मलाई हराउन आन्तरिक र बाह्य षडयन्त्र भए- उपेन्द्र यादव - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

मलाई हराउन आन्तरिक र बाह्य षडयन्त्र भए- उपेन्द्र यादव



काठमाडौं–अघिल्लो निर्वाचनमा राम्रो जनमत पाएको क्षेत्रबाट यसपटक लज्जास्पद पराजय भएपछी उपेन्द्र यादवले चुनावी परिणाम रहस्यमयी भएको बताएका छन्। जनमत पार्टीका सिके राउतसँग सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका उनले चुनावी परिणाम निकै रहस्यमयी भएको बताएका हुन् ।

यद्यपि आफूहरुले जनताको निर्णयको सम्मान गर्ने उनको भनाइ छ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष समेत रहेका यादवले चुनावमा भएका आन्तरिक र बाह्य षड्यन्त्रको सुइको आफूले पनि पाएको बताएका छन्।

‘चुनाव एउटा राजनीतिक प्रक्रिया हो। जसमार्फत् जनताले आफ्नो प्रतिनिधि छान्ने हो। चुनावमा भएका आन्तरिक र बाह्य षडयन्त्रको सुईको मैले पनि पाएको छु। यसको पनि मूल्याङ्कन हुने नै छ। र, कुनै पनि खालको हस्तक्षेप हामीलाई स्वीकार्य छैन,’ यादवले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भनेका छन्, ‘यस चुनावको परिणाम रहस्यमयी रहे तापनि हामी जनताको निर्णयको सम्मान गर्दछौँ। नव निर्वाचित जनप्रतिनिधिहरूलाई हाम्रो साथ सहयोग रहने नै छ।’

यस्तो छ यादवको सन्देश:
मुलुकमा पञ्चायती व्यवस्था, निरङ्कुश राजतन्त्र भएको बेला जनतालाई लोकतन्त्र, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता लगायतका मौलिक हकहरूबाट वञ्चित गरिएको थियो। उक्त निरङ्कुश शासनको विरुद्धमा वामपन्थी राजनीतिक धारबाट प्रेरित भइ विद्यार्थी राजनीतिमार्फत् संघर्ष सुरु गरेको थिए।

२०३२ सालको विद्यार्थी आन्दोलनमा सक्रियतापूर्वक भाग लिएकोले तत्कालीन शासकहरूको आदेशमा पहिलो पटक जेल परे। त्यसपछि निरन्तर रूपमा लोकतन्त्र, बहुदलीय व्यवस्था, जनताको अधिकार, समानता तथा सिमान्तिकृत वर्गको उत्थानको लागि सकृय राजनीतिमा लागी संघर्ष जारी नै राखे।

२०३६ सालको विद्यार्थी आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गर्ने अवसर पाएँ। यसरी वामपन्थी राजनीतिमार्फत् अगाडि बढ्दै जाँदा विभिन्न अवरोधहरूको पनि सामना गर्नुपर्‍यो। २०४२ सालमा पञ्चायती व्यवस्थाको विरुद्धमा लोकतन्त्र बहालीको लागि लड्ने क्रममा काठमाडौंको केन्द्रीय कारागारमा र २०४६ सालमा आन्दोलनको क्रममा विराटनगरबाट पक्राउ परि धनकुटा जेलमा बन्दी जीवन बिताउनु पर्‍यो।

देशमा बहुदलीय व्यवस्था आइसक्दा पनि मधेसी, आदिवासी जनजाति, दलित, थारु, मुस्लिम लगायतका सीमान्तकृत समुदायहरू या बहिष्करणमा पारिएका समुदायहरूको पहिचान, अधिकार, प्रतिनिधित्व, समावेशिता लगायतका सवालहरू सम्बोधन हुन सकेको थिएन। उनीहरूलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरिँदै थियो। मधेसी समुदायलाई विदेशी, मदिसे, धोती, बिहारी जस्ता अपमानजनक शब्दहरू प्रयोग गरी सम्बोधन गर्ने कार्यहरू हुँदै थियो। उनीहरू अपमानित र अपहेलित जीवन बिताउन बाध्य थिए।

राज्यको दोहोरो चरित्रको विरुद्धमा एउटा लडाइँ अपरिहार्य रहेको महसुस गर्दै तत्कालीन मधेसी जनाधिकार फोरमको नेतृत्वमा ऐतिहासिक मधेस जनविद्रोहको संखनाध गर्‍यौँ। र, मधेसी जनाधिकार फोरमको अध्यक्षको हैसियतले मैले नेतृत्व गरेको मधेस जनविद्रोह सफलतापूर्वक अगाडि बढ्यो। संविधान सभा भित्र र बाहिर रहेर देशको सम्पूर्ण वर्ग र समुदायले स्वामित्व ग्रहण गर्ने संविधान जारी गर्न हामी अन्तिम समयसम्म पनि संघर्ष जारी राख्यौँ। त्यही संघर्षको उपलब्धि स्वरूप आज यतिसम्मको संविधान बन्न सक्यो। नत्र यो पनि सम्भव थिएन। आज संघीयता, गणतन्त्र, समावेशिता, मौलिक हक र सामाजिक न्याय जस्ता उपलब्धिहरू ऐतिहासिक मधेस जनविद्रोहकै देन हो।

