नेपाल सरकारले दुर्व्यवहार गरेको अमेरिकी दूतावाशको आरोप - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

नेपाल सरकारले दुर्व्यवहार गरेको अमेरिकी दूतावाशको आरोप



काठमाडौं –

नेपाल सरकारले आफ्ना नागरिकमाथि गरेको व्यवहारबाट आफूहरू मर्माहत भएको अमेरिकी राजदूतावासले जनाएको छ।

शनिबार नेपाल आइपुगेका अमेरिकी नागरिक पेम्पा छिरिङलाई त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयले नियन्त्रणमा लिएको थियो। चिनियाँ दूतावासले गरेको आग्रहअनुसार अध्यागमन कार्यालयले पेम्पालाई नियन्त्रणमा लिएको हो।

चिनियाँ दूतावासले भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामाले बनाएको सरकारमा सभामुख भइसकेका पेम्पा छिरिङ नामका व्यक्तिलाई नेपाल प्रवेश नदिन नेपाल सरकारलाई आग्रह गरेको थियो।

नेपाल एक चीन नीतिमा प्रतिबद्ध भएका कारण अध्यागमन कार्यालयले छिरिङलाई कालो सूचीमा राखेको छ। तर शनिबार नेपाल आएका छिरिङ दलाई लामाको सरकारका सभामुख थिएनन्। उनी अमेरिकी नागरिक थिए।

उनको नाम र उमेर पनि लगभग मिल्थ्यो। त्यही आधारमा  अध्यागमन अधिकारीले पेम्पा छिरिङलाई नियन्त्रणमा लिए र केही घन्टा सोधपुछ गरेपछि फिर्ता पठाइदिए।

सो घटनाप्रति अमेरिकी दूतावासले गम्भीर चासो देखाउँदै घटनाबाट आफूहरू मर्माहत भएको जनाएको हो। दूतावासकी प्रवक्ता एन्डी डी आर्मेन्टले भनिन्- ‘विदेशी सरकारको अनुरोधअनुसार नेपाल आउन चाहने अमेरिकी नागरिकलाई नेपाल सरकारले फिर्ता पठाइदिएको घटनाले दूतावास मर्माहत भएको छ।’

घटनाबारे नेपाल सरकारसँग  थप तथ्यहरू सङ्कलन गरिरहेको जानकारी पनि उनले दिइन्।

उनले भनिन्, ‘यो विशेष घटनाको तथ्यबारे हामीले नेपाल सरकारसँग प्रष्ट पार्न भनेका छौँ। के नेपाल आउन चाहने अमेरिकी नागरिकले कुनै विदेशी सरकारहरूबाट स्वीकृति लिनुपर्ने हो?’