कविता : झरी परेको दिन - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

कविता : झरी परेको दिन



~उमेश राई अचिञ्चन~

सेतो बादलको सारीमा
सजिरहने सुन्दरीझैँ
दिनको उदासी अनुहारमा हेरेर
विदेशिएको श्रीमान्‌को याद
बिरही सम्झनामा
सम्हाल्न नसकेर परेलीहरू
निलो तलाउको किनारा फुटाएर
रोइरहन्छ आकाश
झरी परेको दिन

आँखाको एल्बममा पट्ट्याइएको
अतीत फुकाउँदै
पर–पर क्षितिजका
जुन ताराहरू
आफू समिप उतारेर
दोछायाँका बत्तीहरू
हेरेर जमेको पानीमा
एउटा प्रेम पिडित सङ्गीतकारझैँ
बिरही धुन बजाइरहन्छ झरी
पातका हारमोनियमहरूमा

समयको निधारमा
अभागी पदवी पाएर
अस्तित्वविहीन परिचय बोकेर
सीमाना–सीमाना चाहार्ने
शरणार्थीझैँ बादल
छुटेका आफन्त र देश सम्झिएर
मनको गिर्जाघरमा
प्रार्थनाको मैनबत्ति बाल्नुअघि
सल्काउँछु आँसु
खरानी बनाउँछ दिन
तुपतुप…तुपतुप…
पग्लिँदै जान्छ बलेसी
झरी परेको दिन

आफूलाई समयको ऐनामा हेरेर
अर्थहीन बिगत छामेर
नीलो, रातो, हरियो प्रेमपत्रमा
कसमका बासी आश्वासनहरू
रङ्हीन आँसुले पखाल्ने युवतीझैँ
उमङ्ग पखालिएको मन बोकेर
रङ्गीविरङ्गी छाताहरूको
फूलबारी बनाएर सडक
कत्तिको आँखामा पारेर
सम्झनाको चट्याङ्ग
झरीमा नुहाउँदै बिलाउँछ दिन
बादलका घुम्टोहरू

-0-