कथा : छचल्किएको एउटा बूँद - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कथा : छचल्किएको एउटा बूँद



– अशोक गुप्ता

आँखा खोल्ने बित्तिकै उसले ओछ्यान छोडी र कोठाको झ्यालछेउ आएर बसी। बाहिर भर्खर बिहानी ओर्लिँदै थियो। सूर्यको आगमन हुन बाँकी नै थियो र चराहरूले रूखमा आफ्ना गीतहरूको कवाज सुरु गरिसकेका थिए। उसको कोठा त्यस घरको माथिल्लो तलामा थियो। कोठा अगाडि बरन्डा थियो जसको छेउबाट लिस्नो तल उत्रिन्थ्यो। कोठाको झ्याल घर पछाडिको एउटा मैदानतिर खुल्थ्यो जसलाई भन्न त पार्क भनिन्थ्यो तर हेर्दा कुनै पनि रूपमा पार्कजस्तो देखिन्नथ्यो। तर त्यहाँ भएको प्रशस्त हरियाली मै चराहरू रमाएका थिए।

ऊ झ्यालका छेउमा अडेस लागेर बाहिर भएका चराहरूसँग एकाकार भएकी थिई।  सबै चराहरूले आआफ्नो भाषामा केही भनिरहेका थिए। ऊ पनि आफ्नै भाषामा मनमनै केही भनिरहेकी थिई। त्यसो त भन्ने कुरा धेरै थिएनन् र सीमित कुराहरूलाई दोहोर्‍याउँदा पनि पुराना लाग्दैनथे। मनमा गरेका हरेक उच्चारणले उसका शरीरमा कम्पन छुटाउन खोज्थ्यो मानौँ उसले भनेका कुरा जादूलेझैँ एकै पटकमा सत्य होऊन…। र त्यो सबैले मानून्। वास्तवमा यस्तो हुन सम्भव थियो र ? कुनै महिलाका जीवनमा उसले भनेका कुरा सत्य वा सफल हुन त परै जाओस्…. सुनिएकै पनि कति छन् र ? तर पनि उसले आफ्नो हठ छाडेकी थिइन। बाहिर बिहानीको आगमन सँगसँगै पक्षीहरूले स्वतन्त्रताको तसबीर बनेर उसलाई भरोसा दिलाइरहेका थिए – त्यस स्वतन्त्रताको सूचीमा उसको नाम पनि लेखिनेछ, ऊ बाँच्दै, आज नत्र भोलि, बढी भए पर्सी सम्म। यस्तो अनुभवले उसका अनुहारमा खुसीका अक्षरहरू लेख्न थालिसकेको थियो जसको अनुवाद उसको बाहिरी जीवनमा त कतै थिएन तर ऊभित्रको संसार अक्षरहरूको सुगन्धले सराबोर थियो। उसले जीवनमा धेरै कुरा झेलेकी थिई। उसका शरीरका नीलडामहरू भरिभराऊ थिए, नङ र दाँतले कोतरेका दागहरू टन्नै थिए तर किन हो उसको हिम्मत कहिल्यै हल्लिँदैन थियो। सायद यसैले होला उसको दृष्ट अगाडिका मैदानमा उडिरहेका चराहरूको कवाजसँग जोडिएको थियो मानौँ ऊ पनि ती मध्ये कै एक हो।

त्यसैबेला खाटमा सुतिरहेको पुरुष हाइ काड्दै उठ्यो। आदत अनुसार हात जोड्यो र हत्केला अगाडि पारेर हेर्न थाल्यो। ऊ सँधै बिहान उठेपछि हत्केला हेर्थ्यो, कहिले देखि हेर्थ्यो उसैलाई थाहा थिएन। यस कुरामा गर्व थियो पुरुषलाई। गर्व त उसलाई जिन्दगीका थुप्रै कुराहरूमा थियो तर हरेक गर्वका कारक तत्वहरू ऊ पुरुष भएको कुरासँग गएर जोडिन्थे।…. जस्तो उसका पिता पुरुष थिए त्यसैले आमालाई झट्टै छोडेर भगवानका घरतिर लागे। त्यसभन्दा पहिने पनि उनी आमालाई छोडेर अनेक ठाउँ गइरहन्थे, उनको यस्तो हिँडाई आमाका लागि तरबारको धारझैँ हुन्थ्यो। छोयो कि काट्ने। ती पुरुषका पिता “पुरुष” नभएर “महिला” भएका भए सबै बाटाहरू रगतले पोतिएका हुन्थे। तर पिता त पुरुष थिए।

आफ्नो हात हेर्ने नित्य कर्म सकेर पुरुष झ्यालनेर घरबाहिर पार्कको हरियाली हेरिरहेकी महिला भएको ठाउँमा पुग्यो। केही बेर पछाडि ऊ बोल्यो – “यस पार्कमा कमिटीवालाहरूले कुनै नेताको पूर्णकदको मूर्ति स्थापना गर्ने विचार गरिरहेका छन्।”

“उफ् … यी चराहरूलाई के हुने हो ….?”

“किन र चरालाई के हुन्छ ? पार्कको एकातिर पूर्णकद मूर्ति अर्कातिर गाउने – उफ्रिने चराहरू आआफ्ना ठाउँमा, हुँदैन र ?”

महिलाले पुरुषको झर्कोको जबाफ अर्को प्रश्न तेर्स्याएर दिई – “अँ अनि के त ? त्यस्तै कुरा यस घरको छानामुनि किन हुन सक्तैन ? तिमी पूर्णकद एकापट्टि बाँचीरहू र म तिनै स्वतन्त्र पक्षीझैँ आफ्नो ठाउँमा बाँचीरहूँ। भन, किन हुन सक्तैन ?”

