टोपबहादुरलाई खोज्न आइजिपीको अमेरिका भ्रमण रद्द - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

टोपबहादुरलाई खोज्न आइजिपीको अमेरिका भ्रमण रद्द



आइजिपी वसन्तबहादुर कुँवरले अमेरिका भ्रमण रद्द गरेर भुटानी शरणार्थी ठगीमा संलग्न एमाले सचिव टोपबहादुर रायमाझीको खोजीमा तिब्रता दिएका छन् ।

अमेरिकी सरकारले गर्ने ‘लिडरसिप एक्सचेन्ज’सम्बन्धी कार्यक्रमको निमन्त्रणमा आइजिपी कुँवर सोमबार अमेरिका जाने कार्यक्रम तय भएको थियो । भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दामा उच्चपदस्थमाथि अनुसन्धान अघि बढेपछि आइजिपीले भ्रमण रद्द गरेका थिए ।

आफ्नो संलग्नता नरहेको र प्रहरीलाई अनुसन्धानमा सघाउने बताएका एमाले सचिव तथा पूर्वमन्त्री रायमाझी अझै फरार छन् । पाँच दिनसम्म पनि सम्पर्कमा नआएपछि प्रहरीले उनलाई पक्रन देशभर परिपत्र गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले यससम्बन्धी परिपत्र गरेको हो । साथै पक्राउका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लगायतका निकायबाट पनि प्रहरी परिचालन गरिएको छ ।

पक्राउ पुर्जी जारी हुँदा गत बुधबार रायमाझी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै थिए । त्यही दिन उनी ‘काठमाडौं गएर प्रहरीलाई सघाउने’ भन्दै काठमाडौंका लागि हिँडेका थिए ।