अमेरिकासँग लड्न उत्तर कोरियाका ८ लाख युवाले टिपाए नाम - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

अमेरिकासँग लड्न उत्तर कोरियाका ८ लाख युवाले टिपाए नाम



एजेन्सी- उत्तर कोरियाका ८ लाख युवाले ‘अमेरिकी साम्राज्यवाद’ सँग लड्न स्वयंसेवक बन्ने निर्णय गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले बताएका छन्।

यो वर्ष उत्तर कोरियाले कीर्तिमानी संख्यामा क्षेप्यास्त्र परीक्षण गर्नुका साथै आणविक हतियार प्रयोगको धम्की पनि दिइरहेको छ।

पछिल्लो समय दक्षिण कोरिया र अमेरिकाले सैन्य सहकार्य पनि बढाइरहेका छन्। यही साता यी दुई मुलुकले गत पाँच वर्षकै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेका छन्।

यी सबै अभ्यासलाई उत्तर कोरियाले आक्रमणको पूर्वाभ्यास भन्ने गरेको छ। त्यसको जवाफ दिने चेतावनी पनि उसले दिँदै आएको छ।

जारी सैन्य अभ्यासलाई सरकारी न्युज एजेन्सीले आणविक युद्ध उक्साउने अमेरिकाको प्रयास भनेको छ। त्यसैले अमेरिकासँग लड्न लाखौँ मानिसले नाम टिपाएको उसले जनाएको छ।

‘८ लाखभन्दा बढी युथ लिगका अधिकारी र विद्यार्थीहरु कोरियाली सेनामा भर्ती हुन तयार छन्,’ केसीएनएले भनेको छ, ‘उनीहरु युद्ध उन्मादीहरुलाई निर्दयतापूर्वक नामेट पार्न र मुलुकको रक्षा गर्न दृढ छन्।’

बिहीबार मात्रै उत्तर कोरियाले आफ्नो सबैभन्दा शक्तिशाली ह्वसङ–१७ क्षेप्यास्त्र परीक्षण गरेको थियो।