थोरै मतले राष्ट्रिय पार्टी बन्नबाट चिप्लियो एकीकृत समाजवादी - Himal Post Himal Post
  • १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
Logo

थोरै मतले राष्ट्रिय पार्टी बन्नबाट चिप्लियो एकीकृत समाजवादी



काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको छ ।

आयोगको वेबसाइटमा राखिएको मत नै अन्तिम मत भएको आयोगले जनाएको छ । केही जिल्लामा कतै छुटपुट भेटिए भने थपिने जनाइएको छ । यो निर्वाचनमा सदर भएको एक करोड ५ लाख ६० हजार ६७ मत, कुल मत हो ।

अन्तिम मत परिणामअनुसार सात दलले कुल सदर मतको ३ प्रतिशत कटाएका छन् । थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत कटाउन सात दल सफल भएका हुन् ।

जसमा नेकपा (एमाले)बाट विभाजन भएको दल एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न असफल भएको छ । १० सिट प्रत्यक्षमा जिते पनि उसले समानुपातिकमा सदर मतको ३ प्रतिशत मत पाउन सकेन । उसले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गर्दा राष्ट्रिय दल बन्नका लागि १८ हजार ४११ मत अपुग भएको आयोगको तथ्यांकले देखाउँछ ।

राष्ट्रिय दल बनेका सात दलले पाएको मत

समानुपातिकतर्फ निर्वाचन आयोगको तथ्यांक अनुसार एमाले पहिलो दल बनेको छ । जबकि प्रत्यक्षतर्फ भएको निर्वाचनमा भने एमालेले ४४ सिट प्राप्त गर्दै दोस्रो स्थानमा चित्त बुझाउनुपरेको छ । उसले समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत एमालेले पाएको आयोगले जनाएको छ ।

प्रत्यक्षमा ५७ सिट जित्दै पहिलो दल बनेको नेपाली कांग्रेस भने समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको आयोगको तथ्यांकले देखाउाछ । उसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको हो ।

जुन एमाले भन्दा एक लाख ३० हजार ४१६ ले कम मत हो । त्यस्तै, माओवादी केन्द्रले समानुपातिकर्फ ११ लाख ७५ हजार ६८४ मत पाएको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ । जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ मत प्राप्त गरेको छ । जनमत पार्टीले ३ लाख ९४ हजार ५६६ मत पाएको छ ।