एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपति बन्ने ! - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपति बन्ने !



काठमाडौं- एमालेलगायतका दलहरूको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै अन्य पदको पनि भागबण्डा भएको छ । एमाले–माओवादी सहितका दल मिलेर १ सय ६६ सांसदको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरिएको हो ।

सरकार गठन गर्ने सहमति भएसँगै माओवादी अध्यक्ष प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका हुन्। एमाले–माओवादीबीच आलोपालोको आधारमा प्रधानमन्त्री बन्ने सहमति भएसँगै पहिलो चरणमा प्रचण्ड र दोस्रो कार्यकालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन ।

पहिलो चरणमा प्रधानमन्त्री बन्ने भएपछि माओवादीको राष्ट्रपतिमा दाबी नगर्ने भएको छ । एमालेले राष्ट्रपति पाउने सहमति बनेको बताइएको छ । सभामुखमा भने एमाले र माओवादीले आलोपालो गर्ने भएका छन् ।

प्रधानमन्त्री, राष्ट्रपति र सभामुखमा सहमति जुटे पनि अन्य पद बाँडफाँटमा सहमति हुन बाँकी छ । राष्ट्रपति भने एमालेले पाउने निश्चित भएपछि को सभामुख बन्ने चासो बढेको छ ।

राष्ट्रपतिमा अब एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई अगाडी सार्ने भएको छ । समुदाय र अन्य हिसाबले पनि नेम्वाङ उपयुक्त पात्र भएको एमालेका एक नेताले बताए ।

अध्यक्ष ओलीका विश्वासपात्र समेत रहेकाले नेम्वाङ नै राष्ट्रपति बन्ने ती नेताको दाबी छ। तर एमालेले यसको औपचारिक निर्णय भने गर्न बाँकी छ ।