कबिता : सौभाग्य - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कबिता : सौभाग्य



© “ए.पी.” सुमन

तिमी यो घरमा बेहुली बनेर

भित्रिएको दिन,

आकाश साँची छ

त्यो चकमन्न चाँदनी

तिम्रै पाउको बाटो भएर

भित्रीएको थियो र

तिम्रो शिरमाथिको सौ–भाग्य देखेर

भाग्य आफै सय गुणा चकित भई

उपहारमा तिमीलाई तिम्रो बगैँचामा

रातो गुलाफ पठाएको थियो,

तिम्रो शिरको सिन्दूरको रंगभन्दा नि

रातो गुलाफ र यो

समसान जस्तै सुनसान घर

तिमीले आफ्नै ओठको लालीले

रंगाएकी थियौ

आफ्नै चुराको छनछन्ले घन्काएकी

थियौ ….

आज बर्षदिनको दिनकै कुरा हो,

तिम्रो सिउँदो भरेको हात

सखारै रातो बाकसमा फर्किएपछि,

तिम्रो बगैँचापनि तिम्रो सिउँदोजस्तै

खाली भएको छ,

तिम्रो हात र गलाजस्तै

बाँझो भएको छ,

किनकि

गुलाफहरु पनि तिम्रो साडीको

रंगभन्दा सेतो फुलेका छन्…

तिम्रो हत्केलाको दाहिने भागमा

अझैपनि नमेटिएका मेहेन्दीका

दागहरु

र नभेटिएका खुशीका आकाशहरु

बीच

तिमीलाई धर्धर्ती रुवाएर यो धर्ती

अब कहाँ गएर

सन्तोषको सास फेर्छ होला ??

र तिमीमा दुनियाँले दाग

थुपारिरहेको देखेर तिमीलाई

खिस्सी गर्न पल्केको यो जून

कुन आकाशको परिधिबाट

कुन विश्वासको आखाँले

कुन धरातलको ऐनामा

कहिले आफ्नो मुहार हेर्छ होला ??,

बिन्ती त्यतिञ्जेलसम्म तिमी पनि

अब त्यो जूनलाई नहेर्नु है …..

अनि तिम्रो विहेको रातो साडी र

निर्मम चुडिएको जवानी

सन्दुकमा थन्किएदेखि

अाधा तन्किएको यो दुनियाँको कुदृष्टि

बीच

तिम्रो गर्भभित्र हुर्कदै गरेको सृष्टिलाई

भगवानको नाम चाहिँ नदिनु ल

(लेखक भारतको लक्ष्मिनगरमा सी ए अध्यानरत छ)