विज्ञापन विवादित भए पनि लोकसेवामा आवेदन ओइरिँदै - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

विज्ञापन विवादित भए पनि लोकसेवामा आवेदन ओइरिँदै



स्थानीय तहका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन विवादको टुङ्गो नलागे तापनि आवेदन दिनेहरू दैनन्दिन बढिरहेका छन्।

सो विज्ञापन समावेशी नभएको भन्दै संसदको राज्यव्यवस्था तथा सुशासन समितिले स्थगित गर्न निर्देशन दिइसकेको छ। विज्ञापनका विषयमा लिएर सर्वोच्चमा रिट पनि परेको छ।

अहिलेसम्ममा ३ लाख ८३ हजार ४ सय ९५ जनाले आवेदन भरिसकेका छन्। आवेदन दिने समय अझै एक सातासम्म भएकोले यो सङ्ख्या  निश्चय पनि बढ्नेछ।

आवेदन दिनेमध्ये खुलामा ३ लाख ७८ हजार ६ सय २२, महिलातर्फ ९२ हजार ३ सय ६०, आदिवासी जनजातितर्फ ३९ हजार २ सय ३२ हजार, मधेशीतर्फ २२ हजार ४ सय ७३, दलिततर्फ २ हजार ७ सय ९७, अपांगतर्फ १३७ र पिछडिएका क्षेत्रतर्फ १०७ जनाको आवेदन परेको छ।

‘यो सङ्ख्या बुधबार विहान ११ बजेसम्मको हो। अनलाइन आवेदन दिनेको सङ्ख्या बढिरहेको छ,’ आयोगका शाखा अधिकृत नारायणप्रसाद पोखरेलले जानकारी दिए।  आयोगले ९ हजार १ सय ६१ पदमा जेठ १५ गते विज्ञापन खुलाएको थियो।

आयोगले विज्ञापन खुलाउँदा ५५% खुला र ४५% समावेशी बनाउनुपर्ने संवैधानिक प्रावधान छ। यसो गर्दा, ९ हजार १ सय ६१ सङ्ख्यामध्ये समावेशीका लागि ४ हजार १ सय २२ पद हुनुपर्ने थियो जुन ४५% हो।

तर आयोगले २ हजार २ सय ६२ मात्रै समावेशीका लागि छुट्याएको भएको भन्दै सत्तापक्ष-प्रतिपक्ष दुवैले विरोध गर्दै आएका छन्। आयोगले भने विज्ञापन संविधानअनुसार भएकोले नरोकिने बताउँदै आएको छ।