सुकीलाई अदालतले सुनायो चार वर्षको जेल सजाय
बीबीसी । म्यानमारकी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ । उनीमाथि लगाइएको विभिन्न अभियोग मध्येको यो पहिलो चरणको सुनुवाइ हो । ती सबै आरोपका लागि उनलाई आजीवन काराबास पनि हुन सक्ने बताइएको छ ।
अहिले उनीमाथि शान्ति भंग गरेको र आपतकालीन कानुन अन्र्तगत कोभिडको नियम उल्लंघन गरेको अभियोग छ । सुकीमाथि कूल ११ मुद्दा लगाइएको छ, जसमा उनले सबै आरोप अस्वीकार गर्दै आएकी छन् ।
म्यानमार सेनाले फेब्रुअरीमा सत्तालाई आफ्नो कब्जामा लिएदेखि नै सुकीलाई आफ्नै घरमा नजरबन्दमा राखिएको छ । सेनाले उनको विजयी पार्टीका सबै सरकारी अधिकारीहरु निस्कासन गरी आफ्नो शासन चलाएको हो ।
तर, यसमा सुकीलाई तुरुन्तै जेलमा लगिन्छ अथवा लगिँदैन या कहिले कारबाही सुरु हुन्छ भन्ने स्पष्ट भएको छैन ।
सुकीसँगै उनको पार्टी नेस्नल लिग फर डेमोक्रेटिकबाट पूर्वराष्ट्रपति विन मिन्टलाई पनि सोमबार तिनै अभियोगमा जेल पठाइएको बताइएको छ ।
यसबाहेक ७६ वर्षीया सुकीमाथि भ्रष्टाचार र प्रशासनिक गोपनीयता भंग गरेका जस्ता गम्भीर अभियोग लगाइएको छ ।
अदालतमा उनको उपस्थितिबारे निकै कम जानकारी बाहिर ल्याइएको छ । यसअघि सेनाको नयाँ विपक्षी समूह, नेस्नल युनिटी गभरमेन्टका प्रवक्ताले सुकी संघर्षरत अवस्थामा रहेको बताएका थिए ।
डाक्टर सासाले भनेका छन्, “सुकी ठीक छैनन् । सेनाका जेनेरलहरुले उनलाई १०४ वर्षको जेल सजाय तोक्ने तयारी गरिरहेका छन् । उनीहरु सुकीको जेलमै मृत्यु होस् भन्ने चाहन्छन् ।”