टीकापुर बहुमुखी क्याम्पसको १७ औं वार्षिकोत्सव सम्पन्न - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

टीकापुर बहुमुखी क्याम्पसको १७ औं वार्षिकोत्सव सम्पन्न



‘विकासका लागि सबै एकजुट भएर लाग्नु पर्ने डा. रावलको भनाइ’

लोकेन्द्र रावल
टीकापुर । सुदूरपश्चिमाञ्चल विश्व विद्यालय टीकापुर बहुमुखी क्याम्पसले आफ्नो १७ औं वार्षिकोत्सव मंगलबार मनाएको छ ।

क्याम्पस प्रमुख केशरबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रतिपक्ष दलका नेता डाक्टर रणवहादुर रावल प्रमुख अतिथि रहनु भएको थियो । विशिष्ट अतिथिमा टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्य, डीन कृषि विज्ञान संकायका प्राध्यापक श्याम शंकर झा र टीकापुर बहुमुखी क्याम्पसका निवर्तमान अध्यक्ष नवल बहादुर खड्का रहनु भएको थियो ।

डा. रणवहादुर रावलले क्याम्पसको विकासका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताउनुभएको छ । ‘यो क्याम्पस कसै एउटा पार्टीको धरोहर होइन, यो सबैको मिहनेतले यो क्याम्पस बनेको हो । ’डाक्टर रावलले भन्नु भयो ।
उहाँले यस ठाउँका बिकासका संरचना र सम्भावनाका बारेमा सबै एकताका साथ अगाडी बढेर लाग्नु पर्नेमा जोड दिनुभयो ।

‘स्थानीय सरकारले अतिक्रमित जग्गाका बारेमा पहल गर्नुपर्ने बताउँदै उहाँले स्थानीय सरकारले कुन सुकुम्बासी हुन, कुन होईन भन्ने पहिचान गरेर अगाडी बढ्यो भने समाधानको हल निस्कन्छ ।’ डाक्टर रावलले भन्नुभयो ।
उहाँले आफू प्रतिपक्ष भएपनि विकासका कुरामा अवरोध नगरेको बताउनुभयो । आफ्नो क्षेत्रको हक अधिकारका लागि सबैले आवाज उठाउन पनि आग्रह गर्दै रावलले विकासका लागि सहयोग सधैंव रहिरहने आश्वासन दिनुभयो ।

कार्यक्रममा टीकापुर बहुमुखी क्याम्पसका निवर्तमान अध्यक्ष नवल वहादुर खड्कालाई सम्मान गरिएको छ ।
उहाँले शिक्षामा राज्यको लगानी हुनुपर्छ भन्ने अठोटका साथ टीकापुर बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्व विद्यालयको आङ्गिक क्याम्पस बनाउन दिएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो ।
प्रमुख अतिथिले उहाँलाई कदरपत्र सहित सम्मान गर्नुभएको थियो । साथै विद्यार्थी लोकेन्द्र शाही र सिता विष्टलाई पनि सम्मान गरिएको थियो ।

वार्षिकोत्सव कार्यक्रममा १० हजार ५ रुपैयाँको यो वर्षको धनञ्जय शारदा गरिब तथा जेहेन्दार विद्यार्थी पुरस्कार शिक्षाशास्त्र संकाय चौथो वर्षमा अध्यायनरत विद्यार्थी शर्मीला कुमारी रावतलाई प्रदान गरिएको छ ।

टीकापुर बहुमुखी क्याम्पसका निवर्तमान सहायक क्याम्पस प्रमुख सिताराम रिमालको मन्तव्यसंगै शुरु भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गंगाराम आचार्य, टीकापुर बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाई समिति सभापति रामप्रसाद तिवारी, कर्मचारी संघ इकाई सभापति ध्रुवबहादुर रावल, टीकापुर बहुमुखी क्याम्पस स्ववियु सभापति सुरेश प्रसाद शर्मा, विरेन्द्र बहुमुखी क्याम्पस स्ववियू सभापति धनन्जय रिमाल, नेविसंघकी केन्द्रिय सदस्य सुशिला गिरी, अल्मुनाई अध्यक्ष अनिल कोइराला, विद्यार्थी नेता पहलसिंह धामी, भक्तराज देवकोटा, पदम प्रसाद काफ्ले लगाएतले शुभ कामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको संचालन उप–प्राध्यापक उमाकान्त भण्डारी र उप–प्राध्यापक एवं डा.बसन्त आचार्यले गर्नुभएको थियो । वार्षिकोत्सवमा विद्यार्थीले नृत्य समेत प्रस्तुत गरेका थिए ।