सामाजिक सञ्जाल नियमन र नियन्त्रण गर्नुपर्छ- आयुक्त थपलिया - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

सामाजिक सञ्जाल नियमन र नियन्त्रण गर्नुपर्छ- आयुक्त थपलिया



काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल पनि आम सञ्चार माध्यामको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्दै उनले त्यसलाई सरकारले आफ्नो दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता औंल्याएका हुन्।

बिहीबार काठमाडौंमा आयोजित ‘आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठी’ मा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्न सक्छ कि सक्दैन? भनी प्रश्नसमेत गरे।

उनले सबै सञ्चार माध्यामहरुमा प्रकाशित तथा प्रशारित हुने सामग्रीहरु स्वतहः आउने गरी सफ्टवेयरको विकास गर्न पनि नेपाल प्रेस काउन्सिलसँग आग्रह गरे। त्यसो भयो भने अनुगमनको काम गर्न प्रेस काउन्सिल नेपाललाई सहज हुने उनको भनाइ थियो।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘मलाई प्रेस काउन्सिल नेपालप्रति चाहिँ एउटा अनुरोध के छ भने अनधिकृत रुपमा प्रकाशित, प्रसारित हुने विषय त हामी के गर्न सकौँला र। आधिकारिक रुपमा प्रशारण हुने विषय प्रशारण हुनसाथ स्वतहः प्रेस काउन्सिल नेपालको त्यो सफटवेयरमा स्वतहः आउने व्यवस्था हुनुपर्‍यो। सामाजिक सञ्जालले के बोल्यो ? भन्ने आउँछ। अहिले सामाजिक सञ्जाल पनि समाचार माध्यामको रुपमा स्थापित हुन खोज्दैछन। यीनलाई कहाँ, कसले हेर्ने हो ? सबै यही प्रेस काउन्सिलले हेर्न सक्छ कि सक्दैन? त्यो अर्को पाटो हो। तर यसलाई पनि अव समग्रमा मैले चुनावको कुरा मात्रै गरिराखेको छैन। एउटा दायरामा ल्याएर यसको व्यवस्थापन र नियमनको पनि कुरा गर्नु पर्छ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले सो सफ्टवेयरलाई हेर्नका लागि प्रेस काउन्सिल नेपालले छुट्टै टिम बनाउँदा उपयुक्त हुने सुझावसमेत दिए।