नेपालीहरू स्वाभिमानी र सज्जन - योगी आदित्यनाथ - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

नेपालीहरू स्वाभिमानी र सज्जन – योगी आदित्यनाथ



लखनउ –

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सीमानामा नेपालीहरूले कहिलेकाहिँ दुःख पाउने गरेको सुनेको बताउँदै नेपालीहरूलाई भारत आवत-जावत गर्ने वातावरण अझ सहज बनाउने बताएका छन् । नेपालीहरूलाई दुःख नदिन आफूले भारतीय सुरक्षाकर्मीहरूलाई निर्देशन दिइसकेको पनि बताए ।

उत्तरप्रदेशको राजधानी लखनउमा नेपाली पत्रकारहरूसँग भएको भेटमा आदित्यनाथले भने, ‘सीमा वारपार गर्ने वातावरण अझै सहज बनाइन्छ । आवश्यक परे म आफैँ पनि सीमा क्षेत्रको अनुगमन गर्न जान्छु । नेपालीलाई दुःख दिने नियत हाम्रो होइन ।’

योगी आदित्यनाथले केही खराब नियत राख्‍ने व्यक्तिहरूले नेपाल-भारत खुला सीमानाको फाइदा उठाउन खोजेको र त्यसप्रति सजग हुनुपर्नेमा जोड दिए । अवैध मुद्रा तथा लागू औषध तस्करी तथा आपराधिक क्रियाकलाप रोक्ने क्रममा सीमानामा कहिलेकाहिँ कडाइ गर्ने गरिएको स्पष्टोक्ति उनले दिए।

नेपालको समृद्धि र नेपालीहरूको सुख नै आफूहरूको चाहना भएको उनले बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नेपाल सरकारको नारालाई प्रशंसा गर्दै योगीले नेपालको समृद्धिको यात्रामा भारतले सधैँ साथ दिने बताए ।

नेपाल र भारतका नागरिकबीच सम्बन्ध शताब्दीऔँदेखि सुदृढ रहेको बताउँदै उनले यो सम्बन्धलाई नवीन उचाइमा पुर्‍याउनुपर्ने कुरामा जोड दिए । दुई देश र जनताबीच अटल विश्वासको सम्बन्ध रहेकाले यसमा कसैगरी पनि फाटो आउन दिन नहुने कुरा उनले बताए । नेपालीहरूलाई ‘स्वाभिमानी र सज्जन’ को उपमा दिँदै प्रशंसा समेत गरे ।

नेपाल-भारतबीचको सम्बन्ध धार्मिक र सांस्कृतिक दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेको बताउँदै योगी आदित्यनाथले धार्मिक र सांस्कृतिक पर्यटनको विकासमा जोड दिनुपर्ने बताए ।

उनले विवाहपञ्चमीको अवसरमा जनकपुरको भ्रमण गर्दा प्रदान गरिएको न्यायो आतिथ्यका लागि समग्रमा नेपाल सरकार र नेपालीहरूप्रति आभार व्यक्त गरे ।