नेपाली क्रिकेट टिमको अर्को सपना पनि अधुरै - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

नेपाली क्रिकेट टिमको अर्को सपना पनि अधुरै



काठमाडौँ । नेपाली क्रिकेट टिमको अर्को सपना पनि अधुरै भएको छ । आयरल्यान्डसँग २ विकेटले पराजित भएपछि टेस्ट राष्ट्रलाई हराउने नेपालको सपना पनि पूरा हुन सकेन ।

आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको मंगलबार भएको प्लेअफ चरणको रोमाञ्चक खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ ।

नेपालले प्रतियोगितामा आठौं वरीयता प्राप्त गरेको छ । आयरल्यान्डले भने सातौं वरीयता पाएको छ । नेपाललाई हराउन आयरल्यान्डले निकै ठूलो सँघर्ष गर्नुपर्‍यो । आयरल्यान्डले अन्तिम ओभरमा आएरमात्र नेपाललाई हराउन सक्यो । मंगलबारको खेलसँगै नेपालको एकदिवसीय विश्वकप छनोट यात्रा पनि सकिएको छ ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ६८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्डले ४९.२ ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।

आयरल्यान्डको जितमा कर्टियस क्याम्फरले ६२ र ह्यारी टेक्टरले ६० रनको योगदान गरेका थिए । आयरल्यान्डले विजयलक्ष्य पूरा गर्दा गारेथ डेलानी अविजित १६ र बेरी म्याकार्थी अविजित चार रन बनाउँदै क्रिजमा थिए । नेपाली टोलीका बलर करण केसीले चार विकेट लिए । किशोर महतोले दुई विकेट हात पारे । गुल्सन झा र सन्दीप लामिछानेले पनि एक—एक विकेट लिए ।

त्यसअघि नेपालका लागि गुल्सन झाले अर्धसतकीय पाली खेलेका थिए । उनले अविजित ५७ रन बनाए । नवौं नम्बरमा ब्याटिङ गर्न आएका उनले ४२ बलको सामना गरी तीन छक्का र चार चौका प्रहार गरे । अर्जुन साउदले ४८ रन बनाए ।

कुशल मल्लले ४४ र सन्दीप लामिछानेले ३२ रन जोडे । सन्दीप र गुल्सनले ८० रनको साझेदारी गरेका थिए । किशोर महतो एक रनमा अविजित रहे । आयरल्यान्डका बलरहरुले नेपाललाई अतिरिक्त रुपमा १८ रन दिएका थिए ।

पहिलो विकेटका रुपमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्ते आउट भएका थिए । उनी आठ रन बनाउँदै आउट भए । उनको विकेट क्रेग योङले लिए । त्यतिबेला नेपालले ८.१ ओभरमा २७ रन बनाएको थियो ।

दोस्रो विकेटका रुपमा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल केवल सात रन बनाउँदै आउट भएका थिए । उनको विकेट पनि क्रेग योङले नै लिएका थिए । दोस्रो विकेट गुमाउँदा नेपाल १२.३ ओभरमा ४४ रन बनाएर खेल्दै थियो ।

कप्तान रोहित पौडेल तेस्रो विकेटका रुपमा पेभेलियन फर्किएका थिए । उनले ३५ बलको सामना गरी एक छक्का र दुई चौकाको मद्दतले २९ रन बनाएका थिए । उनको विकेट कर्टियस क्याम्फेरले लिएका थिए । रोहित आउट हुँदा नेपालको कूल स्कोर ९४ रन थियो ।

यसैगरी नेपालको चौथो विकेट गारेथ डेलानीले लिए । उनले ओपनर ब्याट्सम्यान अर्जुन साउदलाई ४८ रनमा आउट गरे । विकेटकिपर ब्याट्सम्यान अर्जुनले पेभेलियन फर्किनुअघि ८४ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए । उनी आउट हुँदा नेपालको स्कोर एक सय तीन रन थियो ।

नेपालले पाँचौं विकेटका रुपमा भीम सार्कीलाई गुमाएको थियो । उनी २० रन बनाउँदै आउट भएका हुन् । उनको विकेट बेरी म्याकार्थीले लिएका हुन् । भीम आउट हुँदा नेपालले हालसम्म ३५.२ ओभरमा एक सय ६२ रन बनाएको थियो ।

यसैगरी छैटौं विकेटका रुपमा अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी आउट भएका हुन् । उनी खाता खोल्नुअघि नै आउट भए । उनको विकेट एन्डी ब्रायनले लिएका हुन् । उनी आउट हुँदा नेपालले एक सय ६९ रन बनाएको थियो ।