महिलाको कुरा देखि फेरि पुरुषलाई झर्को लाग्यो। करिब पन्ध्र मिनेटदेखि यस स्त्रीले आफ्नो स्वतन्त्रताको प्रश्न शिरमा लिएर बसेकी छे। हरेक प्रसङ्गमा यही प्रश्न। आज बिहानै फेरि चराहरूको उदाहरण दिएर सुरु…त्यसो यत्तिकैमा पुरुषले हात छोडी सक्थ्यो तर त्यो आइतबारको दिन निकै खास थियो र ऊ मुस्कुराइरहेको थियो।

“के गर्छ्यौ स्वतन्त्रताको ….? के छ विचार….?” “विचार” भन्ने शब्द बोल्ता पुरुषका अनुहारमा अश्लील भावना आएर फर्किएको थियो।”

“हाँस्छु, रुन्छु, मनको कुरा गर्छु, मानिससँग कुरा गर्छु र खुला हावालाई छोएर हेर्छु, त्यसको ताजापन साँच्चिकै हुन्छ वा त्यो कुरा सायरहरूको फत्तुर मात्र हो।”

“त्यत्ति ?”

“त्यत्ति।” महिलाले स्वीकृति दिई।

“ल जाऊ, दिएँ। तर एउका कुरामा कुनै छुट दिन्नँ।”

“के मा ?”

“मैले मागेका बेला, दिउँसो, राति, जहिले पनि, जहाँ पनि, तिमी तुरुन्तै मेरो ओछ्यानमा हुनेछ्यौ। इमानदार पत्नीजस्तै…अनि त्यसबेला जस्तो सुकै तरिका अपनाए पनि उफ गर्न पाउनेछैनौ।”

“हुँदैन, यो त हुँदै हुँदैन।” महिला लगभग चिच्याई। “यही त सबभन्दा ठूलो बन्देज हो। तेजाबको पोखरीमा डुबाएर राख्ने जस्तो सर्त हो। अहँ, मान्न सक्तिनँ।”

“किन …..?” पुरुष गर्जियो।

“किनभने त्यतिबेला तिम्रा शरीरबाट मलाई अरू बेबस आइमाईहरूको गन्ध आउँछ, तिनका अनिच्छाको, तिनका आँसुको, तिनका रगतका छिटाको र तिनका विवशताको गन्ध आउँछ। म ती गन्धको कोलाहल सहन सक्तिनँ।”

पुरुषलाई यस्तो बयान वाहियात लाग्यो। तर आज ऊभित्र मोजमस्तीको एउटा लहर उठेको थियो र त्यसैमा ऊ बाँधिएको थियो। हिजो बेलुका उसले साथीहरूसँग मिलेर रक्सीमा बिताएको थियो र रातभरी आफ्नी स्वास्नीलाई मासु चिकन गिजोलेझैँ गिजोलेको थियो। त्यसैको उन्मादी तरङ ऊभित्र बाँकी नै थियो। पुरुष फिस्स हाँस्यो – “त के, पुरुषको साथ छाडेर जोगी बन्छ्यौ ?”

“हुन पनि सक्छ..। सायद यस्तो पुरुषको प्रतीक्षा गर्ने छु जसको इच्छा न मेरो शरीरको गन्ध होस् न दर्जनौँ आइमाईहरूको रोदनको राग। पुरुषको साथ नभैकन नि मज्जाले बाँच्न सकिन्छ तर यहाँ त साङ्लामा बाँधिएका जनावरभन्दा पनि निकृष्ट छु। तिमी मलाई ती पक्षीझैँ स्वतन्त्र बाँच्न देऊ।”

पुरुष हाँस्यो – “बेकुफ आइमाई, ती चराहरूको जिन्दगीको के भर ? तिनका पछाडि मृत्यु, ती अण्डाबाट बाहिर निस्कनअगाडि देखिनै लागेको हुन्छ।”

“ठीकै हो, तिनमाथि भएको कुनै पनि आक्रमण, चाहे बिरालाको पञ्जाको होस् या शिकारीको जालको, पहिलो र अन्तिम हुन्छ। बाचुन्जेल स्वतन्त्र मरे पछि खेल खतम्।”

पुरुष फेरि हाँस्यो – “ठीकै छ। बहस बन्द गरौँ। जाऊ तिमीलाई दिएँ स्वतन्त्रताका तीन दिन। मात्रै तीन दिन। तिमी आफ्नो स्वतन्त्रता जाँच। मलाई थाहा छ, दोस्रो दिन मै तिमी सर्त हारेर मेरा छेउमा आउनेछ्यौ। त्यसबेला कुनै दया वा छूटको कुरा नगर्नू। मन्जुर ….?”

“मन्जुर….।” महिलाले भनी र त्यसैबेला स्वतन्त्र पक्षीमा परिणत भई। ऊसित तीन दिन थिए। यी तीन दिनमा उसले आफ्नो जिन्दगीलाई सानो टुक्रा बाट विशाल समुद्र बनाउने छे। मर्ने छे बरू, तर पिँजडामा फर्किने छैन। तीन दिन बाँचियो भने चौथो दिनको प्रतीक्षा त परको कुरा भयो।

यस घटनाले महिलामा अनौठो परिवर्तन ल्यायो। पन्ध्र वर्षसँगै बिताएको पुरुष की स्त्रीका रूपमा उसले पहिलो पल्ट उसको हात समातेर “मन्जुर” भन्दै चुमी। स्त्रीका लागि जम्माजम्मी विवाहित जीवनमा यो पहिलो अवसर थियो जसमा उसले मागेको कुरा पाएकी थिई।

