कांग्रेस एमालेको प्रतिस्पर्धा- सिटमा कांग्रेस, मतमा एमाले - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

कांग्रेस एमालेको प्रतिस्पर्धा- सिटमा कांग्रेस, मतमा एमाले



प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो दल बन्ने निश्चित भएको छ। प्रत्यक्षतर्फ सार्वजनिक एक सय ५७ निर्वाचन क्षेत्रको परिणामअनुसार कांग्रेसले ५३ स्थानमा जित निकालेको छ। प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट एक सय ६५ र समानुपातिक निर्वाचनबाट एक सय १० जनाको प्रतिनिधित्व हुन्छ।

समानुपातिकतर्फ अग्रता कायम गरेको एमालेले प्रत्यक्षतर्फ ४२ क्षेत्रमा जित निकालेको छ। मतगणना जारी रहेका पाँच क्षेत्रमध्ये तीनमा कांग्रेस र अन्य दुईमा एमाले र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारले अग्रता कायम गरेका छन्। कांग्रेसले अग्रता लिएका क्षेत्रहरूमा झिनो मतान्तर छ। सुनसरी १, ३ र ४, उदयपुर १ र धनुषा ४ मा मतगणा जारी छ। सुनसरी १ मा जसपा, सुनसरी ३ मा एमालेका उम्मेदवार तथा सुनसरी ४, उदयपुर १ र धनुषा ४ मा कांग्रेस उम्मेदवारले अग्रता कायम गरेका छन्।

स्याङ्जा २, दोलखा र बाजुरामा मतगणना अहिलेसम्म सुरु भएको छैन। ती जिल्लाका केही मतदान केन्द्रमा मंसिर ४ गते धाँधली भएको उजुरी परेकाले गणना सुरु हुन नसकेको हो। दोलखाका विवादित १० वटा केन्द्रमा निर्वाचन आयोगले यही मंसिर १५ गते पुनः मतदानको निर्णय गरेको छ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सात÷सात, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३ निर्वाचन क्षेत्रमा जित निकालेका छन्। त्यस्तै जनमत पार्टीले एक, नेपाल मजदुर किसान पार्टी एक, राष्ट्रिय जनमोर्चा एक र स्वतन्त्रले पाँच निर्वाचन क्षेत्रमा जितेका छन्।

त्यस्तै समानुपातिकतर्फ ९० लाखजति मतगणना सकिएको छ। समानुपातिक मतगणनाको पछिल्लो परिणामअनुसार अनुसार एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी चौथो, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौँ, जसपा छैटौं स्थानमा छन्। यसैगरी समानुपातिक मतमा जनमत पार्टी सातौं, नेकपा एस आठौं, नागरिक उन्मुक्ति पार्टी नवौं र लोकतान्त्रिक समाजवादी पार्टी दसौं स्थानमा छन्।