सातो विकेटका रुपमा कुशल मल्ल आउट भएका थिए । उनले ३८ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले ४४ रन बनाएका थिए । उनको विकेट बेरी म्याकार्थीले लिएका थिए । कुशल मल्ल आउट हुँदा नेपालले एक सय ७३ रन बनाएको थियो ।

आठौं विकेटका रुपमा पेभेलियन फर्किएका सन्दीप लामिछानेले उत्कृष्ट पाली खेले । उनले ३२ रनको योगदान गरे । सन्दीपले ३० बलको सामना गरी एक छक्का र तीन चौका हिर्काए । उनको विकेट मार्क एडियरले लिए । त्यतिबेला नेपालले दुई सय ४९ रन बनाएको थियो । नवौं विकेटका रुपमा करण केसी चार रन बनाउँदै आउट भए । उनको विकेट पनि एडियरले लिए ।

जवाफी ब्याटिङ गरेको आयरल्यान्डले २३ रनको कूल स्कोरमै दुई विकेट गुमाएको थियो । टोलीको कूल स्कोर २१ रन हुँदा ओपनर एन्डी म्याकब्रायन १७ रन बनाउँदै आउट भएका थिए । उनको विकेट करण केसीले लिएका थिए ।

आयरल्यान्डले दोस्रो विकेटका रुपमा कप्तान एन्डी बलबिर्नीलाई गुमाएको थियो । उनी एक रन बनाउँदै आउट भएका थिए । उनको विकेट किशोर महतोले लिएका थिए । आयरल्यान्डको तेस्रो विकेट गुल्सन झाले लिएका थिए । गुल्सनले ओपनर ब्याट्सम्यान पल स्टर्लिङलाई १५ रनमा बोल्ड गरेका थिए । त्यतिबेला आयरल्यान्डले ६० रन बनाएको थियो ।

यसैगरी विकेटकिपर ब्याट्सम्यान लोर्कन टुकर चौथो विकेटका रुपमा पेभेलियन फर्किएका थिए । उनलाई २४ रनमा करण केसीले एलबीडब्लूको धरापमा पारेका थिए । त्यतिबेला आयरल्यान्डले एक सय १८ रन बनाएको थियो ।

आयरल्यान्डको पाँचौं विकेट भने स्पिनर सन्दीप लामिछानेले लिएका थिए । सन्दीपले ह्यारी टेक्टरलाई ६० रनमा पेभेलियन फर्काएका थिए । सन्दीपले उनलाई गुल्सन झाद्वारा क्याच गराएका थिए । टेक्टरले आउट हुनुअघि ७६ बलको सामना गरी दुई छक्का र चार चौका हिर्काएका थिए । टेक्टर आउट हुँदा आयरल्यान्डले एक सय ३४ रन बनाएको थियो ।

यसैगरी आयरल्यान्डको छैटौं विकेट करण केसीले लिएका थिए । उनले मैदानमा जमेका कर्टियस क्याम्फरलाई ६२ रनमा आउट गरेका हुन् । क्याम्फरले ५९ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका थिए । आयरल्यान्डले दुई सय १८ रनमा छैटौं विकेट गुमाएको हो ।

आयरल्यान्डको सातौं विकेट भने किशोर महतोले लिएका थिए । उनले जर्ज डकरेललाई ३३ रनमा पेभेलियन फर्काएका थिए । त्यतिबेला आयरल्यान्डले दुई सय ३८ रन बनाएको थियो । आयरल्यान्डले आठौं विकेटका रुपमा मार्क एडिरलाई गुमाएको थियो । उनलाई १८ रनको ब्यक्तिगत स्कोरमा करण केसीले आउट गरेका थिए । त्यतिबेला आयरल्यान्डले दुई सय ६४ रन बनाएको थियो ।

नेपालले आयरल्यान्डसँग पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो । नेपाली टोलीले आईसीसीबाट टेस्ट मान्यताप्राप्त राष्ट्रसँग तेस्रो पटक प्रतिस्पर्धा गरेको हो । यसअघि यही विश्वकप छनोट प्रतियोगितामा नेपालले टेस्ट मान्यताप्राप्त राष्ट्र जिम्बाबे र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरेको थियो ।

जिम्बाबेविरुद्घको खेलमा नेपाल आठ विकेटले पराजित भएको थियो । वेस्ट इन्डिजसँग भने नेपाली टोली एक सय एक रनले पराजित भएको थियो । विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा आयोजना भइरहेको छ ।

अब विश्वकप छनोटको प्लेअफ चरणमा नवौं र १०औं वरीयताका लागि आगामी बिहीबार अमेरिका र संयुक्त अरब इमिरेट्स (यूएई) बीच खेल हुनेछ । उक्त खेलमा विजयी हुने टोलीले नवौं र पराजित हुने टोलीले १०औं वरीयता पाउने छन् ।