स्त्रीको चुम्बनले त्यस पुरुषमा पनि अनौठो असर गरेको थियो र ऊ त्यस असरबाट सराबोर भिजेको थियो। तर उसलाई महिलाले आफ्नो स्वतन्त्रताको सम्भावना देखेर प्रकट गरेको स्वीकारोक्ति  हो भन्ने भानसम्म पनि थिएन। उसले आइसक्युबझैँ दिएको उपहार पन्ध्र वर्षमा दिएको सबैभन्दा मूल्यवान् उपहार थियो भन्ने कुरा उसले बुझेको थिएन। उसलाई आइसक्युब पग्लिनका लागि तीन दिन त के तीन घण्टा पनि लाग्दैन भन्ने थियो। यी तीन घण्टा जति भए पनि पुरुषका लागि मनोरन्जनका रूपमा थिए। ऊ यस खेलको प्रस्तावनामा खुसी थियो।

स्वतन्त्रताको पहिलो दिन महिलाले आफू काम गर्ने अस्पतालको मेट्रनसँग सुरु गरी। मेट्रन उसकी साथी थिई। महिलाहरूको मात्र त्यस अस्पतालमा ऊ रिसेप्सन अटेन्डेन्ट थिई। त्यहाँकी मेट्रनको काम पनि अचम्मको थियो। बिरामीलाई भेट्न आउने र आफन्तहरूसँग कुरा गरेर डाक्टरहरूलाई उपचारमा मद्दत पुर्‍याउनु मेट्रनको काम थियो। त्यहाँका डाक्टरहरूको धारणा महिलालाई लाग्ने धेरैजसो रोगहरू शारीरिक नभएर मानसिक कारणले लाग्छन् र महिलाका शरीरले तिनै मानसिक बिरामीको असर झेल्छन् भन्ने थियो। यसरी मेट्रनले आफ्नै अस्पतालमा सल्लाहकारको भूमिका पनि निर्वाह गरिरहेकी थिइन्। वास्तवमा भन्दा त्यो अस्पतालको नाम र काम तिनै मेट्र भरमा अडिएको थियो। ती मेट्रन् बिरामीका मान्छेसँग बोल्नुभन्दा बढी तिनका कुरा सुन्थिन्। धेरै जनासँग बोल्ने उनको बानी थिएन।

स्वतन्त्रताको पहिलो दिन मनाउन महिला मेट्रनको घरमा गई र उनीसँग एक दिन मागी। दिनभरी दुई सखाहरू सहरभरी घुमिरहे। लगातार कुरा गरिरहे। यो उनीहरूले आफ्ना जिन्दगीका बारेमा कुरा गरेको पहिलो मौका थियो। कुराका बीचबीचमा साथीहरू हाँस्दै रूँदा गरिरहे। उनीहरूले केही समय एउटा पार्कमा पनि बिताए। त्यस पार्कमा पक्षीहरू बाहेक केटाकेटीका हातबाट रङबिरङ्गी चङ्गाहरू पनि उडिरहेका थिए। अचानक मेट्रनले आकाशमा उडिरहेका सबै चङ्गाहरूको डोरी केटाहरूको हातमा भएको कुरा भनिन्। त्यहाँ केटीहरू पनि प्रशस्तै थिए। मेट्रनले अर्को एउटा कुरा पनि पक्रिइन् – चङ्गाका नामहरू सबै केटीका थिए र केटाहरू उफ्री-उफ्री तिनै नाम कराइरहेका थिए।

यस कुराले महिलालाई भावुक बनाइदियो। उसले मेट्रनलाई बिजुलीको तारमा फँसेको चङ्गा देखाई र भनी – “के अब म त्यही हूँ ?”

मेट्रनले उसलाई धाप मार्दै भनिन् – “पगली हिजोसम्म तँ त्यो थिइस्, आज त तँ ऊ त्यो होस्…..।” उनले उडीरहेको भँगेरातिर इसारा गरेकी थिइन्। अनि दुवै साथीहरू खित्का छोडेर हाँसे।

बेलुकीसम्म महिलाले आफ्नी साथीसँग कुरा गरीरही। मेट्रनका श्रीमान् दुबईमा थिए र छोरो त्यही सहरमा मेडिकल रिप्रेजेन्टेटिभ थियो। छुट्टिने बेलामा मेट्रनले एउटा कुरा भनिन् – दिनभरी घुमफिर गर्दै पुरुषले उसको चियो गरिरहेको थियो। सुनेर महिला खित्ता चोडेर हाँसी।

“ठीकै छ, मेरो एक दिन मलाई प्राप्त भयो र उसको एकदिन उसबाट खोसियो।”

पहिलो दिन सकिँदा नसकिँदै महिलाको मस्तिष्कमा दोस्रो दिनको कार्यक्रम स्पष्ट भइसकेको थियो। तर पहिलो र दोस्रो दिनको बीचमा एउटा सिङ्गै रात बाँकी थियो र स्वतन्त्रताका लागि रात कति अहम हुन्छ भन्ने कुरा महिलाले बुझिसकेकी थिई। पहिलो दिन महिला घर फर्किए पछि पुरुष उसकै वरिपरि घुमिरह्यो। पुरुषले महिलाबाट दिउँसो गरेको चियो चर्चोका बारेमा प्रस्न गर्नेछ भन्ने आस गरेको थियो। महिलाले केही गरिन। पुरुषलाई नदेखेजस्तो गर्दै उसले आफ्नो कुर्सी त्यही झालको छेउमा लिएर गई जहाँबाट मैदान देखिन्थ्यो। अँध्यारो पुरै नहटेको भए पनि टिमटिमाउँदो उज्यालामा मैदानले आफ्नो स्थिति जनाइ सकेको थियो। उसले पर्सबाट एउटा कागज निकाली जसमा मेट्रनले केही फोन नम्बरहरू दिएकी थिइन्। कागज हेर्दै ऊ नम्बरहरू आफ्नो मोबाइलमा फिड गर्न थाली। पुरुष खाटमा बसेर अखबार पढेजस्तो गर्न थाल्यो, किनकि ऊ अखबारमा रुचि राख्ने मान्छे थिएन।

