बालकृष्ण खाण निर्दोष भएको सिटौलाको दाबी, केही दिनमै छुट्ने - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

बालकृष्ण खाण निर्दोष भएको सिटौलाको दाबी, केही दिनमै छुट्ने



काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष रहेको बताएका छन् । उनले छिट्टै खाण थुनामुक्त हुने पनि बताए ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ ले सोमबार भैरहवामा आयोजना गरेको अन्तरक्रियामा सिटौलाले खाणको कुनै दोष र गल्ती नरहेको बताए । ‘खाणजीको बारेमा मैले पार्टीका बैठक र पदाधिकारीबीच पनि कुरा राखेको छु’, उनले भने, ‘म कानूनको विद्यार्थी पनि हुँ । मेरो विचारमा खाणजी चाँडै आउनुहुन्छ । विचाराधीन मुद्दाका बारेमा म त्यति बोल्दिनँ ।’

उनले के आधारमा खाण बाहिर निस्कन्छन् भन्नेबारे भने केही खुलाएनन् । उनले पछिल्लो पटक पपुलिष्ट पत्रकारिता भइरहेको आरोप लगाए । ‘एउटा अनलाइनले लेख्यो भने त्यसका पार्टनरले शेयर गर्छन्, लेख्छन्’, उनले भने, ‘त्यसपछि लाखौं शेयर भइहाल्छ ।’

सिटौलाले खाणलाई मिडिया र पत्रकारले लखेटेको संकेत गरे । यस्तै, उनले सामाजिक संजालको पनि आलोचना गरे । पूर्वउपप्रधानमन्त्री समेत रहेका सिटौलाले माओवादी आएर मुलुकमा धर्मनिरपेक्षता आएको भन्ने भ्रम रहेको बताउँदै यो भ्रममा नहिंड्न कांग्रेस नेता–कार्यकर्तालाई आग्रह गरे ।

‘धर्मनिरपेक्षता संसद्बाट सर्वसम्मतिले पारित भएकाले माओवादीका कारण आएको भन्ने भ्रममा नपर्न आग्रह गर्छु’, उनले भने, ‘७ दलको एलायन्सले माओवादीसँग १२ बुँदे सम्झौता गरिएको र १२ बुँदाको निष्कर्ष माओवादी हतियार छाडेर शान्ति प्रक्रियामा आउनुपर्छ र लोकतन्त्रको मूल्य मान्यता मान्नुपर्छ भन्ने हो ।’