्दै जाँदा एकसय एकवटा थुंगाको लघुकथासङ्ग्रह तयार भयो । थुंगाभित्रको धागो गाँठो पार्दा सूत्र उपन्यास बन्यो ।

उसो त नेपाली साहित्यको क्षेत्रमा सर्जक समीर हिद्धहस्त लघुकथाकार र प्रयोगवादी उपन्यासकारका रूपमा चिनिन्छन् नै !

मैले लघुकथाकार समीरलाई प्रथमत: डा. रविन्द्र पाण्डे भनेर चिनेकी हुँ । स्वास्थ्यविज्ञका हैसियतले जनचेतनासम्बन्धि उनका लेखहरू फेसबुकका भित्तामा पढदै गर्दा घरमा ढेङ्गुबाट थलिएको छोराको उपचार गर्न मलाई सहज भएको विषय म कहिले बिर्सिन सक्दिँन भौतिकरूमा एकपटक साक्षात्कार भएकी छु, सुप्रियाको चित्रकला प्रदर्शन, आर्ट ग्यालेरीमा ।

लघुकथाका क्षेत्रमा सबैभन्दा बढी कृति तेस्रो आँखा, पोष्टमार्टम, विकिरण, ईश्वरका कथा, अर्जुनदृष्टि, अणु र पहाड, व्यंग्यम शरणं गच्छामी, एकलव्य दृष्टि प्रकाशन गर्ने सर्जकका रूपमा परिचित छु । उनका कलमबारे परिचित छु । ८ वटा लघुकथासङ्ग्रह र चाँदीका घेरा, ग्रेटवालको ग्रेट अनुभूति, भूकम्पमा मल्हमपट्टि, मृत्युको आयुपछि उनका १३ औँ पुस्तकका रूपमा आएको छ, कोरोनातन्त्र !

विश्वभरिका मानवको जीवनमा कोरोना भाइरसले खेलेको भूमिका र कोरोनातन्त्रको साङ्गोपाङ्ग जीवन उतारिएको छ , पुस्तकमा । भाइरस र खोपको सम्बन्धमा चलेका निराधार हल्लाहरू र हल्लाको बीचमा सबै खाले मानिसमा आफ्ना निजि दृष्टि, स्वास्थ्य क्षेत्रमा चलचलाएका विकृतिहरु, स्वास्थ्कर्मीहरूको भूमिका र मानसिकता, मानिसका बीचमा देखिएको दुरी, सामाजिक विभेद, सरकारको कमिसनतन्त्र र ढिलासुस्ती, उपचार र राहतप्रति गरिने विभेद, पुस्तान्तरको सोचमा विविधता, आदिका प्रसङ्गलाई व्यङ्ग्यात्मक शैलीले प्रहार गरिएको छ ।

प्रत्येक अङ्कमा ऋतु र मौषमको चित्रणले थप स्वाद पस्किएको छ । पढदै जाँदा कतै बेस्सरी हाँसिन्छ, कतै आँसु छछल्किन्छ भने कतै उदासिन र नैराश्यता ! कोरोना अवधिलाई यथार्थरूपमा चित्रण गर्न सर्जक खप्पिस देखिएका छन् ।

भारतमा कोरोना आयो रे ! भनेको सुन्दा “भारतमा कोरोना आए त्यही महाभारत मच्चिनेछ । यो हामीलाई लाग्ने रोग होइन” भनेर
फुर्ती हाँक्ने बहादुर नेपाली केही समयमा नै अस्पतालको भे्निटेलरमा जीवनका दिनहरू गन्न बाध्य भएको कथा , सहरमा कोठा भाँडा लिएर बसेकालाई पोजेटिभ भएको थाहा भएपछि निकालिदिने , बिचराहरूले न घर न डेरा न त ससुराली नै ! सामाजिक बहिष्कारमा परेकाहरूको व्यथा बढो सरल र सहज भाषामा व्यक्त भएको छ क्यान्सर , मिर्गौला फेल , मस्तिष्क र हृदयघातले सम्म नडराएको मानिसलाई कोरोना भाइरस त्राहिमाम् बनेको विडम्वना पोखिएको छ । ठूला ठूला रोगविरूद्ध समाधान खोज्न उभिएको विज्ञान र प्रविधि समेत चकित भएको गाथा , कोरोनाको आगमनसंगै रमाएकी प्रकृतिको रोचकता , मानवीय द्वैध चरित्र र आडम्बरलाई यत्रतत्र व्यङ्यबाणले खुत्रुक्केे पारेको पाइन्छ ।

