मन्त्री लालबाबुविरुद्ध नाराबाजी, राजीनामाको माग - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मन्त्री लालबाबुविरुद्ध नाराबाजी, राजीनामाको माग



हिमालपोस्ट/काठमाडौँ

आदिवासी/जनजाति युवा तथा विद्यार्थीहरूको एक समूहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई सार्वजिनक कार्यक्रममा सहभागी हुनबाटै वञ्चित गरेको छ । उक्त समूहले स्थानीय तहका लागि लोक सेवा आयोगद्वारा प्रकाशित विज्ञापन खारेजीको माग गरेको थियो।

मन्त्री पण्डित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९औँ सञ्चालक परिषद् बैठकमा सहभागी हुन शुक्रबार ललितपुरको जावलाखेल पुगेका थिए। उनीविरुद्ध आदिवासी जनजाति युवा तथा विद्यार्थीले बैठकस्थलमै नाराबाजी गरेका हुन् । कालोझण्डा देखाउँदै भएको हुलदङ्गाका कारण मन्त्री पण्डित बैठकमा सहभागी नभई फर्किएका छन् । बैठक समेत स्थगित भएको छ । जावलाखेल प्रहरीले मन्त्री पण्डित पुल्चोकस्थित मन्त्री क्वार्टरमा फर्किएको पुष्टि गर्‍यो ।

प्रदर्शनकारीले ‘लोक सेवाको विज्ञापन खारेज गर्, लालबाबु पण्डित राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।

लोक सेवाले ९ हजार १ सय ६१ पदका लागि खोलेको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत भएको भन्दै विरोध हुँदै आएको छ । त्यस सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आयोगले तीव्र गतिमा परीक्षाको तयारी गरिरहेको छ र पहिलो चरणको परीक्षा यही साउन ३ गतेबाट सुरु हुँदैछ ।