गौशाला सञ्चालनको जिम्मा ईस्कोनलाई दिने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गौशाला सञ्चालनको जिम्मा ईस्कोनलाई दिने



तिलोत्तमा । तिलोत्तमा गौशालाको व्यवस्थापनमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन)सँग सहकार्य गर्न सरोकारवालाहरू सकारात्मक देखिएका छन् । तिलोत्तमा नगरपालिकाले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा राजनीतिक दल, गौशाला व्यवस्थापन समिति र वन उपभोक्ता समूहका पदाधिकारीहरू गौशाला व्यवस्थापनको जिम्मा ईस्कोनलाई दिन सकारात्मक भएका हुन् ।
गौशालालाई आधुनिक रूपमा व्यवस्थापन गर्दै सञ्चालनको सम्पूर्ण जिम्मेवारी लिन ईस्कान इच्छुक भैरहँदा नगरपालिकाले आइतबार सरोकारवालासँग छलफल गरेको हो । गौशालालाई अहिलेकै अवस्थामा धेरै समय चलाउन नसकिने निष्कर्ष निकाल्दै छलफलका सहभागीहरूले ईस्कोनसँगको छलफल अघि बढाउन नगरपालिकालाई सुझाव दिएका छन् । ईस्कोनले गौशाला व्यवस्थापनसँगै वैदिक शिक्षा, स्वास्थ्यका कार्यक्रमहरू समेत सँगसँगै सञ्चालन गर्ने प्रस्ताव अघि सार्दै थप जग्गा माग गरेको छ ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, गौशाला व्यवस्थापन समिति, वन उपभोक्ता समूहलगायतका सरोकारवाला संघ–संस्थाका प्रमुखहरूलाई ईस्कोनले गौशालाको आधुनिक व्यवस्थापनसँगै गर्न चाहेको कार्यक्रमका बारेमा शुक्रबार जानकारी गराएको थियो । ईस्कोनको प्रस्ताव सकारात्मक लागेपछि नगरपालिकाले सरोकारवालाहरूसँग आइतबार छलफल गरेको हो ।
आइतबारको छलफलमा नगर प्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले ईस्कोनले राखेको प्रस्तावका बारेमा सरोकारवालाहरूलाई जानकारी गराए । छलफलमा गौशाला व्यवस्थापन समिति र वन उपभोक्ता समूहको नेतृत्वले आ–आफ्नो कार्यसमितिमा यसबारे आवश्यक निर्णय गरी पुनः अर्को चरणको छलफलमा जुट्ने बताएका छन् ।
तिलोत्तमा गौशाला शंकरनगर र करहिया सामुदायिक वन क्षेत्रमा पर्दछ । चार बिगाहा क्षेत्रफल चर्चेको गौशालामा हाल १६० गाई÷गोरु रहेका छन् । नियमित आर्थिक स्रोत अभावका कारण गौशाला व्यवस्थित हुन सकेको छैन भने बाहिर रहेका छाडा चौपायाको पनि पूर्ण व्यवस्थापन हुन सकेको छैन ।
छलफलमा सहभागी गौशाला व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर खत्रीले आधुनिक र व्यवस्थित रूपमा गौशालालाई अघि बढाउन सञ्चालनको जिम्मेवारी ईस्कोनलाई दिन समिति तयार रहेको बताए । समितिका उपाध्यक्ष कृष्ण पौडेलले गौशालाको आधुनिक व्यवस्थापनको काम समिति र नगरपालिकाले पनि गर्न नसक्ने भएकाले त्यसको जिम्मेवारी ईस्कोनलाई दिनुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टीका नेता यज्ञ गैरेले वनको खास हैसियत नबिग्रिने र जनताको अधिकतम हितमा हुनेगरी गौशाला सञ्चालनको जिम्मा ईस्कोनलाई दिन सकिने बताए । अर्का नेता लक्ष्मण खनालले गौशाला व्यवस्थापनको काम पनि स्थानीय बासिन्दाकै हितका लागि हुने भएकाले वनको जग्गा दिने कुरामा अलमल गर्न नहुने बताए ।
यस्तै नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेले गौशाला बन्द नगर्ने हो भने सञ्चालनको जिम्मा ईस्कोनलाई दिइनुको विकल्प नरहेको प्रष्टाए । करहिया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खेमप्रसाद गौतमले गौशालाको आधुनिक व्यवस्थापनका लागि आवश्यक थप जग्गा दुवै वनबाट बराबर छुट्याईनु पर्नेमा जोड दिए । शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राम गिरीले वनको भौगोलिक अवस्था हेरेर यस सम्बन्धमा निर्णय गर्न सकिने उल्लेख गरे ।
छलफलमा वडा नं. १ का अध्यक्ष तामनाथ पाण्डे, वडा नं. ८ का अध्यक्ष कृष्ण पौडेल, शंकरनगर सामुदायिक वनका उपाध्यक्ष रविन्द्र बस्नेत, वनवाटिकाका अध्यक्ष बाबुराम अर्याल, गौशाला व्यवस्थापन समितिका सचिव खिमलाल पाण्डेलगायतले गौशालाको आधुनिक व्यवस्थापनले त्यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने बताए ।