गर्मीले विद्यालयहरू बन्द - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

गर्मीले विद्यालयहरू बन्द



उखरमाउलो गर्मीका कारण पश्चिमी तराईका विद्यालयहरू बन्द गरिएका छन्। बढ्दो गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ।

पश्चिम तराईको भैरहवामा यो हप्ता छ वर्षयताकै उच्च तापक्रम मापन गरिएको थियो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गत शनिवार भैरहवा क्षेत्रको तापक्रम ४३.३ डिग्री सेल्सियससम्म पुगेको थियो।

यो विसं २०६९ सालयताकै सबैभन्दा बढी हो। विसं २०६९ को असार १ गते ४३.८ डिग्री सेल्सियस मापन गरिएको थियो।

गर्मी छल्ने उपाय

बढ्दो तापक्रममा कारण विद्यार्थीलाई विद्यालय आउजाउ गर्न गाह्रो भएपछि भरतपुर र तिलोत्तमा नगरपालिकामा बिदा दिइएको छ।

तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गङ्गाराम आचार्यले यो बिदा अरू वार्षिक बिदामा कटौती गर्ने गरी व्यवस्था मिलाइएको बताएका छन्।

भैरहवा, बुटवल, पर्सा र कपिलवस्तु लगायतका स्थानीय तहले पनि केही समयका लागि विद्यालयमा बिदा दिएका छन्।

गर्मीले तुलनात्मक रूपमा बालबालिकालाई बढी असर गर्ने हुँदा सजग रहन चिकित्सकहरूले सल्लाह दिएका छन्।

लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ चिकित्सक डा. नन्दु पाठकले गर्मीमा हरियो फलफूल तथा तरकारीको मात्रा बढाउनुपर्ने र बासी खाना खानै नहुने सल्लाह दिन्छन्।

उनी भन्छन्, गर्मीमा चिसो पानी र चिसो खानेकुरा खान खोजिन्छ, तर त्यसले पनि स्वास्थ्यलाई असर गर्छ।

आयुर्वेदिक डा. सरिता श्रेष्ठ केही घरेलु उपाय अपनाएर पनि गर्मीको असरबाट धेरै हदसम्म बच्न सकिने बताउँछिन्।

“बाबरी, कागती र पानी मिसाएर खान सकिन्छ। पानीमा अमचुर हालेर पनि खान सकिन्छ,” उनी सुझाउँछिन्।

बिरामी

अत्यधिक गर्मीको असरबाट जीउमा बच्न नीम, पानी छ्याप्न र छानामाथि परालको सुकुल भिजाएर राख्न सकिने उनको श्रेष्ठको सुझाव छ।

गर्मीमा सकभर सेतो कपडा लगाउनु श्रेयकर हुने चिकित्सकहरू बताउँछन्। त्यस्तै ज्वरो आउँदा विशेष ख्याल गर्नुपर्ने उनीहरूको भनाइ छ।

गर्मी बढ्दा तराई क्षेत्रमा लू अर्थात् तातो हावा लागेर पनि मानिसहरूको ज्यान जाने गरेको बताइन्छ।

अत्यधिक गर्मीका कारण दिनमा मुख्य बजारका सडकहरू सुनसान देखिन्छन्।

हाम्रा जनकपुर संवाददाता बृजकुमार यादवका अनुसार सरकारी कार्यालयहरूमा सेवाग्राहीको सङ्ख्या घटेको छ भने अस्पतालमा बिरामीको चाप बढेको छ।

लुम्बिनी प्रादेशिक अस्पतालका सामाजिक एकाइ प्रमुख दयासागर पन्थीका अनुसार भाइरल ज्वरो, झाडापखाला, रुघाखोकी, जलवियोजन लगायतका बिरामीको सङ्ख्या बढ्दै गएको छ।

तराईका केही भागमा समान्य पानी परे पनि केही भागमा पानी नपरेको दुई हप्ता भइसकेको छ।

(बीबीसी)