नेपाली दूतावास लिस्बोनको घुम्ती शिविर: घरदैलोमै सेवा पाउँदा सेवाग्राही मख्ख - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

नेपाली दूतावास लिस्बोनको घुम्ती शिविर: घरदैलोमै सेवा पाउँदा सेवाग्राही मख्ख



विशाल पाण्डे / पोर्चुगल
बर्दियाका किरण अधिकारी शनिबार दिउँसो ३ बजे मारिना दास ओन्दासमा एउटा कागजात हातमा समातेर निकै खुसी मुद्रामा हेरिरहेका थिए। पोर्चुगल आएको करिब ८ महिना मात्र भएका आफ्ना छोराको पासपोर्ट नवीकरण गर्न उनी त्यहाँ सञ्चालित घुम्ती शिविरमा आइपुगेका हुन्। छोराको पासपोर्टको म्याद अब ३ महिना मात्र बाँकी रहेको बताउँदै अधिकारीले भने, “छोराको स्कुल वा आफ्नो कामबाट बिदा मिलाएर लिस्बोनस्थित दूतावासमै जानुपर्ला भन्ने सोचेको थिएँ। तर, आफ्नै ठाउँमा यसरी सेवा पाउँदा न छोराको स्कुल छुट्यो, न त मेरो काम नै रोकियो।”

त्यस्तै, दार्चुलाका दीपककुमार ठगुन्ना पनि करिब २ घण्टा टाढा पर्ने कोन्तिनेन्ते भन्ने ठाउँबाट पासपोर्ट नवीकरणका लागि आएका थिए। त्यहाँको एक रेस्टुरेन्टमा कार्यरत ठगुन्ना लिस्बोनसम्म धाउनु नपरेकोमा निकै खुसी देखिन्थे। शनिबार पनि बिदा नभएकाले साँझ फेरि काममा फर्कनुपर्ने बाध्यताका बीच नजिकै सेवा पाएकोमा उनले नेपाली राजदूतावास लिस्बोनलाई धन्यवाद दिए। यसैगरी, दाङका विकास शाहीले पनि घरदैलोमै सेवा उपलब्ध गराइदिएकोमा समय र पैसा दुवैको बचत भएको बताए। उनीहरू त केवल प्रतिनिधि पात्र मात्र हुन्; पछिल्लो समय नेपाली दूतावास लिस्बोनले विभिन्न क्षेत्रमा सञ्चालन गर्दै आएको घुम्ती शिविरले त्यहाँका आम सेवाग्राहीलाई निकै खुसी तुल्याएको छ।

नेपालीहरूलाई सहज र सरल रूपमा सेवा उपलब्ध गराउने योजना अनुरूप दूतावासले राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी विभिन्न ठाउँमा घुम्ती शिविर सञ्चालन गरिरहेको नेपाली दूतावास लिस्बोनका राजदूत प्रकाशमणि पौडेलले बताए। शिविरमा राहदानीको म्याद सकिएका, क्षति भएका, हराएका, प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) प्रमाणीकरण, पारिवारिक कागजात प्रमाणीकरण, शैक्षिक प्रमाणपत्र प्रमाणीकरण तथा राहदानी वितरण लगायतका कन्सुलर सेवाहरू प्रदान गरिएको राजदूत पौडेलले जानकारी दिए।

लिस्बोनस्थित नेपाली दूतावासले शनिबार र आइतबार गरी दुई दिन सञ्चालन गरेको घुम्ती शिविरबाट त्यस क्षेत्रका कुल ८२ जना नेपाली सेवाग्राही लाभान्वित भएका छन्। घुम्ती शिविरबाट ३६ जना नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरण (बायोमेट्रिक) सहितको आवेदन सङ्कलन गरिएको दूतावासका प्रथम सचिव रामबाबु नेपालले जानकारी दिए। उनका अनुसार तीमध्ये २० जनाको कागजात प्रमाणीकरण, १ जनाको हराएको पासपोर्ट, र ३ जना बालबालिकाको विद्युतीय राहदानीका लागि आवेदन प्राप्त भएको छ। त्यस्तै, शिविरबाट ९ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र, ११ जनाको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण र २ जनालाई राहदानी वितरण गरिएको सचिव नेपालले बताए।

