२०७६ जेष्ठ १३, सोमवार

कथा : सयौँ पुतली

May 9, 2019
136 Views

– उमा सुवेदी

कर्किनी आमै। हाल समाजले उनलाई दिएको नाम यही थियो र यसमा उनलाई कुनै गुनासो पनि थिएन।

ललितपुरको दक्षिणतिर पर्ने छम्पी गाउँको काँचो इँटा र माटोले बनेको पुरानो शैलीको त्यो घरमा उनले जीवनका सत्तरी वर्ष बिताइन्। उनी अहिले असी लागिन् तर अझै पनि आफैँ पकाएर खान्छिन्। भन्छिन्, ‘हात पाखुरा लागुन्जेल अर्काको भर पर्नुहुँदैन।’

उनका बारीमा मकैका लामालामा घोगा फल्थे। फर्सीका मुन्टा लहलह लहरिन्थे। उनका बारीमा फलेका फूलकोपी र बन्दाकोपीका डल्ला अरूका बारीमा भन्दा दुगुना ठूला हुन्थे। वर्षैभरि उनका बारीमा सिजन अनुसारका सागपात हलहल लहरिरहेका हुन्थे। बारीको छेउमा सानो कटेरो बनाएर एउटा गाई पनि पालेकी थिइन्। गाई ब्याउन छोड्यो। गाईको चाकर गर्न उनी नसक्ने भइन्। आँखाभरि आँसु पार्दै पोहोर साल मात्र त्यो गाईलाई सदाका लागि फुकुवा गरिदिइन्।

उनी राजधानीसँगै जोडिएको जिल्ला नुवाकोटको तारूकामा जन्मिएकी हुन्। अँध्यारो अनुहार पारेर उनले एक दिन भनेकी थिइन्, ‘म त माघे सङ्क्रान्तिमा जन्मिएकी थिएँ। गाउँमा गोरू जुघाउने खेल हुँदै थियो। मेरा बाले पनि माघे सङ्क्रान्तिको मेलामा जुधाउनकै लागि भनेर गोरू पालेका थिए। असाध्यै जब्बर गोरू थियो रे। मेलामा जुद्धाजुद्धै गोरूको सिङ भाँच्चियो। बाले पालेको गोरू हाऱ्यो। मेलाबाट फर्किने बेलामा गोरू बौलायो। उसले मेरा बालाई हिर्काएर भिरबाट लडाइदियो। बा ठाउँको ठाउँ ठहरै भए। जन्मँदै टुहुरी भएकी थिएँ म।’

आफ्नो न्वारानको नाम त उनैलाई पनि थाहा छैन। होस समाल्दा उनले सुनेको आफ्नो नाम थियो – सेती।

‘आइमाईको एउटै नाम काँ हुन्छ र ?’ उनको सक्कली नाम सोध्‍नेलाई यसै भन्थिन्।

खिरिलो सानो शरीर। पातला ओठमाथि चुच्चो नाक। गहिरो खाडलभित्र टल्किएका जूनकिरीजस्ता आँखा। अनि सयौँ मुजा परेको उनको अनुहार। तर नियालेर हेर्दा उनको त्यही मुहारभित्र अर्को मुहार लुकेको जस्तो लाग्थ्यो। एउटा उज्यालो र मुलायम मुहार। रहर र सपनाहरूले भरिएको अर्को मुहार।

कर्किनी आमै बिहानदेखि बेलुकासम्म सागबारी खनीखोस्री गर्थिन्। अहिलेसम्म उनको जाँगरलाई कुनै रोगले आफ्नो जालमा पार्न सकेको थिएन। उनको जाँगरभन्दा सुन्दर त बोली थियो। हो, त्यही बोलीको प्रभावले तानिँदै म उनको सागबारीसम्म पुग्थेँ, एक मुठो साग किन्न।

त्यस दिन पनि म उसै गरी कर्किनी आमैको बारीमा पुगेँ। साग किनेपछि मैले दिएको पैसालाई उनले आफ्नो पटुकीको एकातिरको फेरमा जतनसाथ गाँठो पारिन् र जीवनले दिएको दुर्भाग्यलाई अर्को फेरबाट फुकाउँदै लगिन्। मलाई उनको यो गतिविधि कलात्मक लाग्यो। त्यही पटुकीमा उनको आत्मविश्वास र आत्मसम्मान बाँधिएको अनुभव भयो।

