आजको विश्वकप क्रिकेट : कोहली, केन, बुमराह र बोल्ट वरिपरि - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

आजको विश्वकप क्रिकेट : कोहली, केन, बुमराह र बोल्ट वरिपरि



(बीबीसी)

मङ्गलवारदेखि शुरू हुने विश्वकप क्रिकेट सेमिफाइनल खेलहरूका लागि रङ्गशालाको टिकट पाउन साढे छ लाख आवेदन परेका छन्।

पहिलो सेमिफाइनल मङ्गलवार भारत र न्यूजील्याण्डबीच हुनेछ भने दोस्रो सेमिफाइनल बिहीवार अस्ट्रेलिया र इङ्ग्ल्याण्डबीच हुनेछ।

ती खेलको टिकट मे २०१८ मै विक्रीका निम्ति खुला गरिएका थिए।

पूरै प्रतियोगिताको लागि ४० लाख टिकट आवेदन परेका थिए।

मौसम कस्तो होला?

मङ्गलवारको खेल ओल्ड ट्र्याफोर्ड रङ्गशाला म्यान्चेस्टरमा हुनेछ।

बीबीसी वेदरका जर्ज गुडफेलो भन्छन् मङ्गलवार अधिकांश बदली रहने र बेलाबेला घाम लाग्ने अनुमान गरिएको छ।

उनी भन्छन्: “मङ्गलवार दिनभर पटक पटक पानी पर्न सक्छ तर मूलत: ती वर्षा छोटो अवधिको हुनेछन्। त्यसैले खेलमा लामो असर पर्दैन होला।”

यसअघि लिग चरणमा भारत र न्यूजील्याण्डको खेल वर्षाका कारण हुन सकेको थिएन।

खेलको आकर्षण: केनविरुद्ध कोहली

एकैनासको प्रभावकारी खेल कौशलका हिसाबले भारत र न्यूजील्याण्डका कप्तान विराट कोहली र केन विलियम्सन शिखरमै छन्।

यी दुई प्रतिद्वन्द्वी टोलीको नेतृत्व गर्दै भिडेको एक दशक नाघिसकेको छ।

१९ वर्ष भन्दा कम उमेर समूहको सन् २००८ मा भएको विश्वकप सेमिफाइनलमा पनि यी दुई कप्तानको भेट भएको थियो।

त्यतिखेर कोहली विजयी भएका थिए। कोहली एक अलराउन्डरको रूपमा प्रस्तुत सो खेलमा विलियम्सन प्रारम्भिक ब्याट्सम्यान थिए।

त्यसयता दुवै जनाले ब्याट्सम्यानको रूपमा आ-आफ्नो देशको निम्ति निकै सफलता दिलाउँदै आएका छन्।

तर यसपटकको सेमिफाइनलको संघारमा भने दुवै जनाले एउटै कुरा गरे – यो विश्वकपमा नम्बर एक ब्याट्सम्यान त रोहित शर्मा हुन्।

भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले यो विश्वकपमा पाँचवटा शतक प्रहार गरिसकेका छन्।

अर्को आकर्षण: बुमराहविरुद्ध बोल्ट

मङ्गलवारको खेलमा बलिङको प्रतिस्पर्धा पनि निकै रोचक हुनेछ।

भारतका जस्प्रित बुमराह तथा न्यूजील्याण्डका ट्रेन्ट बोल्ट विश्व क्रिकेट जगतकै माहिर खेलाडीहरू हुन्।

आ-आफ्नो देशका निम्ति उनीहरू सबभन्दा खतरनाक बलर पनि हुन्।

यो विश्वकपमा बुमराहले १७ अनि बोल्टले १५ विकेट लिइसकेका छन्।

बोल्टलाई शुरूको बलिङको विशेषज्ञ मानिन्छ भने बुमराहलाई अन्तिम ओभरहरूमा निकै खतरनाक मानिन्छ।

इतिहास के छ?

भारत र न्यूजील्याण्डबीच विश्वकप क्रिकेटमा नतिजा निस्केका सात खेल भएका छन्।

ती सात खेलमध्ये चार खेलमा न्यूजील्याण्ड र तीन खेलमा भारत विजयी भएका छन्।

एकदिवसीय खेलहरूमा भने यी दुई टोली १०६ पटक आमनेसामने भएका छन्।

तीमध्ये ५५ खेलमा भारत र ४५ खेलमा न्यूजील्याण्ड विजयी भएका छन् भने एउटा खेला बराबरी भएको छ।

(तस्बिर, आइसिसी)