तथापि यो संविधान त्रुटिपूर्ण छ, संविधानमा असमानताहरू रहेका छन्। अझै पनि संघीयता वास्तविक रूपमा संघीयता जस्तो हुन सकेको छैन। प्रदेशलाई अधिकार सम्पन्न र बलियो बनाउन सकिएको छैन। हरेक समुदायले जनसङ्ख्याको आधारमा प्रतिनिधित्व गर्न पाउने अधिकार सुनिश्चित भइसकेको छैन। यस संविधानले विभिन्न राष्ट्रियताहरू जातीय समुदायहरूको पहिचानलाई सम्बोधन गर्न सकेको छैन। बहुभाषिक नीतिलाई राम्ररी अवलम्बन गरी अभ्यासमा ल्याउन सकेको छैन। यस संविधानले अझै पनि गलत शासकीय स्वरूपलाई अङ्गालेको छ। विकृतिमूलक निर्वाचन प्रणाली अपनाएको छ। स्वतन्त्र न्यायालय भए तापनि न्यायालयसम्म सबै नागरिकको पहुँच हुने गरी संरचना बनाउन सकिएको छैन। जसले गर्दा न्याय पाउने आधारभूत अधिकारबाट आज पनि लाखौँ जनता वञ्चित हुनुपरेको छ। त्यसैले संविधान संशोधन र परिवर्तनको लागि हामी अझै पनि संघर्षरत छौँ।

बहिस्करणमा पारिएका जनसमुदायहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, न्याय इत्यादि आधारभूत आवस्यक्ताप्रति हामी सुरुदेखि नै प्रतिबद्ध थियौँ, छौँ र रहने छौँ। अबको प्रयास भनेको प्राप्त उपलब्धिहरूको संरक्षण र बाँकीको लागि संघर्ष गर्दै आर्थिक उन्नति मार्फत समतामूलक विकासकै लागि हो।

मधेस विश्वविद्यालय, मधेस प्रदेश कृषि विश्वविद्यालय, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ कलेज र ईन्जीनियरिङ कलेज, सडक सञ्जाल, शिक्षामा छात्राहरूको पहुँच लगायतका प्रयासहरू यसै उद्देश्य पूर्तिको पूर्वाधारहरू हुन्। अन्य कतिपय योजनाहरू पनि पूरा भइसकेको वा हुने क्रममा रहेको सर्वविदितै छ।

चुनाव एउटा राजनीतिक प्रक्रिया हो। जसमार्फत् जनताले आफ्नो प्रतिनिधि छान्ने हो। चुनावमा भएका आन्तरिक र बाह्य षडयन्त्रको सुइँको मैले पनि पाएको छु। यसको पनि मूल्याङ्कन हुने नै छ। र, कुनै पनि खालको हस्तक्षेप हामीलाई स्वीकार्य छैन। यस चुनावको परिणाम रहस्यमयी रहे तापनि हामी जनताको निर्णयको सम्मान गर्दछौँ। नवनिर्वाचित जनप्रतिनिधिहरूलाई हाम्रो साथ सहयोग रहने नै छ। सम्पूर्णमा सुखद कार्यकालको शुभकामना व्यत्त गर्दछु।

निर्वाचनमा सहभागी मतदाताहरू, सहकार्य तथा प्रतिस्पर्धामा रहेका विभिन्न दल र त्यसका नेताहरू, निर्वाचन आयोगका कर्मचारीहरू, सुरक्षाकर्मीहरू, पत्रकार तथा पर्यवेक्षकहरू लगायत सम्पूर्ण सहयोगी संस्थाहरू, निर्वाचन अवधिभर अहोरात्र खट्नुहुने युवाहरू, प्रचारप्रसारलाई रचनात्मक बनाउन सहयोग गर्नुहुने गायक तथा सङ्गीतकर्मीहरू लगायत सबैमा विशेष धन्यवाद ज्ञापन गर्दछु।

अन्त्यमा, यस निर्वाचनको नतिजाले हाम्रो संघर्ष यात्रालाई कुनै असर पार्ने छैन। एक इन्च पनि तलमाथि नभइकन जनताको म्यान्डेटअनुसार हामी हाम्रो मिसनमा लागिरहने छौँ। बरु विगतको समीक्षा गर्दै हाम्रो प्रयास झन् सशक्त हुने विश्वास दिलाउन चाहन्छु। धन्यवाद।