सियारी गाउँपालिकामा जिल्लामै सबैभन्दा कम बेरुजु - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

सियारी गाउँपालिकामा जिल्लामै सबैभन्दा कम बेरुजु



तिलोत्तमा- रुपन्देहीको सियारी गाउँपालिकामा जिल्लामै सबैभन्दा कम बेरुजु देखिएको छ । रुपन्देहीका १६ वटा पालिकामध्ये सियारी गाउँपालिकामा १ प्रतिशतभन्दा कम बेरुजु आएको हो ।

सियारीमा शून्य दशमलव ८८ प्रतिशतमात्र बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयले जारी गरेको ६०औं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सियारीपछि कम बेरुजु देखिनेमा सैनामैना नगरपालिका रहेको छ । सैनामैनाको बेरुजु १ दशमलव ०३ प्रतिशत रहेको छ । १६ वटा पालिकामध्ये सबैभन्दा बढी बेरुजु देखिनेमा कोटहीमाई गाउँपालिका रहेको छ । कोटहीमाई गाउापालिकाको बेरुजु ४ दशमलव ८ प्रतिशत रहेको छ ।

रुपन्देहीका अन्य पालिकाहरू ओमसतिया गाउँपालिकाको २ दशमलव ०३ प्रतिशत, गैडहवा गाउँपालिकाको २ दशमलव ०४ प्रतिशत, रोहिणी गाउँपालिकाको २ दशमलव २२ प्रतिशत, बुटवल उपमहानगरपालिकाको २ दशमलव ३१ प्रतिशत, कञ्चन गाउँपालिकाको २ दशमलव ६१ प्रतिशत, तिलोत्तमा नगरपालिकाको २ दशमलव ८७, सिद्धार्थनगर नगरपालिकाको ३ दशमलव १४ प्रतिशत, सम्मरीमाई गाउँपालिकाको ३ दशमलव ३५ प्रतिशत र लुम्बिनी सांस्कृतिक नगरपालिकाको ३ दशमलव ६६ प्रतिशत रहेको छ ।

त्यस्तै, ४ प्रतिशत बढी बेरुजु रहने पालिकाको सूचीमा ५ वटा पालिका रहेका छन् । मर्चवारी गाउँपालिकाको ४ दशमलव ११ प्रतिशत, शुद्धोधन गाउँपालिकाको ४ दशमलव १३ प्रतिशत, देवदह नगरपालिकाको ४ दशमलव ५६ प्रतिशत र मायादेवी गाउँपालिकाको ४ दशमलव ६९ प्रतिशत बेरुजु आएको छ । लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहमध्ये सियारी गाउँपालिका सबैभन्दा कम बेरुजु देखिनेमा छैठौं स्थानमा रहेको छ । प्युठानको मल्लरानी र सरुमइरानीको बेरुजु भने शून्य प्रतिशत रहेको छ ।

गाउँपालिकाले लेखा नीति र सिद्धान्तअन्तर्गत लेखाको भुक्तानी गरेका कारण शून्य दशमलव ८८ प्रतिशत बेरुजु कायम राख्न सफल भएको लेखा प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिए । उनले सियारी गाउँपालिकाले सम्पादन गर्ने हरेक कार्यको अनुगमन र निरीक्षणपछि मात्रै भुक्तानी दिने गरेकाले पनि बेरुजु कम हुँदै गएको उल्लेख गरे । आगामी वर्ष बेरुजुलाई शून्यमा झार्ने गरी काम अगाडि बढाइएको पौडेलले जानकारी दिए ।