दूतावासले सुरु गरेको घरदैलो सेवामा सहकार्य गर्दै सेवाग्राहीलाई सहयोग गर्न पाएकोमा ‘नेपाली समाज मारिना दास ओन्दास’का अध्यक्ष राधे गिरीले खुसी व्यक्त गरेका छन्। गिरीले घुम्ती सेवालाई सफलतापूर्वक सम्पन्न गर्न खटिने नेपाली समाजका सम्पूर्ण पदाधिकारी तथा व्यवस्थापनमा सहयोग गर्ने सबैप्रति धन्यवाद समेत व्यक्त गरे। यसैगरी, दूतावासले मदेइराको फुन्चालमा आगामी जुन ५ र ६ तारिखका दिन तथा भौगोलिक रूपमा टाढा रहेको अजोर्सको पोन्टा डेल्गाडा आइल्यान्डमा पनि जुन २० र २१ तारिखमा दुईदिने शिविर तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जनाएको छ।

श्रमिक सुरक्षा र सचेतनासम्बन्धी अन्तरक्रिया सम्पन्न

नेपाली राजदूतावास लिस्बोनद्वारा श्रमिक सुरक्षा, जनचेतना, नेपाल प्रवर्द्धन तथा दूतावासबाट प्रवाह हुने सेवाहरूका सम्बन्धमा एक अन्तरक्रिया तथा छलफल कार्यक्रम समेत सम्पन्न भएको छ। दुईदिने शिविरको समापनपछि आयोजित उक्त कार्यक्रममा दूतावासका प्रथम सचिव रामबाबु नेपालले नेपाल र पोर्चुगलबीचको कूटनीतिक सम्बन्ध, लिस्बोनमा राजदूतावासको स्थापना, नेपाल प्रवर्द्धन तथा सम्बन्ध विस्तार र दूतावासले दिने सेवाहरूबारे विस्तृत जानकारी गराएका थिए।

कार्यक्रममा सहभागीहरूले नेपाली दूतावासद्वारा सञ्चालित घुम्ती सेवा निकै प्रभावकारी बन्दै गएको बताए पनि प्रहरी रिपोर्ट लगायतका अन्य कन्सुलर सेवाहरूको शुल्क महँगो भएको गुनासो गरेका थिए। छलफल कार्यक्रममा बोल्दै राजदूत प्रकाशमणि पौडेलले शुल्कका विषयमा अन्य ठाउँहरूबाट पनि व्यापक गुनासो आएको स्वीकार गरे। राजदूत पौडेलले भने, “यो मन्त्रिपरिषद्ले निर्णय गर्ने विषय भएकाले दूतावास आफैँले शुल्क कम गर्न सक्दैन। तर, यसबारे हामीले नेपाल सरकारलाई जानकारी गराइसकेका छौँ, आगामी दिनमा के निर्णय हुन्छ हेरौँ।”

साथै, राजदूत पौडेलले पोर्चुगलमा बस्ने सम्पूर्ण नेपालीहरूलाई आफ्नो खाली समयमा पोर्तुगिज भाषा तथा विभिन्न सीपमूलक तालिमहरू सिक्न आग्रह समेत गरे। पोर्चुगलमा हाल करिब ६० हजारभन्दा बढी नेपालीहरू रहेको अनुमान गरिएको छ। दूतावासले यसअघि पोर्चुगलको फारो, मदेइरा, पोर्तो र जम्बुजिरामा समेत सफलतापूर्वक घुम्ती शिविर सञ्चालन गरिसकेको छ।