घरको तल्लो तलाको एउटा कोठामा पुरुषकी आमा बस्थिन्। भान्साकोठा र बैठक कोठा पनि त्यसै भागमा पर्थ्यो। बीचमा एउटा आँगन थियो र आँगनको अर्कोपट्टि त्यस्तै कोठाहरू निर्माण गरिएका थिए जसलाई पुरुषका मामाले भाडामा लिएको थियो। मामा स्कुल मास्टर थिए र बेलुका प्रपर्टी डिलरको काममा मुन्सीको काम गर्थे।  उनको परिवार गाउँमा थियो जहाँ उनी हप्ता दसदिनमा एकपल्ट फन्को मारेर आउँथे। पुरुषसित एउटा मोटर साइकल पनि थियो जुन कहिलेकाहीँ ऊ मामालाई दिने गर्थ्यो। पुरुषको  मामा पनि पुरुषै थियो, त्यसैले त आफ्नो परिवार गाउँमा राखेको थियो।

महिला आरामले मोबाइलमा नम्बर फिड गरिरहेकी थिई, त्यसैबेला तल्लो तलाबाट आमाले खाना खान बोलाइन्। सुनेर महिलाले आफू खाना खाएर आएको कुरा भनी। पुरुषलाई यो कुरा पहिले नै थाहा थियो। उसले महिला मेट्रनसँग होटल छिर्दै गरेको देखेको थियो। पुरुष एक्लै खाना खान तल ओर्लियो।  फर्केर आउँदा महिला उनीहरूको साजा खाटदेखि अलग्गा सोफा-कम-बेडमा  कम्बल ओडेर सुतिरहेकी भेट्टायो। जाडाको मौसम भएकाले हरेक दिन जाडो बढीरहेको थियो। यस्तो मौसममा पनि महिला एकसरो कम्बल ओडेर गहिरो निद्रामा सुतिरहेकी थिई। पुरुष झ्यालनेर गएर सिगरेट पिइरह्यो र महिला हलचल नगरी सुतीरही। पुरुष बत्ती निभाएर ओछ्यानमा गई सुत्यो। उसको पनि एक दिन सकिएको थियो।

अर्को दिन पुरुष बिउँझदा महिला कोठामा थिइन। छक्क परेर बाहिर  बरन्डामा आउँदा तल आमासँग भएकी महिलाको आवाज सुनियो।  खुसीले भरिएको आवाजसँग आमाको हाँसो पनि मिसिएको थियो। नुवाई-धुवाई सकेर तयार परी मोटर साइकलको चाबी हातमा लिई घुमाउँदै तल ओर्लँदा महिला नास्ता  बनाइरहेकी थिई र आमा आँगनमा धोएका लुगा सुकाइरहेकी थिइन्। पुरुष तल ओर्लिएपछि आमाले उसलाई नास्ता दिइन् र बुहारीले आज बिदा लिएको कुरा पनि सुनाइन्। बुहारीलाई कतै काम छ रे भन्ने कुराको जानकारी दिइन्। पुरुषले आमालाई महिलाले हिजो पनि छुट्टी लिएको कुरा बतायो। यसमा पनि आमाले नै प्रत्युत्तर फर्काइन् – “वर्षको अन्त्यमा ल्याप्स हुने बिदा त लिनै पर्‍यो नि !”

आमासितको कुराबाट पुरुषले उसको र महिला बीचको स्वतन्त्रताको तीन दिने सर्त र कार्यक्रमबारे आमालाई जानकारी नदिएको कुरा चाल पायो। स्वतन्त्रताको कतै आभास पनि दिइएको थिएन आमालाई, आमा पनि महिला नै त थिइन्।

पुरुष बाहिरिए पछि महिलाले मेट्रनले दिएको नम्बर मध्येबाट एउटा डायल गरी। यो नम्बर एकजना बिरामीका बाबुको थियो जो स्थानीय कलेजका लाइब्रेरियन थिए। उनीबाट महिलालाई सिटी लाइब्रेरीमा काम गर्ने एउटा विद्यार्थीको नम्बर प्राप्त भयो। महिलाले विद्यार्थीलाई फोन गरी र दिउँसो सिटी लाइब्रेरी पुगी। त्यहाँ गएर सदस्यता लिई। त्यस केटाले आफ्नो काम नसकुन्जेल ऊ त्यहीँ बसेर पढी रही। लाइब्रेरीमा बसेर आफूले चाहेको किताब पढ्दा अचम्मको नौलो अनुभव भैरहेको थियो। कुनै बाधा-अवरोध वा रोक-टोक बिना किताबमा डुब्दा उसलाई चराको पखेटा पलाएझैँ भएको थियो। त्यसैबेला केटाले उसलाई बोलायो र कफीको कप जिम्मा लगायो। त्यस केटाले त्यहाँको नोकरीसँगै फाइन आर्ट पनि सिकिरहेको कुरा गफगाफकै क्रममा पत्ता लाग्यो। महिला लाइब्रेरीबाट उसँगै फाइन आर्ट कलेजमा गई। केटाको क्लास हुन्जेल उसले ग्यालरीमा घुमीघुमी चित्रहरू हेरी. त्यहाँ कतिपय यस्ता आकृतिहरू थिए जसलाई बुझ्न महिलालाई गाह्रो लागिरहेको थियो। नबुझेरै पनि कतिपय आकृतिहरू बोलीरहेका थिए, केही हलचल गरिरहेका थिए। ग्यालरीको एउटा भागमा करिब बीसवटा जति त्यस्ता पेन्टिङहरू थिए जसलाई कुनै अर्को भलाद्मी वा त्यस पुरुषले देखेको भए अश्लील घोषणा गरिदिन्थे। सबै तसबीरहरूमा महिला थिए र तिनका शरीरमा कुनै लुगा थिएन। सबैका आँखामा दुःखको गहिरो पोखरी देखिन्यो। ओठहरू यस्ता देखिन्थे मानौँ भित्रबाट निस्किने शब्दहरूलाई बाहिर निस्कन नदिने ती फाटकहरू हुन्। तिनका ढाडमा बेतका नील डामहरू देखिन्थे, छातीमा दाँत र नङ्ग्राका दागहरू…. एउटा चित्रमा एउटी महिलाको मुखको साटो ताल्चा बनाइएको थियो र जीउमा सर्प बेरिएको थियो। ती साराका सारा पेन्टिङहरू चिच्याइरहेका थिए तर तिनले भनेका अक्षर उसले बुझिरहेकी थिइन। ऊ ती पेन्टिङसँग जोडिँदै गइरहेकी थिई तर आफूले केही पाएको अनुभव उसलाई भैरहेको थिएन। महिलालाई यी पेन्टिङहरूको नजारा अद्भूत लागिरहेको थियो। यस्तो संसार जुन उसले देखेकी थिइन र जसलाई ऊ नजर अन्दाज गर्न पनि सक्तिनथी।

