कथा : बाइक - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

कथा : बाइक



सौरभ कार्की

 बि.सं २०६४ साल। भर्खरै कक्षा १२को रिजल्ट आएको थियो। साइन्स फ्याकल्टी। फस्ट डिभिजन। घरबाट चै मैले बालाई ढाँटेर, “म इन्जिनियरिङ इन्ट्रान्स प्रिपेरेसन क्लासबारे बुझ्न जान्छु” भनेर निस्किन खोज्दैथिए, बुबा’ले “उसोभए अलिकति पैसा त्यहाँ ‘एलिको’मा बुझाउनु छ, त्यो पनि बुझाएर आईदे है” भनेर अर्को काम थपिदिईहाल्नुभयो। ‘एलिको’ जाने निहुँमा समय कटाउने अर्को राम्रो बहाना हुन्थ्यो। मैले “हुन्छ” भनिदिए।

-0-

“छ नि, त्यो मनोजले त रक्षालाई छोडिदियो रे !”

“ला हो र ? खासमा भाको चै के रैछ र ?” उसकी सखीले अचम्मित हुँदै सोधी।

‘रक्षा’ मैले सुनेको नाम। झल्याँस्स त्यो नाम लिने गालामा सानो कोठी र बाक्लो ओठ भएकी केटीले मेरो ध्यान खिची। उ ठ्याक्कै मेरो सिटको अघिल्तिर बसेकी थिई। भनी “खै के भा’को चै थाहा छैन। तर मैले सुनेको, मनोजको त अहिले रश्मीसँग पो अफेयर चल्दैछ रे।”

“रश्मी ? हाउ कुड ईट बि यार ? रश्मी त अस्ति भर्खर आ’की एघारकी नयाँ केटी होइन ?” आँखा ठूल्ठूलो पारेर आश्चर्यचकित हुदै सखीले सोधी उसलाई। उनीहरूको हाउभाउ र कुराले म सम्पूर्णत उनीहरूको कुराप्रति आकर्षित भईरहेथेँ, यद्यपि उनीहरूले कुरा गरिरहेको रक्षा र मेरो मनको कन्दरामा हरबखत प्रेमको भ्वाईलिन बजाउने रक्षा एउटै थिईन। सायद म यो कुरामा ढुक्क थिएँ। वा भनौ मलाई मेरी रक्षाप्रति पूर्ण भरोसा थियो।

फेरि त्यही बाक्लो ओठ भएकी केटीले आँखाछेउ लत्पत्तिएको गाजल पुछ्दै भनी “त्यै क्या त, हाम्रो क्लासमा नि केटाहरूले कुरा गरिराख्थे नि। बट् कसैलाई बाल देको था’थेन। आई एम सक्ड यु नो ? मनोजसँग के छ यार आखिर त्यस्तो ?” उसैले फेरि रहस्यको अर्को पोको फुकाए झैँ गरेर भनी “था’छ ! त्यो रश्मीलाई त रक्षा र मनोजको बारेमा पहिल्यै था’थ्यो रे।”

“ल, मनोज ह्यान्सी छ नि। जर्नेलको छोरो रे भन्ने सुन्याथे। पैसा नि टन्नै खर्च गर्छ रे।” अझ मनोजको बारेमा स्पष्ट पारेझैँ आँखा झिम्झिम् गर्दै सखीले भनी “हाम्रो कलेजमा बाइक चेन्ज गरी गरी आउने केटा उही त हो नि एउटा। पक्कै पनि मनोजको पैसासँग लभ गरेकी हो त्यस्ले।”

-0-

“ल ल तीनकुने झर्ने कोही हुनु’न्छ भने भाडा दिँदै गर्नुस त !” महिनौँसम्म पानीको अनुहार नदेखेझैँ लाग्ने सानो खलासी केटो कराउन थाल्यो। उनीहरू एकछिन चुप भएझैँ भए। ‘ओहो कत्ति चाँडो तीनकुने पो आईसकेछ।’ उनीहरूको गफ सुन्दा कम्ता त मज्जा आथेन। एक्कै छिन त म बिस्मातमा परेझैँ भएँ। २० रुपिया दिएथेँ, खलासी केटोले फिर्ता रु ७ दियो। म आफ्नो बाटो लागेँ। एउटा स्पोर्ट्स बाइक अनि कुनै रूपवतीको तस्बिर दिमागमा आउन खोजिरहेझैँ लागिरहेथ्यो। तर मेरो ध्यान भङ्ग गरेझैँ, लामो हर्न बजाउँदै कान्तिपुर कम्प्लेक्सतिरबाट आएको पल्सर छेवैमा आएर घ्याच्च रोकियो। सायद चालक मलाई केही भन्न खोज्दैथियो, उसको पछाडि सेतो तिघ्रा देखिने गरी आधा वस्त्रमा ठाँटिएकी केटीले “भयो, छाड्देउ जाम्” भनी। चालकले उही गतिमा हुईकिनु अघि स्नेल्सको सेतो हेल्मेटको कालो भाईजरभित्रै बाट मलाई आँखा तरेझैँ गऱ्यो। सायद उसले आँखा तऱ्यो।

