धर्म निरपेक्ष देशका प्रधानमन्त्री क्रिस्चियन विश्वविद्यालयको मानार्थ डाक्टर - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

धर्म निरपेक्ष देशका प्रधानमन्त्री क्रिस्चियन विश्वविद्यालयको मानार्थ डाक्टर



काठमाडौँ 

धर्म निरपेक्ष देशका प्रधानमन्त्री केपी शर्मा ओली क्रिस्चियन धर्मप्रति निकै आसक्त देखिन्छन्। क्रिस्चियन धर्म प्रवर्द्धन गर्ने दक्षिण कोरियाको काङनाम विश्वविद्यालयले प्र.म. ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि दिएको छ ।

बुधवार काठमाडौँमा आयोजित समारोहमा विश्वविद्यालयका प्रेसिडेन्ट डा. शिनिल युनले ओलीलाई उपाधि प्रदान गरेका हुन् ।

कोरियामा सन् १९४६ मा स्थापित काङनाम विश्वविद्यालयको वेबसाइटमा स्थापनाको उद्देश्य(फाउन्डिङ स्पिरिट)मा लेखिएको छ, ‘हामीहरू समाज र मानव जातिका लागि क्रिस्चियन धर्मको मर्म तथा मानवीय आदर्श अन्तर्गत रही ग्योङचेओनाएन (स्वर्गको पूजा तथा मानवताको प्रशंसा)को अभ्यास गर्ने प्रतिभाशालीहरूलाई प्रोत्साहन गर्छौँ तथा सत्य, स्वतन्त्रता, समानता र कल्याणको मार्गमा हिँड्छौँ ।’

दक्षिण कोरियाली क्रिस्चियनहरूले प्रधानमन्त्री ओलीलाई सम्मोहनमा पारेको देखिन्छ। गत वर्ष उनले दक्षिण कोरियाको युनिफिकेसन चर्चकी हाक जा हान मदर मूनबाट प्रसादका रूपमा पवित्र रक्सी (होली वाइन) पिएका थिए। यसका लागि उनको चर्को आलोचना भएको थियो ।

युनिफिकेसन चर्चले दक्षिण एसिया र दक्षिणपूर्व एसियाका कुनै देशले कार्यक्रम आयोजना गर्न नमानेपछि नेपाललाई मनाएको थियो। नेपाल सरकार सहआयोजक बनेको थियो । उक्त संस्थाले प्रधानमन्त्री ओलीलाई एक लाख अमेरिकी डलरको सुशासन पुरस्कार पनि दिएको थियो ।

दक्षिण कोरियाली क्रिस्चियन सङ्गठनहरूसँग निकट सम्बन्ध बनाएका पूर्वमन्त्री एकनाथ ढकालले प्रधानमन्त्री ओली र वरिष्ठ नेताहरूलाई देशविदेशमा विभिन्न किसिमका उपाधि र मानपदवीहरू दिलाउने गरेका छन् ।