उनले जीवनको धेरै लामो काल खण्डसम्म आफ्नो दुर्भाग्यलाई बिहानै उठेर फेर्ने मैलो धोतीको फेरसँगै लतार्दै घिसार्दै आएकी थिइन्। भोकले तिनको पेट खुकुलिँदा बेला कुबेला ती दुर्भाग्यहरू छरपस्ट भइदिन्थे। तर समयसँगै कनिकाझैँ छरिएका आफ्ना दुर्भाग्यका बिस्कुनलाई जसोतसो बटुल्दै यो उमेरसम्म आइपुगेकी थिइन्।

००

बा मरेपछि उनकी आमा तारूकामा बस्न सकिनन्। जोरीपारीले टिक्नै दिएनन्।  अन्ततः उनकी आमा आरूबारीतिरका एक जना अधबैँसेसित गइन्। उनले अब सानै उमेरमा सौतेनी बातिरका भाइबहिनी स्याहार्नुपर्ने भयो। उनलाई झुम्राका पुतलीसँग खेल्ने धित मरेकै थिएन। एक दिन उनलाई सौतेला बाले फकाउँदै भने, ‘काठमान्डुमा त कति धेरै पुतली पाइन्छ ! पुतली किन्न जान्छेस् सेती ?’

त्यतिबेला उनको खुसीको कुनै सीमा रहेन। दौडिइन् आफ्ना दामले साथीहरूलाई यो खबर सुनाउन। सेती पुतली किन्न काठमाडौँ जाने कुरामा उनी जत्तिकै खुसी भए उनका साथीहरू पनि। साथीहरूलाई पनि पुतली ल्याइदिने वाचा गरिन् सेतीले।

काठमाडौँ उनका लागि सपनाको सहर थियो। त्यहाँको भव्यता र रौनकका बारेमा उनले धेरै सुनेकी थिइन्। तर देखेकी थिइनन्। अत्यन्तै उत्साहका साथ सौतेला बा र आमासित नुवाकोटबाट काठमाडौँ आइन् सेती। तर काठमाडौँमा उनले कतै पनि पुतली देख्‍न पाइनन्। बरु उनी आफैँ बाआमाको हातको पुतली भइन्। उनलाई बाआमाले गुहेश्वरी मन्दिरमा टिकोटालो गरेर एउटा वयष्क युवकको हातमा सुम्पिदिए।

त्यसपछि उनी आफूभन्दा दोब्बर उमेरको जब्बर कार्की माइलाको हातको पुतली भइन्। रूँदै र लुरूलुरू मसिना पाइला टेक्दै कार्की माइलाको पछिपछि छम्पी आइपुगिन्। उनी अब नुवाकोटकी सेतीबाट कर्किनी माइली भइन्। काठमाडौँ त देखिन् उनले तर उनलाई काठमाडौँले प्रभावित पारेन। उनले घण्टाघर देखेको दिनदेखि नै उनको दुर्भाग्यका समय सुरु भए। उनी धरहरानिर उभिएको दिनदेखि उनको अस्तित्व बामपुड्के भयो। न्युरोड, र आसपासको भव्यताले उनी मूल्यहीन भइन्। उनी नुवाकोट हुँदा काठमाडौँलाई सपनामा देख्थिन्। तर, काठमाडौँ आएपछि उनलाई आफ्नै सपनाले तर्सायो। सोचिन् सपना त तर्साउने कुरा पो रहेछ।

छम्पीमा उनको घरनजिकै एउटा पुरानो दह थियो। उनी जबजब त्यो दहतिर हेर्थिन्, उनलाई आफ्नो जीवन दहझैँ स्थिर लाग्थ्यो। दहमा सिमकुखुराहरू ओहोरदोहोर गरेर वातवरणलाई रमणीय बनाउँथे। तर उनको जीवनमा दुर्भाग्यको आवतजावत बाहेक केही भएन।