ऊ हुइँकिएपछि भने मलाई खुब रिस उठ्यो, मनमनै रिस पोखे “साला बाइकमा केटी लिएर हिड्दैमा आफूलाई लियोनार्दो दिकार्पो नै सम्झियो कि के हो ? पर्खि न कुनै दिन मसँग पनि बाइक भएपछि था’पाउलास्।” यस्तो लागिरहेथ्यो कि मैले पक्कै त्योसँग कुनै एकदिन आजको बदला लिनेछु। त्यसबेला मेरो बाइकको पछाडि मसँग लपक्क टाँसिएर बस्ने मेरी प्रियले मलाई उसैगरी “भयो, छाड्देउ जाम्” भन्नेछे। सोचेर म आफै एक्लै मुस्कुराएँ। सम्झे मेरो लागि बाइक ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै नभए पनि बा’लाई भनेर त्यसको जोहो गराउन गाह्रै थियो। ट्याक्सीले उसैगरी परैबाट लामो हर्न बजाएपछि पो थाहापाए, म त बीच सडकमै उभिएर पो फगत् संसार रचिरहेको रै’छु।

-0-

म आफ्नै गतिमा कान्तिपुर हस्पिटल तर्फ बढिरहेथेँ। मलाई रोडको अर्को कर्नरबाट स्वरूपा इशारा गर्दै थिई, तर खै किन हो कुन्नि म भने नदेखेझैँ गरी आफ्नै बाटो लागिरहेथे। एक्कासी स्वाँस्वाँ गर्दै काली मेरै अगाडि आईपुगी। स्वासको गति पनि बिसाउन नपाउँदै मेरो हात समाएर एकोहोरो कराउन थाली  “कहाँ हराएको यत्रो महिना ? मैले कत्ति फोन गर्ने ट्राई गरेँ। तिमी कहाँ थियौ ? अनि अहिले यत्रो बोलाउँदा नि किन नसुनेको ?”

म फिस्स हाँसिदिए। कहिलेकाहीँ कत्ति कुरा आफ्नै बारेमा पनि थाहा हुँदोरैनछ। सोचे अँ साँच्चै मैले किन पो त्यसो गरे हुँला ? आफैँलाई अचम्म लागेर आयो।

“भनन तिमी किन नबोलेको ?” स्टिल ऊ लामो लामो सास फेरिरहिथी। उसको सास सिधै मेरो छातीमा बज्रिरहेथ्यो। यस्तो लाग्थ्यो कि ऊ मेरो छातीमा लपेटिन खोजिरहीथी जस्तो हामी केही महिनाअगाडि लपेटिन्थ्यौ। उसको आँखामा मादकता चढेर लाल भईरहेथ्यो। जाडो महिना तातो अनुभव भएझैँ लागेपनि मनमा एकतमासको लाज लागेर आयो। आँखा झुकाएँ। छाती ढक्क फुलेर आयो। कताकता यो तीनकुनेको भीडमा सबैले मलाई नै हेरिरहे झैँ लाग्यो। यथार्थ त्यो थियो या थिएन तर पनि मानिसहरूका कान हाम्रा सम्वाद तर्फ नै खनिएझैँ लाग्यो। अलिकति पछाडि हटेझैँ गरी उसको हात सुम्सुम्याएझैँ गर्दै मैले भने “काली सायद यो ठाउँ र समय आलिङ्गन र चुम्बन को होईन।” हठात् उसले समातिरहेको मेरो हात आफ्नो हातको चङ्गुलबाट फुत्काई। वरिपरि हेरी अनि मलाई हेरीरही। लाटिएजस्ती।

-0-

मैले प्रसङ्ग बदल्न चाहेँ। सोधेँ,  “यता कता ?”