महिला ती पेन्टिङ हेर्नमा त्यति मग्न थिई कि कतिबेला देखी त्यो केटो पछाडि आएर आफूले तन्मय भएर चित्र हेरिरहेको नियाली रहेको थियो थाहा पाइन। अचानक केटालाई देखेपछि उसले अधीर भएर सोधी – “यी महिलाहरूको तसबीर किन यस्तो छ ? एकदम निर्वस्त्र ?”

“किनकि महिलाहरू आफ्ना शरीरमात्र होइनन्। शरीरदेखि बाहेक पनि उनीहरूमा थुप्रै कुरा छ…..।”

महिला त्यहीँ उभिएर थरथर काम्न थाली। उसलाई लाग्यो ऊभित्र कतै आँधी तुफान चलिरहेको छ। त्यसलाई बुझेर बाहिर निकाल्नु छ। त्यस केटाले भनेको कुरा उसका लागि पर्याप्त थिएन। बाँकी कुराको खोजी ऊ आफैँले गर्नु थियो। उसलाई कतै उज्यालो प्राप्त भएझैँ लाग्यो – स्वतन्त्रता प्राप्ति पछि उसको व्यवहार के हुने हो ! स्वतन्त्रता उसले आफ्नै लागि खोजेकी थिई तर किन ! ऊसँग त्यसको जबाफ स्पष्ट थिएन। आफ्नो तीन दिने स्वतन्त्रताको दोस्रो दिन किताब र कलाको संसारमा एउटा टुक्रो स्वतन्त्रता उसले भेटेकी थिई।

उसको हालत देखेर केटो हडबडायो। उसको उमेर महिला भन्दा निकै कम थियो, चिनेको पनि धेरैबेर भएको थिएन। अगाडि आएर महिलासँग सोध्यो – “तपाईँ ठीक त हुनुहुन्छ ?”

“अँ म ठीक छु, तिम्रो कार्यक्रम के छ ?”

“मेरो अर्को क्लास पनि छ, निकै लामै जान पनि सक्छ।”

“ठीकै छ, तिमी जाऊ, म यहीँ बसिरहन्छु।”

केटाले जाँदाजाँदै पक्षीमा परिणत हुँदै गरेकी एउटी महिलालाई देख्यो। महिलालाई करिब सवा घण्टा ग्यालरीहरूमा घुमेर यो बुझ्नु जरूरी तियो कि पखेटा खोजी गर्दाको पनि एउटा पीडा हुन्छ र पाउँदा पनि पीडाको नदीलाई पार नगरी कुनै पनि मानिस पक्षी बन्न सक्तैन, चाहे त्यो पुरुष होस् या महिला।

केटाले क्लास लिउन्जेल महिलाले घुमी घुमी ती तसबीरहरू हेरिरही जसमा बेमतलबका चीहरूबाट यति धेरै मतलब निकालिएको थियो कि त्यसका वेगमा सबै हराएझैँ लाग्थ्यो। अर्थको नाममा महिलालाई केही आइरहेको थिएन तर ती तसबीरहरूबाट पीडाका रेखाहरू धमाधम बटुलिरहेकी थिई। पीडाका रेखाहरूबाट लुकेका अक्षरका अर्थहरू खोज्ने काम त अब उसैको थियो।

केटो फर्केर आउँदा महिलालाई एउटा खाँबामा अडिएर आँखा चिम्लिएर बसिरहेको देख्यो।  केही क्षण त्यहीँ उभियो र फनक्क फर्कियो। फर्किँदा ऊसित एकजना सिनियर प्रोफेसर पनि थिए। उनले महिलालाई एकछिन हेरे र आफैँ झण्डै जडवत भए। केटाले मोबाइलबाट महिलाको फोटो खिच्न खोज्दा प्रोफेसरले रोकिदिए।

“यति गहिरो र अर्थपूर्ण दृश्यबिम्बलाई यसरी खेर नफाल….रोकिएर आँखामा भर र कुनै बेला क्यानभासमा उतार।”

प्रोफेसर त्यति भनेर फर्किए। केटो अगाडि बड्यो र महिलाको काँधमा छोयो। महिलालाले आँखा नखोलीकनै भनी – “क्याफ्टेरियामा जाऊ, म आउँदै छु।”

महिला पाँच मिनेट पछि क्याफ्टेरियामा पुगी। यसरी मानौँ ऊ सपनामा हिँडिरहेकी छ। क्याफ्टेरियामा दुवैले खाए र बाहिर निस्केर केटालाई केही नबनी उसले अटोरिक्सा रोकी, त्यसमा बसी र हिँडी।

यो दोस्रो दिनको क्रियाकलापको उपसंहार थियो। घर पुगेर उसको बेलुकी हिजोको जसरी नै झ्यालनेर बसेर बाहिर मैदानतिर हेर्दै बित्यो। बेलुकीको खाना सले दोस्रो दिन पनि घरमा खाइन र राति सोफा-कम-बेडमा हिजैको जस्तो गहिरो निद्रा सुती।

