पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशद्बारा बचत रकम राज्य कोषमा फिर्ता - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशद्बारा बचत रकम राज्य कोषमा फिर्ता



कैलाली । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेश सरकारबाट कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सूचना तथा सन्देशहरू प्रकाशन प्रसारण गर्नका लागि प्राप्त अनुदान रकममा बचत भएको २ लाख १० हजार चार सय अठहत्तर रुपैयाँ राज्य कोषमा फिर्ता गरेकोे छ ।

महासङ्घका प्रदेश अध्यक्ष अर्जुन शाह र महासचिव योगेश रावलले मंलगबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव तेजप्रकाश जोशीलाई बचत रकमको चेक हस्तान्तरण गरेका हुन् ।

नेपाल पत्रकार महासङ्घ मार्फत परिचालन हुने गरी कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले मिडिया परिचालन (सूचना तथा सन्देशहरू प्रकाशन तथा प्रसारण) गर्न महासङ्घलाई ३४ लाख ५५ हजार अनुदान दिएको थियो ।

महासङ्घका अनुसार सुदूरपश्चिमका नौ वटै जिल्लामा प्रशारणमा रहेका ७४ वटा एफएम रेडियो, ४६ वटा साप्ताहिक, ५१ वटा दैनिक पत्रपत्रिका र दुई वटा स्थानीय टेलिभिजनबाट कोभिड –१९ को रोकथाम तथा नियन्त्रणका लागि सूचना तथा सन्देशहरू प्रकाशन प्रसारण गरिएको छ ।