कर्किनी माइलीले आफ्नो कर्मघरको भान्सामा बिहानबेलुका धुँवाउँदै बलेको आगाको न्यानो त तापिन् तर त्यस घरमा बस्ने आफन्तको साथ र न्यानोपन कहिल्यै महसुस गर्न  पाइनन्। बिहान चार बजेदेखि उठेर घरधन्दामा लाग्दा पनि बेलुकाको धन्दा सक्दा आधा रात भइसक्थ्यो। थकाइ मेट्न यसो ढल्केकी मात्र के हुन्थिन्, कोठामा रक्सीको गन्ध र लोग्‍नेको गाली एकैपल्ट हुत्तिँदै आइपुग्थ्यो। लोग्‍ने घर पस्दा झुपडीमा बाढी पसेजस्तो अनुभव हुन्थ्यो कर्किनी माइलीलाई। कार्की माइलो कराउँथ्यो, ‘ए रन्डी, लाज सरम हरायो तेरो ? लोग्‍ने भनेको भगवान् हो भन्ने थाहा छैन तँलाई ? तेरी आमाले केही सिकाइन तँलाईँ ? भगवान्‌लाई नपर्खी सुत्छेस् ?’

अनि सुरुवालको तुना खोल्दै देखाउँथ्यो, ‘यो हो तेरो लोग्‍ने। ढोग् यसलाई।’

ऊ त्यति बेलासम्म उनको फरिया लुछ्न आइपुगिसकेको हुन्थ्यो ।

सुरुसुरुमा त उनले सहनुबाहेक केही उपाय भेटिनन्। आइमाईको जात सहनै जन्मेको भन्ने ठानिन्। तर, छोराछोरी हुर्कँदै गएपछि भने तिनको आडमा झिनो स्वर निकाल्न थालिन्, ‘सधैँ जाँड खाने पैसो ता कमाउन सक्दारहेछौ। छोराछोरी र स्वानीको नाङ्गो आङ कहिल्यै देखेनौ। यस्ता मान्छेले किन बे गर्नु ?’

सासू त्यहीँ हुन्थिन्। तर बुहारीको पक्ष लिएर बोलिदिएको कहिल्यै थाहा पाइनन् कर्किनी माइलीले। सासू प्रायः मौन बसिदिन्थिन्। सासूको ओठमा केहीले काटेको एउटा गहिरो दाग थियो। कर्किनी माइलीले त्यो दागको बारेमा अरूबाटै सुनेकी हुन्। उनको लोग्‍नेले हिर्काएर त्यस्तो भएको अरे। त्यो दागले गर्दा उनी हाँस्दा विरूप देखिन्थिन्। त्यसैले सासू हाँसेको कहिल्यै देखिनन् कर्किनी माइलीले। मौनता उनको ओठ र मुहार सबैतिर टाँस्सिएको थियो।

सासू निकै लामो समयसम्म थला परिन्। बिमार झन्‌झन् बढ्दै गयो। एक दिन बुहारीको हात समातेर बिस्तारै भनिन्, ‘मलाई पनि पुतली खेल्ने रहर थ्यो। कहिल्यै खेल्न पाइनँ। खेल्ने खाने उमेरमै बुहार्तन खप्‍न आउनुपऱ्यो। यहाँ आएपछि हाँस्न त कहिल्यै पाइनँ। मन फुकार रून पनि पाइनँ।’

त्यसका केही बेरमै उनी मरिन्। मर्दा पनि उनले बुहारीको हात समातिरहेकै थिइन्। सासूले कहिल्यै माया गरेको थाहा पाइनन् कर्किनी माइलीले तर सासू मरेपछि भने एक्लो र अझै असहाय अनुभव गरिन्।

००

पाँच जना चिचिला छोराछोरीको पेट पाल्न कर्किनी माइली बिहान अँध्यारैदेखि अर्काको घरमा भाँडा माझ्न जान्थिन्। लखतरान भएर बेलुका घर आउँदा लोग्‍ने बौलाइरहेको हुन्थ्यो, ‘ए रन्डी, कसको ओछ्यान तताउँदै थिइस् हँ यति बेरसम्म ?’