दोस्रो दिन पनि उस्तै बितेकाले पुरुष बेचैन भयो। उसले गरेको अनुमान बिपरीतको स्थिति आइपरेको थियो। तर उसले गर्नै पो के सक्थ्यो र ? बिहान स्वास्नीलाई आमासित देखेर उसलाई यी सब कुरा चापलुसीका पाइला हुन् भन्ने लागेको थियो तर दोस्रो दिनको रिपोर्टले ऊ निकै विचलित भएको थियो। महिला परपुरुषसँग लाइब्रेरीबाट निस्कदैँ गरेकी देखिएकी थिई। उसलाई फाइन-आर्ट कलेजको क्याफ्टेरियामा एउटा मानिससँग बसेको पनि देखिएको थियो। पुरुषलाई यी खबरहरू बेग्लाबेग्लै व्यक्तिहरूले पुर्‍याएका थिए। उसलाई आफ्नी स्वास्नी दुईजनासँग दुई अलग ठाउँ गई भन्ने कुरा लागिरहेको थियो। ऊ अत्तालिईसकेको थियो। जे भए पनि पुरुष दोस्रो दिन पनि ओछ्यानमा एक्लै सुत्यो।

स्वतन्त्रताको तेस्रो र अन्तिम दिन।

पुरुष बिउँझदा सोफा-कम-बेड खाली थियो। हडबडाएको पुरुष बाहिर बरन्डामा निस्कँदा तल्लो तलामा आमालाई एक्लै बिरूवामा पानी हालीरहेको देख्यो। आमालाई बोलाऊँ भन्दाभन्दै पुरुष रोकियो र त्यत्तिकै कोठाको झ्यालनेर आएर उभियो। बिहानीको उज्यालो खुल्न दैनन्दिन ढिलो हुने मौसम थियो। फेरि त्यसदिन ऊ सधैँको भन्दा छिटो बिउँझेको थियो। बाहिर सूर्य उदाएको त थिएन तर उज्यालो यति थियो कि टाढा टाढासम्म मैदान स्पष्ट देखिन्थ्यो। यत्तिकैमा पुरुषको दृष्टि एक ठाउँमा जडवत् भयो।

उसकी स्वास्नी पार्क भनिने मैदानमा थिई…बिलकुल नाङ्गै…उसका शरीरमा कपडाको धरो पनि थिएन। नाङ्गा खुट्टाले ओस भरिएको घाँस टेक्दै हिँड्दै गरिरहेकी थिई। चराहरू ऊ त्यहाँ पुग्नुभन्दा पहिले नै आइसकेका थिए र तिनको चिरबिर अनि उछलकुद जारी थियो। महिलाको दृष्टि ती चराहरूमा थिएन किनकि ऊ आफ्नै धरातलमा उभिएकी थिई।

करिब चालीस वर्षकी, गहुँगोरो वर्णकी, छरितो शरीर भएकी महिलाको हातमा न चुरा थियो न कान घाँटीमा कुनै गहना। अँ, उसका हातमा पक्कै मोबाइल थियो जसमा ऊ कसैसँग कुरा गरिरहेकी थिई। कोसँग ? यस प्रश्नले पुरुषलाई तीनछक्क पार्‍यो। पूरै जीउ उघारेर कोसँग कुरा गर्दै हिँड्दै छे यो आइमाई ? पुरुष सोचमग्न भयो। अत्तालियो। के गर्ने केही उपाय सुझेन। महिला अझै पनि फोनमा कुरा गरिरहेकी थिई। पुरुषको नजर आफ्नी स्वास्नीबाट हट्न पनि सकेको थिएन र उसले त्यो दृष्य सहन पनि सकिरहेको थिएन। त्यसैबेला पुरुषको मोबाइलको घण्टी बज्यो। उतापनि उसका मामा लाइनमा थिए। उनले पनि महिलालाई पार्कमा देखिसकेका थिए र अत्तालिएका थिए। पुरुषले मामाको फोन देखेपछि फोन काटिदियो। त्यत्तिकैमा सिँढी उफ्रिँदै मामा मास्तिर चढे र भान्जाका छेउमा आए। दुवैको मुखामुख भयो तर कुनै संवाद भएन, कसैले मुख फोर्न सकेन…..साँस रोकेर दुवैजनाले मैदानतिर हेरिरहे।

महिलाले मोबाइलमा कुरा सकी र एकछिन त्यत्तिकै उभिइरही। मामाले मोबाइलमा कुनै नम्बर डायल गर्न खोज्यो तर पुरुषले झम्टिएर खोस्यो। महिला फनक्क फर्केर पार्क बाहिर आउने गेटतिर लम्किई। पुरुषले सम्पूर्म रूपमा नाङ्गी स्वास्नी आँखै अगाडि देख्यो। उसका छाती र अनुहार एकैचोटी नियाल्न भ्यायो। यस्तो त उसको जिन्दगीमा कहिल्यै भएको थिएन। उसको नजर स्वास्नीको छातीमा हुँदा उसको अनुहार छेलिएको हुन्थ्यो। आज पहिलो पल्ट स्वास्नीको अऩुहार देख्दा पुरुषको अस्तित्व हल्लियो। उसको नजर महिलाको अनुहारमा अडिइरह्यो। महिलाको अनुहारमा कुनै भाव थिएन, न लाजै थियो न सरम। पुरुषले त सँधै नाङ्गी आइमाईको अनुहारमा उत्तेजना मात्र देख्ने आस गरेको हुन्थ्यो। कुनै बेला उसलाई स्वास्नीले भनेकी थिई – “कुनै महिलाको अनुहारमा मिलनको उत्तेजना देख्न पाउनु तिम्रो भाग्यमा कहाँ छ  र ? तिमी त बस आफ्नो उत्तेजनाको छाया महिलाका अनुहारमा हेरेर एकसाथ मख्ख परिरहन्छौ, भलै उसका अनुहारमा घृणा, थकान, अथवा पट्यारलाग्दो उनी उदासी होस्….।

