६१ किलो सुन तस्करी प्रकरण- रायसहितको अनुसन्धान प्रतिवेदन तयार - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

६१ किलो सुन तस्करी प्रकरण- रायसहितको अनुसन्धान प्रतिवेदन तयार



काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणको फाइल तयार गरेको छ । सीआईबीले रायसहितको अनुसन्धान प्रतिवेदन आज बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको हो ।

लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हङकङबाट ल्याइएको सो सुनको फाइल बुझाउन लागेको बताइएको छ । सुन तस्करी प्रकरणको अनुसन्धानमा मुख्य अभियुक्तहरूलाई बचाउने खेल भैरहेको चर्चा चलिरहेका बेला सिआइबीले भने फाइल बुझाउन लागेको हो ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो ।

सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य सकिएकाले बुधबार बुझाउने तय भएको सीआईबीकी प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् ।

आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सीआईबीको तयारी छ । संगठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ ।

यही भदौ ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्‍याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी भोलि प्रतिवेदन बुझाउने मिति तय गरिएको हो ।

उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा स्वास्थ्यका कारण एकजना हिरासत बाहिर रहे पनि ३० जना प्रहरी नियन्त्रणमा छन् ।

पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् ।