सिद्वार्थनगर पुस २१ मा खुल्ला दिशामुक्त घोषणा हुने - Himal Post Himal Post
  • १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
Logo

सिद्वार्थनगर पुस २१ मा खुल्ला दिशामुक्त घोषणा हुने



सरिना मरासिनी
भैरहवा । सिद्धार्थनगर नगरपालिका खुल्ला दिशामुक्त हुने भएको छ । नगरपालिकालाई पुस २१ गते विशेष समारोहकाबीच खुल्ला दिशामुक्त नगर घोषणा गरिने नगपालीकाले जनाएको छ ।

बुधबार नगरपालिकाले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिकालाई खुल्ला दिशामुक्त नगर घोषणा गर्न लागिएको जनाएको छ । नगरलाई सन् २०१७ सम्म खुल्ला दिशामुक्त घोषणा गर्ने नीति बनाइए पनि तोकिएको मिती सकिएको केही दिनमै नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख हरिप्रसाद अधिकारीले तोकिएको समयमै खुल्ला दिशामुक्त घोषणा गर्ने आफूहरुको लक्ष भए पनि केही प्राविधिक कठिनाइका कारण २÷४ दिन ढिला भएको बताए । शौचालय निर्माण गर्नुपर्छ भन्ने चेतनाको कमी र गरिबीका कारण सबै घर परिवारमा शौचालय निर्माण नहुँदा केही पछि धकेलिएको बताए ।

उपप्रमुख उमा काफ्लेले अप्ठ्यारोका बाबजुत नगरपालिकालाई खुल्ला दिशामुक्त नगर बनाउन सकिएको बताए । उनले गरिब परिवारलाई नगरपालिका कर्मचारीको खाजा खर्च कटाएर सहयोग गरेर शौचालय निर्माण गरेको बताए ।

सिद्धार्थनगरमा १२ हजार २५ घरधुरी छन् । १३ वटा वडा रहेको नगरपालिकामा वडा नं. ७ लाई २०७१, वडा नं. ५, ८, ९ र १२ लाई २०७२ तथा वडा नं. १०, ११ र १३ लाई २०७३ मा खुल्ला दिशामुक्त वडा घोषणा गरिएको थियो भने अन्य वडाहरुमा पनि पूण रुपमा शौचालय निर्माण भइसकेकाले खुल्ला दिशामुक्त नगर घोषणा गर्न लागिएको हो ।

नगरपालिकाले खुल्ला दिशामुक्त नगर गराउन घरधुरीलाई क वर्ग, ख वर्ग र ग वर्ग गरी वर्गीकरण गरेर काम गरेको थियो ।