त्यस दिन स्वास्नीको कुरा सुनेर उसले दन्काएको थियो। आफ्नै छालाको पेटिले यसरी हिर्काएको थियो कि आमा तलतिरबाट अत्तालिएर माथि आइपुगेगी थिइन्। पुरुष चिच्याइरहेको थियो तर महिला न रोएकी थिई, न कराएकी थिई।

अहिले पार्कबाट निस्कँदै गरेकी नाङ्गी स्वास्नीको अनुहारमा उत्तेजनाको भावना नदेनुले पुरुषलाई तीनछक्क पारेको थियो। उसलाई पनि त कुनै उत्तेजना थिएन। अचानक उसलाई लाग्यो सायद त्यस दिन स्वास्नीले भनेको कुरा साँचो थियो।

पाठक बाहिर निस्केर महिला दाहिनेतिर घुमी र सडकमा खाली खुट्टै हिँड्न थाली। एकैछिनमा पुरुषको नजरबाट ओझेल भई। अब स्वास्नी कता जान्छे भनेर लख काट्नु पुरुषका लागी असम्भव थियो।

कोठाबाट पुरुष र उसका मामा बाहिर बरन्डामा निस्किए। मामा छिटोछिटो तल ओर्लिए र पुरुष सास रोकेर आफ्नो ठाउँमा उभिइरह्यो। मामा तलतिर आफ्नी बहिनीका कोठातिर नगई आफ्नै कोठातिर लागेकाले उसले ढुक्क भएर लामो सास फेर्‍यो। मामा अनौठो चालले आफ्नो कोठामा छिर्यो र पुरुषले उसले चलाएको फ्लसको आवाज सुन्यो। उसले बुझ्यो मामा उत्तेजित भएको थियो। पुरुषका मुखबाट आदतअनुसार निस्किने बहिनीको गाली रोकियो जो मामाका लागि थियो। त्यति बेला मामा पनि पुरुष भएकामा उसलाई साह्रै आह्रिस लाग्यो।

करिब तीन घण्टा पछि महिला घर फर्किई। पैदलै आई ठ्याक्कै त्यस्तै रूपमा जस्तोमा ऊ निस्किएकी थिई। तल आमाको कोठामा पुरुष, उसका मामा र फूपाजू टाउको जोडेर सल्लाह गरिरहेका थिए। आमा बाहिरै थिइन्, एक्लै शून्यता चाटिरहेकी। उनलाई खबर त थाहा थियो तर कसैले सोझै बताएको थिएन।

महिला कुनै डर वा भयबिना घरमा आई र माथि उक्लन थाली। कोठामा आएर शिर झड्काई र कपाल छरिन दिई। पछाडिपछाडि आँगनमा उभिएकी आमा पनि उक्लिइन् र ढोकामा हात राखेर चिच्याइन् – “हरामजादी !”

महिला हाँसी र सासुको हात समातेर आफ्नो कोठामा लगी – “आमा बस्नुहोस् ! आज तपाईँसँग कुरा गर्ने दिन हो।” खै कस्तो अनौठो आकर्षण थियो महिलाको आवाजमा। आमा सरासर गएर कुर्सीमा बसिन्।

महिलाले भावुक भएर भनिन् – “आमा, आज मेरो स्वतन्त्रताको वास्तविक दिन हो।” यति भनेर उसले सासुको आँखातिर सोझै दृष्टि सोझ्याई र हेरेको हेरै गरी रही।

“स्वतन्त्रताको मतलब नाङ्गिनु मात्र हो र ?”

“आमा कपडा नखोली जीउभरी भएका नीलडामहरू, दाँत र नङ्का खतहरू, सिगरेटले  पोलेका दागहरू कसरी देखाउन सकिन्छ र …..? लोग्नेलाई त स्वास्नीको लुगा खोले पछि केही पनि चेत हुँदैन। उसले दिएका घाउहरू घाउ देखिँदैनन्। घाउ चाहे शरीरमा हुन् या मनमा, सारा संसारली देखाइनु पर्छ, त्यो पनि हातमा कचौरो लिएर मागेर होइन, यति साहसका साथ कि ती दागहरूले स्वतन्त्रताको आवश्यकतालाई सही ठहर्‍याउन्।”

सासुको जीऊ सिरिङ्ग भयो।

“तपाईँका घाउहरू सुके आमा ! छैनन् होला हैन…!” सासुका खाँखा रसाए।

“आमा तपाईँको लोग्नेले एकपल्ट मेरो हात समाउने कोसिस गरेको थियो। म त्यसबेला भर्खर भित्रिएकी थिएँ। मैले उसलाई चिच्याउँछु भनेर डर देखाएँ, तपाईँलाई भन्दिन्छु भनेँ। थाहा छ उसले के भन्यो – त्यस कुकुरनीसँग को डराउँछ ! आमा, हरामजादी पनि मान्छेकै जातमा गनिन्छे किनकि उसलाई पुरुषकै सन्तान मानिन्छ भलै त्यो पुरुष आइमाईको लोग्ने हुँदैन। तर … कुकुरनी ? आमा ! पुरुष पुरुषै हुन्छ तर महिला त मान्छे पनि हुँदिन। यस्ता बेला महिलालाई त्यो डरबाट मुक्त हुन जरूरी छ जसलाई इज्जत भनिन्छ…. जसले महिलालाई आफ्नो लोग्नेको भागको शरीर हुन मात्र सिकाउँछ। स्वतन्त्रताको अर्थ महिलाको शरीर उनीहरूको आफ्नो हुनुपर्‍यो, उनीहरूको मन आफ्नो हुनुपर्‍यो।”

कोठामा अनौठो रुपले सुनसान भयो।

महिलाले पुनः प्रश्न गरी – “तपाईँका कोठामा के भइराखेको छ ?” आमा चुपचाप बसिरहिन्। “सबै पुरुषहरू मिले सल्लाह गरिरहेका छन्, हैन ? तपाईँलाई किन नबोलाएका थाहा छ ?”