“हस्पिटल।”

“किन ?”

“हजुरआमा बिरामी हुनुभ’र यही इमरजेन्सीमा राखेको छ, त्यसैले।”

“ला, हो र ? के भा’को ?”

“खै एक्कासी हर्ट एट्याक भयो अस्ति राति। अनि त्यही रातिदेखि यहीँ हुनुहुन्छ। अनि, तिमीचाहिँ कता नि ?” उसले सोधी।

“हस्पिटल।”

“किन नि ?”

“तिम्री हजुरआमा भेट्न।” मैले भने।

सायद यो कन्डिसनमा मैले जोक गर्नु हुन्थेन। बट् उसले हाँस्न खोजेजस्तै गरेर भनी “तिम्रो यो जिस्किने बानी कहिल्यै गएन है। अनि भनन तिमी कता थियौ ? आई मिस्ड यु सो मच ड्याट आई कान्ट डिस्क्राईब यु एट दिस मोमेन्ट।”

फिस्स हाँस्दै बहाना बनाईदिएँ “घुम्न गा’को थे बाजुरातिर, दशैँ अगाडि मात्र आ’को। आई लस्ट माई सेलफोन, यु नो ? अनि फर्किएर आएपछि तिमीलाई भेट्न खोजेको थिएँ, तिमी घरमा रैनछौ। अनि दशैँमा घर गएर जस्ट हिजो त फर्किएको।”

यस्तै झिनामसिना खत्राकखुत्रुक कुराहरू हस्पिटल परिसरमै भए। केही आपत्तिहरू म हराएकोमा, थोरै रिस अनि धेरै माया दर्साई उसले। छुट्टिने बेलामा मसँग मेरो नं. लिई। सोधी, “अब कहिले भेट्छौ त ?” मैले आशाको किरण देखाए, “फोन गर न भेट भईहाल्छ नि !” स्वरूपा रुन रुन आँटेजस्तै भएकी थिई। म चुपचाप हिँडिदिएँ। सि मस्ट नो द्याट आई वाज ईग्नोरिङ हर। ईन्फ्याक्ट म उसको बचपनादेखि आजित भईसकेको थिए। म चाहन्थे कि उसले बुझोस् म अब उसँग खुसी हुन सक्तिनँ भनेर। आई होप उसले ढिलोचाँडो उसले यो कुरा बुझ्नेछे।

धन्न फेरि उसले म हस्पिटल किन आएको भनेर सोधिन। सोधेकी भए ढाँट्नको लागि अर्को कहानी रच्नुपर्थ्यो मैले। रक्षाको दिदिलाई भेट्न गएको थिए म त्यहाँ। शिक्षा दी यही हस्पिटलमा नर्स हुनुहुन्छ भनेकी थिई रक्षाले एकदिन। रिसेप्सनमा सोध्दाखेरी उहाँको त नाइट ड्युटी भन्ने थाहा पाएँ अनि एउटा सानो चिट लेखेर उहाँको नाममा छोडिदिए।

-0-

अब म फेरि ललितपुरको एमेरिकन लाइफ ईन्सुरेन्स कम्पनी (एलिको) पुग्नुथियो। टेम्पुमा चढेँ। पापी आँखा। नजर नलाऊँ भनेपनि केटीतर्फ नजर गईहाल्ने। अम्ब्रेला टाईपको गुलाबी चुरीदार कुर्तामा सजिएकी उसले नोकियाको म्युजिक एक्सप्रेस बोकेकी रहिछ। आजकालको एकदमै सस्तो कसम खाएर ऊ भन्दैथिई, “तपाईँको कसम म आउँछु। बरु भन्नुस् कहाँ कतिखेर आऊँ ?” ऊ बानेश्वरमा नै ओर्लिई।