साँझमा सबैका घरमा दियो बालेर पूजाको घण्टी बज्दा उनका घरमा कोकोहोलो र रूवाबासी चल्थ्यो। आमालाई बाले लात हान्न थालेपछि छोराछोरी आमाको फरिया समात्दै चिच्याउन थाल्थे।

बेलाबेलामा उनको मनले साह्रै हरेस खान्थ्यो।

‘यो बित्थाको जुनी के घिसारिरहनु ? बरु यै बोके दहमा हाम्फालेर मरिदिन्छु।’

उनले सुनेकी थिइन्, राति दश बजेपछि बोके दहमा नाग आउँछ। त्यति बेला दहमा गयो भने नागले डसेर मरिन्छ। अति भएपछि एक दिन राति बोके दहमा गइन् उनी। तर धेरै बेर बस्दा पनि न नाग आयो, न दहमा हाम्फाल्नै सकिन्।

आफ्ना कलिला, नाङ्गाभुतुङ्गा छोराछोरीको अनुहार नै उनको लागि दह जाने बाटो छेक्ने मोटो डोरी बनिदियो। मर्ने भावना त्यागेर छोराछोरी सम्झिँदै हतारहतार घर फर्किन् ।

कर्किनी माइलीलाई छोराहरू हुर्कँदै गएपछि स्थिति सुध्रिएला भन्ने लागेको थियो। तर, त्यस्तो भइदिएन। अलिक हुर्किएपछि त जेठो छोरो पनि उसै गरी लरबरिँदै घर आउन थाल्यो। बिस्तारै अरू दुई छोराले पनि बाबुको बिँडो समातिहाले। सुरुसुरुमा त उनले धेरै सम्झाइन्। हप्काइन्। कुटिन् पनि तर पुर्खाको बिँडो थाम्‍ने काममा छोराहरू  इमानदार भएर लागिसकेका थिए। उनको केही लागेन।

बीस वर्ष नपुग्दै तीनवटै छोराले बुहारी भित्र्याए र केही दिनमै घर छोडेर निस्किए। दुई छोरी पनि पन्ध्र वर्ष नकट्दै पोइला गए। समय र परिस्थितिसँग जुध्दाजुध्दा कर्किनीको मुख पनि अब छुराजस्तो धारिलो हुन थालेको थियो। पहिलेपहिले कार्की माइलाको मात्र  एकोहोरो प्रहार हुन्थ्यो भने अब दोहोरो भिडन्त हुन थालेको थियो। जाँडले र उमेरले शिथिल हुँदै गएको कार्की माइलो धेरै बेर कर्किनीसँग भिड्न सक्दैनथ्यो र कुनामा पसेर टाउको र पिँडुला सुमसुम्याउँदै बिँडी सल्काउन थाल्थ्यो। उनी फतफताउँथिन्, ‘यो जँड्याहा मरेका दिन म एक थोपो आँसु झार्दिनँ। बरु नाच्छु सबैका अगाडि। कति खुसी भएर नाच्छु ।’

कार्की माइलालाई जन्डिस भयो। जन्डिसले पहँलो भएका बेला पनि उसले रक्सी खान छाडेन। अन्त्यमा कलेजो कुहिएर मऱ्यो।

आँगनमा लोग्‍नेको लास थियो। शङ्खको एकोहोरो धुन बजिरहेको थियो। छरछिमेकी, नातागोता सबै भेला भए। तर, कर्किनी माइली कोठाबाट निस्कँदै निस्किनन्। छिमेकीहरूले भने, ‘कर्किनीको कोठामा गीत बजिरहेको छ।’

‘के तपाईँ साँच्चै नाच्‍नुभएको थियो त्यो दिन ?’ मैले सोधेँ।

तर उनले मेरो प्रश्नको जबाफ दिइनन्। हाँसिरहिन्। धेरै बेरपछि भनिन्, ‘म त त्यो दिन साँच्चै सद्दे भएकी थेँ नि नानी। जता हेऱ्यो त्यतै उज्यालै उज्यालो देखेकी थिएँ । त्यस्तो सुकिलो दिन त त्योभन्दा अघि देखेकै थिनँ। जिउ पनि कपासजस्तो हलुङ्गो भएको थ्यो। म साँच्चै खुसी भएकी थेँ त्यो दिन। त्यति खुसी मन र त्यति हलुका जिउ कहिल्यै पनि भएको थिएन नानी। ‘

कर्किनी आमैको कुरो सुनेर म गम्भीर भएँ। निकै बेरसम्म उनको अनुहारमा एकोहोरो हेरिरहेँ। त्यो बेला उनको अनुहार धपक्क बलेको थियो।

छिमेकीहरूले कुरा काटे, ‘लोग्‍ने मरेपछि त लोग्‍नेका लुगाफाटाहरू नदीमा बगाइदिनुपर्थ्यो नि। तर कर्किनीले लोग्‍नेले मर्दा लगाएको लुगासमेत घरमा थुपारेर राखिछन्। साह्रै नकाम गरिन्।’

