उपेन्द्र र बाबुराम नेकपामा आउने सङ्केत - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

उपेन्द्र र बाबुराम नेकपामा आउने सङ्केत



-काठमाडौं

अहिले नेकपाभित्र आन्तरिक विवाद व्याप्त छ। यस्तो बेला नेकपाको एक पक्षले उपेन्द्र यादव/बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीसँग एकताको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

वास्तवमा भन्दा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समाजवादी पार्टीसँग एकता गर्नुपर्ने पक्षमा छन्। माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई समेत प्रचण्डले त्यसमा सहमत गराइसकेको दाबी स्रोतको छ। स्रोतअनुसार अनौपचारिक च्यानलमार्फत प्रचण्ड–बाबुराम–उपेन्द्रबीच एकता वार्ता अघि बढेको छ। त्यसबारे दुवै पक्षले केही बताएका भने छैनन्। बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डे केही दिनदेखि एकताको वातावरण बनाउन भित्रभित्रै सक्रिय रहेका छन्। यसैबीच पाण्डेले नेकपाका दोश्रो पुस्ताका नेताहरूसँग छलफल पनि गरेका छन्।

पाण्डेसँग भेटेका नेकपाका एक नेताले भने, ‘२०५२ सालपछिका परिवर्तनकारी शक्तिबीच एकता हुनुपर्छ भन्ने उहाँहरूको जोड रहेछ।’ नेकपाको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद उल्लेख गरेर अघि बढ्नुपर्ने प्रस्ताव प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीले गरेपछि प्रचण्ड झस्किएका छन्। उनले दुई पार्टीबीच एकता गर्दा भएको सहमतिअनुसार तत्कालको पार्टीको अन्तरिम कार्यदिशा ‘समावजाद उन्मुख जनताको जनवाद’ हुनुपर्ने मा माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई समेत सहमत गराएका छन्। उनीहरूकै असहमतिका कारण शुक्रबारको सचिवालय बैठकमा ओलीले गरेको बहुदलीय जनवादको प्रस्तावमा सहमति जुट्न सकेन। यस्तै आलोपालो सरकारको नेतृत्वबारे पनि प्रचण्ड-ओली विवाद सतहमै आएको छ। सार्वजनिक भएको गोप्य दस्तावेजले पाँच वर्षे कार्यकालमा सरकारको नेतृत्व दुई नेताले आलोपालो गर्नेबारे बोलेको छ। तर, प्रधानमन्त्रीको पक्षका केही सदस्यले भने त्यस्तो सहमति हुँदै नभएको जिकिर गरेका छन्।