-0-

बुद्धनगरबाट फेरि दुई जना केटीहरू चढे। म आफू उमेरको मान्छे। एउटा युवक। अरू को चढे चढेनन् वा झरे झरेनन् ख्याल किन राख्थेँ र ? सायद मेरा उमेरका अरूले पनि नराख्लान्। ती दुई नवयौवनाहरू मध्ये एक मेरै बगलमा र अर्की ठीक उसकै अगाडि बसी। सिखाको तिघ्राले मेरो तिघ्रामा हलुका स्पर्श गरिरहेथ्यो। उसको देब्रे हात मेरै तिघ्रामानै अडिएको थियो। टेम्पुको हल्लाईसँगै उसको हातको हलुका स्पर्शले मलाई अनौठो किसिमको काउकुतीको अनुभव भईरहेथ्यो। उसले नजानिँदो तरिकाले मेरो तिघ्रा सुम्सुम्याईरहीथी। मलाई आनन्दको अनुभूति भईरहेथ्यो। कस्सम टेम्पुमा कोचिएर बस्नुको मजा नै बेग्लै। त्यति नै खेर मेरो फोनको घन्टी नबज्नुपर्थ्यो। म सिखा र उसकी साथीको कुरा सुनिरहेथेँ। मोबाइलको घन्टीले एकाग्रता भङ्ग गराउन खोज्यो। तर त्यो मिसकलमा मैले आफूलाई अड्याइनँ। टेम्पु बिजुलीबजार हुँदै माईतीघर जाँदैथियो।

-0-

सिखा बोली “त्यो त सब प्लास्टिकको हुँदोरहेछ नि ! हार्ड प्लास्टिक।” पारदर्शी कालो टि–सर्ट, जिन्स घुडाँसम्म पट्याएकी, मेरी हजुरआमाले बोक्ने थैलीजत्रो कालै ब्याग बोकेकी, कालै वर्णकी तर साह्रै हिस्सि परेकी अर्की केटीले भनी “तर लास्ट मज्जा आउने बुझिस् ?”

उनीहरूको कुराको छेउ सुनिनँ। यो मध्ये भाग मात्रै सुनेर प्रष्ट हुन पनि गाह्रो। मैले आफ्नो ध्यान उनीहरूकै कुरामा अड्याउने कोसिस गरे।

“चढ्नलाई त मजै हुने तर माइलेज भने कम दिन्छ रे।”

“देख्दा चै दाम्मी है !” कालै वर्णकी केटीले आफ्नो कुरामा समर्थन खोजेझैँ गरी।

‘देख्दा चै दाम्मी है !’ यही शब्द टिपेर उनीहरूको अनुहार देखि सम्पूर्णतामा आँखा क्रमशः डुलाएँ।

सिखाले फ्रक जस्तो स्कर्ट लगाएकी थिई अनि सेतो मोजा ठ्याक्कै घुडाँसम्मको। सेतो मोजा र स्कट बिचको भाग खाली थियो र त्यही भागले चैँ ज्यादा घर्षण गराईरहेथ्यो। बाफ्रे ! अनि टि–सर्ट मात्र कुमसम्मको। धन्न सिखाको टि–सर्ट पारदर्शी रहेनछ। सिखा समयसमयमा कपाल सुम्सुम्याईरहन्थी। मेरो नाकको टुप्पो अनि कानको लोती भन्दा नि कोमल तिनीहरूको औला र पाखुरा देखेर मलाई ती दुईसँग भन्दा पनि तिनको अभिभावकसँग साह्रो रिस उठ्यो। भात खान चामलका सिता समाउँदा पनि बिझाउला कि जस्तो लाग्ने ती औलाहरू भाँडा माझ्न त के उचाल्न पनि सक्थेनन् होला कि ? झन् तिनीहरूको पहिरन त जस्तो पायो त्यस्तै ठाउँमा आफ्नो इच्छा अनुरूप बस्न दिने खालको पनि थिएन। तर उनीहरूको निर्धक्कता र त्यो आँखिभौँ थ्रेडिङ गरिएको आँखामा झल्किएको सौन्दर्यको घमन्डले मलाई भने किन किन रिस उठिरहेथ्यो।

-0-

डा. गोविन्दराज भट्टराई सम्झिएँ। सम्झिएँ उनको उपन्यास सुकरातका पाइलाहरू। त्यतै कतै हाम्रा पुराणहरूमा लेखिएको भनेर पढेथे सायद “पुरुष भनेका वृक्ष हुन् र त्यसमा बेरिने लहरा नारी।” त्यसबखत चाहिँ म सुकरातका पाइलाहरूको सुकरात सँग चुपचाप सहमत भए। साँच्चै आजकालका केटीहरू म वृक्ष रहु भन्ने नै सोच्दारहेछन्, नत्र त यो भड्किलो पहिरन के का लागि ? सम्भोगको समयमा दरिलो समाउन खोज्दा कड्याककुडुक पर्ने, लल्याकलुलुक होलाझैँ कि लाग्ने यो शरीर कुन शानको लागि ?

