१० लाख ४४ हजार विद्यार्थी कहाँ गए ? - गगन थापा - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

१० लाख ४४ हजार विद्यार्थी कहाँ गए ? – गगन थापा



काठमाडौँ –

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली काङ्ग्रेसका सांसद गगन थापाले १२ वर्षको अवधिमा उच्च माध्यमिक तहमा मात्र १०,४४,००० विद्यार्थी हराएको बताएका छन्। उनले ०६४ मा कक्षा १ कक्षामा भर्ना भएकामध्ये १२ को परीक्षासम्म आइपुग्दा १०,४४,००० विद्यार्थी हराएको बताएका हुन्।

सांसद थापाले भने, “०६४ सालमा १ कक्षामा १३ लाख विद्यार्थी भर्ना भए। अहिले ०७६ सालमा १२ कक्षाको परीक्षा दिँदै गर्दा २,९०,००० मात्र बाँकी रहे। १०,४४,००० विद्यार्थी हराए। विद्यालयमा नटिक्ने विद्यार्थीहरू कसका छोराछोरी हुन् ? तपाईं–हाम्रा पक्कै होइनन्। जो विद्यालयमा टिकेका छन् उनीहरूले कति सिके भनेर हेऱ्यौँ भने सरकार भन्छ– कुनै पनि विद्यार्थीले कुनै पनि विषयमा ५०% भन्दा बढी सिकेन।”

अङ्ग्रेजी, गणित र विज्ञानको शैक्षिक उपलब्धि हेर्दा सिकाइ झन् कम भएको र ती नसिक्ने विद्यार्थीहरू पनि सांसदका सन्तान नभएको उनको जिकिर छ। देशमा ३६,००० भन्दा बढी प्रारम्भिक बाल विकास केन्द्र रहेका र तिनमा योग्य शिक्षकले नभई ८ कक्षा उत्तीर्ण गरेकाहरूले ६ हजारभन्दा कम तलबमा पढाइरहेको थापाले बताए।

“तर, संविधानले यसो गर्न पाइँदैन भन्छ। लेखेको कुरा जे छ, त्यो हामी गरिरहेका छैनौँ। यो राष्ट्रिय लज्जाको विषय हो,” उनको भनाइ थियो।