ब्रिटिश कलेजको लापरवाहीको एउटा नमुना, पैसा दिएर यसरी सामसुम पारियो घटना Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

ब्रिटिश कलेजको लापरवाहीको एउटा नमुना, पैसा दिएर यसरी सामसुम पारियो घटना



the british college

राजधानीको थापाथलीमा रहेको द ब्रिटिस कलेजको लापरबाहीले विद्यार्थीको ज्यान गएको विषय अहिले सामसुम छ । ब्रिटिस कलेजमा अध्ययनरत सिराहा मिर्चैया–५ का १९ वर्षीय गौरव श्रेष्ठको मृत्यु कलेजको चरम लापरबाहीका कारण भएको प्रहरीले नै बताएको थियो ।

शुरूमा क्षतिपूर्ति दिन आनाकानी गरेको कलेजले पछि केही रकम त दियो तर घटनाबारे कहीं कतै नबोल्ने शर्तमा । त्यसअघि बोलिएका भिडियोहरू पनि डिलेट गर्न लगाइएको थियो भने, त्यसपछि पनि आफन्तलाई धम्कीकै भरमा चुप लगाइएको थियो ।

के हो घटना ?

कलेजकै सेड्युलमा समुन्द्रमा पौडी खेल्न गएका श्रेष्ठको २ फागुनमा मृत्यु भएको थियो। पौडी खेल्न समुद्र पुगेका विद्यार्थीलाई कलेजले आवश्यक नियन्त्रण गर्न नसक्दा श्रेष्ठको मृत्यु भएको प्रहरी दाबी थियो । कलेजले यतिसम्म लापरबाही गरेको थियो कि सँगै पौडी खेल्न गएका अन्य विद्यार्थीलाई राखेर बस होटलमा फर्कियो तर उनको खोजीसमेत गरिएन ।

विद्यार्थीको मृत्यु भएको घन्टौं बित्दा समेत कलेजका प्रतिनिधि र कर्मचारीले गौरब हराएको मेसो समेत पाएनन् । समुन्द्रबाट विद्यार्थी लिएर फर्किएको बसमा कति विद्यार्थी छन् भन्ने समेत कलेजका प्रतिनिधि र कर्मचारीले ख्याल गरेनन् । विद्यार्थी दुबईस्थित होटेल द क्रिस्टल अपार्टमेन्टमा बसेका थिए।

होटेलले नै व्यवस्था गरेको बस चढेर उनीहरू भ्रमणका लागि लमिर बिच पुगेका थिए। जसमध्ये केही विद्यार्थी समुद्रमा पौडी खेल्न निस्किए। जसमा मृतक श्रेष्ठ पनि थिए। उनी सहपाठी निशेष सुवेदीसँगै पौडी खेलिरहेका थिए। यही क्रममा सुवेदी श्रेष्ठको टाउजरलगायतका कपडा लिएर पार्क गरी राखेको बसमा फर्किए।

बसमा अन्य विद्यार्थी र कलेजका कर्मचारी चढिसकेका थिए। तर, श्रेष्ठलाई नलिई बस होटेल फर्कियो। साँझसम्म पनि श्रेष्ठको खोजी भएन। साँझपख दुबई प्रहरीले कलेजका कर्मचारीलाई दुबईकै अल रसिद अस्पतालमा आउन अनुरोध गर्दै फोन ग-यो। अस्पतालमा श्रेष्ठको शव भेटिएपछि कलेजका कर्मचारी झस्किएका थिए।

कलेजले २०७५ साल माघ २९ गते २६ जना विद्यार्थीलाई दुबई भ्रमणमा लागेको थियो । उक्त भ्रमणमा रहेका १९ वर्षीय गौरव श्रेष्ठको ज्यान गएको विषय जति छिटो चर्चामा आयो त्यति नै छिटो सामसुम पारिएको थियो ।

मृतक विद्यार्थीका बुबा महेन्द्र श्रेष्ठले आफ्नो एक्लो छोराको मृत्युको घटनाको छानबिन गर्नुपर्ने माग गरेका थिए । तर त्यसलाई कलेजले टेरपुच्छर लगाएन ।

मृत्युमा आफ्नो हात नभएको भन्दै पन्छिएको थियो कलेज

ब्रिटिस कलेजले भने श्रेष्ठको मृत्यु उनकै जिद्दीपनका कारण समुद्रमा डुबेर भएको भन्दै पन्छिएको थियो । तर उनी हराएको र मृत्यु भएकोबारे कलेजकै कर्मचारी साँझसम्म पनि बेखबर थिए । कलेजले भ्रमणमा लागेका बेला कर्मचारीलाई उनी हराएको र मृत्यु भएको थाहै नहुनु चरम लापरबाही हो । भ्रमणका लागि लागेको थियो विद्यार्थीहरूलाई निगरानी गर्नुपर्ने दायित्व हो ।

चरम लापरवाही भएको देखिएपछि सुरू भयो कलेजको नाटक । श्रेष्ठका बुवाले पत्रकार सम्मेलन गरेपछि कलेजले समाचार रोक्न विभिन्न मिडियालाई धम्की दिएको थियो ।

घटनाबारे कहीं कतै किन कुरा गर्दैनन् आमाबुबा ?

गौरव आफ्नो आमाबुवाका एक्ला छोरा थिए । आमाबुवा अहिले सिराहामा सानो पसल गरेर गुजारा चलाइरहेका छन् । बेलाबेलामा आफ्नो छोराको याद आएपनि उनीहरू आजकल त्यस घटनाबारे कसैसँग बोल्दैनन् । हिमालपोस्टले सम्पर्क गर्दा आफू यो घटनाबारे कसैसंग नबोल्ने भन्दै प्रतिक्रिया दिए ।

उनीहरू किन बोल्न चाहिरहेका छैनन् भनेर हामीले एक आफन्तलाई सम्पर्क गर्यौं । ती आफन्तले आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै भने – ‘क्षतिपूर्ति लिन धेरै मेहनत गर्नुपरेको थियो । उनीहरूले एकपैसा नदिने भनिरहेका थिए । तर जनप्रतिनिधिको सहायता र तत्कालिन शिक्षामन्त्रीको पहलमा १० लाख क्षतिपूर्ति र तीन लाखको अक्षयकोष खडा गर्न उनीहरू तयार भए । त्यसको बदलामा हामीलाई कहीं कतै घटनाबारे नबोल्ने सर्त राखियो । त्यसअगाडी हामी बोलेको भिडियोहरू पनि डिलिट गर्न लगाइयो । त्यहि कारण अहिले पनि हामी बोलेका छैनौँ । उनीहरू ठूला मान्छे परे, हामी त्यसबारे बोल्दा केहि अफ्ठ्यारो पार्ने हुन् की ?’

यो चार वर्ष मृतकका आमाबुबाले कसरी आफ्नो जीवनयापन गरिरहेका छन् भन्ने थप फलोअप हिमालपोस्टले गर्नेछ ।