“छैन !” आमाले टाउको मात्र हल्लाउन्। उनी लाटीजस्ती भएकी थिइन्।

“यसकारण कि तपाईँ पुरुष हैन। … उनीहरूली शङ्का छ कतै तपाईँको आवाज मेरा पक्षमा नउठोस्। उनीहरूलाई डर लागेको छ किनकि तपाईँलाई पनि एउटी महिलाका रूपमा उनीहरूले निकै पीरेका छन्, सताएका छन्। म जुन हालतमा बाँचे त्यसभन्दा के कम थियो होला र ? तौर तरिकामात्र फरक न हो। म नोकरी गर्छु, कुनै महिना तलब पाउने दिन अस्पतालमा अपरेसन परेका कारण मलाई निस्कन ढिलो भयो। तपाईँको छोरा फाटकमा मलाई कुरेर बसिरहेको थियो। मलाई देख्ने बित्तिकै सडकबीचमा सबैले देख्नेगरी थप्पड हान्यो र मोटरसाइकलमा हुत्यायो। त्यसबेला म नाङ्गिइनँ, आमा ?”

आमाका आँखाबाट आँसुका ढिक्का खसे।

“तपाईँ कसको दुःख रोइरहनुभएको छ आमा ? आफ्नो या मेरो ? बेकार छ रूनु। उठ्नुहोस् र यो सरमको काँचुली निकालेर फ्याँकिदिनुहोस् म जस्तै।” सासुले शिर उठाएर मास्तिर हेर्दा महिलाले उनका आँसु पुछिदिई।

“बस्नोस् ! म चिया बनाएर ल्याउँछु। यो समय दुःखको समय होइन।”

त्यसै दिन तीन दिनको म्याद सकिनु भन्दा अगावै महिला त्यस घरबाट, त्यस पुरुषबाट र त्यस कालो संसारबाट स्वतन्त्र भई। एक हप्ता ऊ मेट्रनको घरमा बसी। त्यसपछि उसलाई अस्पतालका तर्फबाट आवास प्राप्त भयो। त्यस घरबाट अन्तिम पटक निस्कँदा उसका शरीरमा पूरै कपडा थिए। शिरमा चुन्नी थियो। सामानका दुईवटा बाकस र एउटा बेडिङ थियो। रिक्सा आँफैले बोलाएर ल्याएकी थिई। उसलाई देखेर पुरुष र उसका मामाले मुन्टो बटारेका थिए। पुरुषले लिने कानुनी बाटाको आभाष महिलालाई भैसकेको थियो र त्यसमा महिलालाई कुनै आपत्ति थिएन।

कथा त यहीँ सकिनु पर्ने हो। तर मेरो एउटा विवशता छ, केही बाँकी नै छ जसलाई मैले भन्नै पर्छ।

त्यस घरबाट निस्किएको करिब सात महिनापछि एक दिन महिला बजारमा थिई। ऊसित एउटा बिरामीको आठ-दस वर्षको केटो थियो जसलाई लिएर ऊ दवाई किन्न आएकी थिई। अस्पतालमा दवाई नभएको अवस्थामा बाहिरको दवाई स्वीकृत हुन्त्यो। यस्ता बेला बिरामीका आफन्तहरू अत्तालिन्थे, अनि धेरैजसो आफ्नै पैसा खर्च गर्न पुग्थे। अब महिला त्यस्ता बिरामीहरूलाई मद्दत गर्न स्वतन्त्र थिई र उसलाई यही स्वतन्त्रता अत्यन्त प्यारो थियो। यसले उसलाई अपार खुसी र आनन्द दिएको थियो।

त्यसदिन महिलाको अनुहारमा त्यस्तै खुसी थियो, जतिबेला उसको पुरुषसँग जम्काभेट भएको थियो। पुरुष आफैँ महिलाका अगाडि ठिङ्ग उभिएको थियो। महिला पनि बिना कुनै सङ्कोच उभिएकी थिई। पुरुष उभिन त उभियो तर ऊसँग बोल्ने कुरा थिएन। महिलाले नै सोधेकी थिई – “आमाको जरो घट्यो कि घटेन ? अस्तिका दिनसम्म त घटेको थिएन। ”

पुरुष हडबडायो। उसलाई आमाको हालत कसरी थाहा भयो ?…. फेरि पनि उसका मुखबाट वाक्य फुटेन।

“जरो उत्रेन ने त्यो वैद्यको पछि लाग्न छाडेर कुनै राम्रो डाक्टरलाई देखाऊ। पाँचपाँच दिन त भैसक्यो….।”

पुरुषले हुन्छ भन्ने कोसिस पनि गर्न सकेन। त्यसैबेला महिलाले अगाडिबाट आउँदै गरेको रिक्सा रोकी र त्यसमा बस्ने तरखर गर्न थाली।

“सुन….।” यतिबेला पुरुषको वाक्य फुट्यो। रिक्सावालाले सुनेर पर्खिन थाल्यो।

“तिमीलाई मन परेको पुरुष भेट्यौ कि भेटिनौ ?”

महिला हाँसी। “मन परेको जिन्दगी भेटेँ। पुरुष त्यसका तुलनामा निकै सानो कुरा हो।” यति भनेर उसले रिक्सावालालाई भनी – “हिँड।” महिलाको यसै भनाइका साथ यो कथा सकिन्छ। बाँकी रहन्छ जिन्दगी जो थुप्रै बाँकी छ, पुरुषका लागि पनि, महिलाका लागि पनि।”

हिन्दीबाट अनुवादः कुमुद अधिकारी