कविता : विषम परिस्थिति
-सुमिना अभिलाषी
सर्वत्र निराशा छ यहाँ
दु:ख दु:ख सँग आलाप गरिरहेछ !
वेदनाको भाषा रोजेर निराशा नै निराशा हिँडेको छ
लगाउँदै युगभरि बिडम्बनाका सुस्केराहरू …..
सल्किन खोज्दाखोज्दै क्षणभरमै
किन निभ्छन् ऊर्जाका मसालहरू ..?
उड्न खोज्दा खोज्दै काँपेर
किन पछारिन्छन् आकाङ्क्षाको आकाशबाट
अचानक स्वतन्त्रताका सपनाहरू ?
चिच्याउन खोज्दाखोज्दै नेपथ्यमै
किन बिलीन भई जान्छन् क्रान्तिका आवाजहरू ?
लेख्न खोज्दाखोज्दै
किन मेटिन्छन् विद्रोहका अक्षरहरू ?
लड्न खोज्दा खोज्दै
कुन त्रासमा झुकिजान्छन् आँखाहरू ?
मुस्कुराउन खोज्दाखोज्दै
किन मलिन हुन्छन् ओठहरू ?
देशबाट गणतन्त्रको डोर खिचेर
कसले गरिरहेको छ
शासनको नाममा भयानक त्रासको खुलेयाम प्रचार ?
किन यति फितलो छ सुशासन ?
उर्फ, अराजक व्यवस्था !
न्याय हराएको त अन्तराल भयो
अन्यायले थिचिएर रोएका छन् निमुखाहरू !
हत्या, हिंसा, बलात्कार, लुटपाट किन बनेको छ समाजको दैनिकी ?
चौतर्फी अस्थिरता ,
लथालिङ्ग छ देशको हालत !
मैले धेरै प्रयास गरें –
यो अस्थिरता र भद्रगोल चिरेर यी जटिल प्रश्नहरूको फेदबाट
आफ्नो कवितामा जसरी पनि देशको सुन्दर मानचित्र उतारूँ !
तर भागिदिन्छन् शब्दहरू अदृश्य बनिदिन्छन् बिम्बहरू !
दिशाभ्रमित बनिदिन्छन् अक्षरहरू ,
दुरुस्त यो देश जस्तै गरि भड्किदिन्छन् भावहरू !
अहो ! कोहाहल र भद्रगोल परिस्थिति चिरेर
आफूलाई एकाग्र गर्नु पनि मुस्किल घडी पो रहेछ !
ए साथी ! यो विषम परिस्थितिमा त
एक सक्षम कवि बन्नु पनि आफैँमा झन् जटिल समस्या पो रहेछ !!
बुटवल रुपन्देही