‘किन राख्‍नुभएको लोग्‍नेका लुगाहरू ?’ मैले फेरि सोधेँ । उनले मेरो यो प्रश्नको पनि जबाफ दिइनन्। हाँसेरै टारिदिइन्।

त्यसपछिका दिनमा उनी एक्लै भइन्। तर, एक्लो भए पनि अति सुखी र अति खुसी भइन्। पहिले कहिल्यै नदेखिने मुस्कान उनको अनुहारमा देखिन थाल्यो। अब उनलाई आफ्नो एक्लोपन आत्मीय लाग्‍न थालेको थियो ।

घरसँगै जोडिएको थियो उनको सागबारी। तर त्यो बारी उनको आफ्नो थिएन। धेरै वर्ष उनले काम गरेका घरका मालिकले ‘खनीखोस्री खा’ भनेर दिएका थिए। त्यही बारीमा लगाएको सागपात बेचेर उनी आफ्नो पेट पाल्थिन्।

उनी सबैलाई भन्ने गर्थिन्, ‘धेरै हन्डर खाएँ। कति हो कति दुःख पाएँ। तर अहिले सारै खुसी छु। अब मेरो एउटै प्रार्थना छ। भगवान्‌ले यही बारीमा कोदालो खन्दाखन्दै टपक्क टिपेर लगून् मेरो सास।’

नभन्दै एक दिन बारीबाट फर्केर घरमा गएपछि फेरि फर्केर आइनन् उनी। दिनभरि  कर्किनी घरबाट ननिस्केपछि केही छिमेकीलाई शङ्का लाग्यो। छिमेकीहरूसँगै म पनि उनको घरमा गएँ। ढोका भित्रबाट लागेको थियो। नजिकको चौकीको पुलिस, वडा अध्यक्ष, गाविस सचिव र छिमेकीहरूको रोहबरमा उनको घरको ढोका फोरियो।

कर्किनी आमै आफ्नो खाटमा चिरनिद्रामा परिसकेकी रहिछन्। सबै जिल्ल पऱ्यौँ। जिल्ल पर्ने अर्को कारण पनि थियो। उनको कोठाभरि लोग्‍नेका लुगाफाटाले बनाएका पुतलीहरू थिए। जताततै पुतली नै पुतली। सयौँ पुतली। कोठामा लोग्‍नेका लुगाहरू अझै बाँकी थिए। तर, कुनै पनि सद्दे थिएनन्। सबै च्यातिएका। सबै धुजाधुजा पारिएका थिए। मानौँ उनले वषौँदेखि लोग्‍नेका तिनै लुगाहरूसित रिस फेरिरहेकी थिइन्।

Facebook Comments

सम्बन्धित खवर

नरेन्द्र मोदी : विवादबीच उदय भएका चमत्कारी नेता
विचार/लेख
0 shares6 views
विचार/लेख
0 shares6 views

नरेन्द्र मोदी : विवादबीच उदय भएका चमत्कारी नेता

Himalpost Desk - २०७६, १३ जेष्ठ ०५:०५

- कुमुद अधिकारी प्रारम्भिक जीवन नरेन्द्र दामोदरदास मोदी उर्फ नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा गुजरात राज्यको वडनगरको एउटा…

विप्लव समुहले सेनालाई अपहरण गरेको खुलासा
राजनीति
0 shares10 views
राजनीति
0 shares10 views

विप्लव समुहले सेनालाई अपहरण गरेको खुलासा

himal post - २०७६, १३ जेष्ठ ०१:०५

काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र…

‘बन्द’ असफल पार्न सरकारले बनायो यस्तो नयाँ योजना
राजनीति
0 shares38 views
राजनीति
0 shares38 views

‘बन्द’ असफल पार्न सरकारले बनायो यस्तो नयाँ योजना

himal post - २०७६, १३ जेष्ठ ००:५९

काठमाडौँ- विप्लव समुहले आयोजना गरेको बन्दलाई असफल पार्न प्रहरीले नयाँ योजना बनाएको बताइएको छ । तीनै सुरक्षा प्रमुखहरुसहितको बैठकमा गृहमन्त्री रामबहादुर…