विभाग बाँडफाँटबारे योगेश भट्टराईका पाँच फर्मुला

सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई पार्टीका ३२ विभागको जिम्मेवारी बाँडफाँटमा सकस भैरहेको छ । यहि सन्दर्भमा पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले पाँचबुँदे सुझाव अगाडि सारेका छन्।
तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्र समूहबीच स्कुल विभागदेखि अन्य ३१ विभागको नेतृत्व सवाललाई लिएर रस्साकस्सी चलिरहेका बेला भट्टराईले उक्त सुझाव दिएका हुन्।
भट्टराईले दिएका पाँच सुझावमध्ये प्रमुखलाई कुनै पनि विभागको नेतृत्व एक वर्षसम्म गर्न नपाउने गरी नियम बनाउन सुझाएका छन्। ‘ पार्टीमा भूगोल, विभाग र फाँट गरी कामका तीनक्षेत्र छन्, रोटेसनका आधारमा एउटा व्यक्तिलाई तीनवटै क्षेत्रमा काम गर्ने अवसर दिऔं,’ सामाजिक सञ्जालमार्फत् सार्वजनिक सुझावको एउटा बँुदामा भनिएको छ ।
भट्टराईले आफ्नो फेसबुकमा पेजमा लेखेका पाँच बुँदा यसप्रकार छन्:
नेकपामा कार्यविभाजन र जिम्मेवारी बाँडफाँटबार बहस भइरहेको सन्दर्भमा निम्न विषयमा नेतृत्वको ध्यानाकर्षण गर्दछु ।
- कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचिका आधारमा जिम्मेवारी दिऔं।
- कुनै पनि व्यक्तिलाई स्थायी रूपमा कुनै जिम्मेवरी नदिऔं। हरेक एक वर्षमा सबैको जिम्मेवारी हेरफेर गरौं।
- पार्टीमा भूगोल, विभाग र फाँट गरी कामका तीन क्षेत्र छन्। रोटेसनका आधारमा एउटा व्यक्तिलाई तीनवटै क्षेत्रमा काम गर्ने अवसर दिऔं।
- प्रत्येक व्यक्तिको कार्य मूल्यांकनलाई वैज्ञानिक प्रणालीका आधारमा पारदर्शी बनाऔं। हरेक वर्ष व्यक्तिको मूल्यांकन प्रतिवेदन सार्वजनिक गरौं। त्यसका आधारमा पुरस्कृत र दण्डित गर्ने परिपाटी बसालौं।
- कुनै पनि व्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रूपमा दिएको होइन भन्ने कुरा बुझौं र बुझाऔँ ।