कोरोना आउँदा सुरूमा हामीसंग शङ्का बनेर आयो ततपश्चात्

क्रमश: हल्ला, लकडाउन, भोक र अभाव, डर र सामाजिक दूरी, जीवन र मृत्यु सबैले भोगेका अनुभूतिहरूलाई सर्जकले कल्पनाको खोल ओडाएका छन्। कृतिभित्र समेटिएका नयाँ उखानहरूले कलममा रोचकता थपेको छ । केही उखानहरू यता पस्किन सान्दर्भिक ठानेँ ।

  • नपाउनेले जिम्मेवारी पायो, नक्कली किटमा पैसा खायो ।
  • के निहुँ पाऊँ , कमिसन बुक्याऊँ ।
  • डाक्टरलाई पिपिईको भारी ।
  • कोरोना लाग्यो भने राम राम भन्न सकिन्छ , काँध थाप्न सकिँदैन ।- ताक परे डाक्टर नत्र कन्डक्टर ।
  • भारतमा खोप छ , पाखुरा मेरा बुच्चै ।
  • धान खाने अस्पताल , चोट खाने स्वास्थ्यकर्मी
  • आइसोलेसन केन्द्रमा भोजनभन्दा भोक मीठो , ओछ्यानभन्दा
    निन्द्रा मीठो ।
  • आफ्नो आङको कोरोना नदेख्ने, अरूको आङमा रूघा देख्ने ।
  • मुखमा लाउने माड छैन , पाखुरामा सुई । आदित्यादि प्रसस्तै उखान प्रयोग भएको छ ।

परिवेश अनुरूप पात्रको नाम चयनले पढदा मज्जा आउँछ । सुटुक्क एउटा कुरा के भन्न मन लाग्यो भने , पुस्तकका प्रमुख पात्र डा. शर्मा स्वयम् डा. रवीन्द्र पाण्डे नै हुन् भन्ने अनुभूति भयो । कोरोना अवधिमा डा. रवीन्द्रले भोगेका व्यक्तगत अनुभूति डा. शर्मालाई बोकाएका हुन् भनेर ठोकुवा त गर्न मिलेन तर पक्का विश्वास चै भएकै हो ।

२०६ पृष्ठमा समेटिएका १०१ लघुकथा एकसे बढकर एक छन् । प्रकाशक इन्डिगो इन्क पब्लिकेशन रहेको छ । सम्पूर्ण फ्रन्टलाइनरलाई पुस्तक समर्पण गरिएको छ । लेखन शैलीका अतिरिक्त पुस्तकको खास आकर्षणहरू – प्रकृति चित्रणको प्रयोग , शालीन व्यङ्ग्य , पात्रहरूको नाम चयन , रामायण , महाभारत , गीता आदि धर्मग्रन्थका मन्त्रहरूको प्रयोग भेटन सकिन्छ । शब्द शब्द , वाक्य वाक्यमा जादु छ । आवरण चित्र असाध्यै सुन्दर छ । लागेको कुरा भन्नै पर्ने हो भने किताबको मूल्य अलि चर्को छ तर पढिसक्दा मूल्यबारे चुक्चुकाउनु नपर्ने रैछ । सबैभन्दा महत्वपूर्ण कुरा , यो पुस्तक भावी पुस्ताको लागि कोरोना विषयको एउटा इतिहास बन्नेछ ।

जे बुझेँ , त्यही लेखेँ । भुलचूक माफीको अपेक्षा !