पक्राउ परेका ट्रम्पलाई चार वर्षको जेल सजाय हुनसक्ने - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

पक्राउ परेका ट्रम्पलाई चार वर्षको जेल सजाय हुनसक्ने



अमेरेकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रहरीले पक्राउ गरेको छ । अदालती सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ।

ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनमार्फत वयस्क चलचित्र अभिनेत्री स्टोर्मी ड्यान्यल्सलाई सन् २०१६ को चुनावअघि रकम दिएकोसहित ३४ विषयमा उनीविरुद्ध मुद्दा चलेको छ।

मंगलबार म्यानहटनको अपराधिक अदालतमा न्यायाधीश जुआन मर्चनको इजलासमा उनीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो। ट्रम्पलाई अदालतमा उनका वकिलले घेरा हालेका थिए। उनीविरुद्ध आरोप लगाउने कानून व्यवसायीले मुद्दाको रूपरेखा प्रस्तुत गर्दै सन् २०१६ को चुनावलाई प्रभावित पार्न गोप्य र अवैध भुक्तान गरेको आरोप लगाए।

म्यानहटनस्थित अदालतको १५ औँ तलामा उनीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो। मंगलबार दिउँसो २:१५ देखि अदालती सुनुवाइ भएकोमा साढे १ बजे ट्रम्प अदालत पुगेका थिए। सुनुवाइका क्रममा ट्रम्पले ३ पटक मात्रै बोलेका थिए। दुईपटक उनले आरोप अस्वीकार गरे भने तेस्रोपटक प्रतिवादीका रूपमा आफ्नो अधिकार सुनिश्चित गर्न अदालतसँग माग गरे।

अमेरिकी इतिहासमै पूर्वराष्ट्रपतिविरुद्ध फौजदारी मुद्दा चलेको यो पहिलोपटक हो। उनी दोषी ठहर भएमा बढीमा चार वर्षको जेल सजाय भोग्नुपर्नेछ।