-0-

आ….. होस्। यसै सम्झेर मैले आफ्नो कानलाई त्यतै तर्फ बिसाएँ। सिखाकी साथीको अर्धपारदर्शी टि– सर्टको ठाउँठाउँमा रहेको टल्कने सिताराले मेरो आँखामा घामको परावर्तन दिईरहेथ्यो। नजानिँदो तवरले मेरो आँखा त्यतै आकर्षित भईरहेथ्यो। उसले टेम्पुको सिसाभित्रैबाट चोर औलो तेर्स्याउँदै भनी  “सिखा ऊ त्यो बुटिकबाट पर्सी एउटा साडी किनेर ड्याडममको एनिभर्सरीमा मामुलाई दिनुपर्छ। हेर्न जाम है एक दिन।” मैले देखेँ त्यो मेरी आमाले छड्के आँखाले पनि हेर्न नसक्ने स्तरीय बुटिक थियो। सिखाले भने हुन्छ सूचक टाउको हल्लाई।

मेरो मोवाईलमा अल्बाट्रसको ‘खसेको तारा गन्दै’ रिङटोन बज्यो। आफै रोकियो। अनि त्यसलगत्तै मेसेज टोन पनि बज्यो। मैले मोबाइल झिक्ने हुदाँ जिउ चल्मलाएकोले होला, सिखाले आफ्नो हात मेरो तिघ्राबाट हटाई। मलाई नरमाईलो लाग्यो ।

रक्षाको मेसेज रहेछ। मिस्कल पनि उसैको थियो। लेखेकी थिई ‘यदि तिमीलाई माया गर्नु पाप हो भने नर्क मेरो घर हो। मैले देखेको सबै सपना तिमी नै हौ। फोन किन नउठाएको ? सायद बिजी छौ होला। म तिमीलाई डिस्टर्ब गर्न चाहन्नँ। तर एउटा कुरा याद राख तिमीलाई मैले प्रेम गर्नु भनेको सास फेरे जस्तै हो जुनकुरा म चाहेर पनि रोक्न सक्तिनँ।’ मलाई मिस्रित खुसी लाग्यो त्यससमय। रै पनि सोचिरहेँ, रक्षा अनि यस्तो मेसेज ? म आफै खै के हो सम्झेर फिस्स हाँसेँ। भलै मैले आफ्नो ध्यान रक्षातर्फ लामो समय केन्द्रित गरिनँ। मेरो ध्यान सिखाको टाउकोदेखि ढाड आईपुग्दा बाक्लो भएर पातलिएको (भि आकारको) कपालले तानिसकेको थियो। मैले मोबाईल गोजीमा राखेँ। यसो गर्दा सिखाको पाखुरासँग मेरो पाखुराले स्पर्श गऱ्यो। एक्कैछिन त म झनन्न भए।

-0-

त्यतिखेर तिनीहरू फिल्मको कुरा गर्दैथे।

“तैले द्रोणा हेरिस् ?”

“अँ हेरे, तर त्यसमा अभिषेक बच्चनको ड्रेस अप नै मनपरेन मलाई त। कस्तो आउट डेटेड ड्रेस अप क्या।” सिखा बोली।

“त्यै भन्या टोटल्ली आउट अफ फेसन है।” हो मा हो मिलाई काली केटीले।

“त्यै नि सुपरहिट भा’को रे त !” यसो भन्दै सिखाले ओठ लेब्र्याई। त्यो तल्लो ओठको बीच भागको कोठी देख्दा मुखभरि रस भरिएर आयो मेरो। खै किन हो कुन्नि पिच्च झ्यालबाट बाहिर थुकिदिएँ।

“कहाँ हुनु नि सुपरहिट ? बक्स अफिसमा त टिक्न सकेन।” काली केटीले यति भनिसकेपछि सिखाले उसलाई जिस्क्याए झैँ गरेर भनी “अनि तेरो र रुस्तमको त खुब चल्या’छ रे। अस्ति पनि फिल्म हेर्न जाने भनेर कलेज बङ्क गरेर गएपछि तिमीहरू क्याफे तिर थिईस् रे !”

“ह्या त्यो दिनको कुरै नगर। त्यो जस्तो बोरिङ डे त कहिल्यै भएन। झन् कत्ति न राम्रो होला भनेर नेपाली फिल्म हेर्न गा’को, मलाई त लास्टै झुर लागेर आयो। अनि बाहिर आएर एक्लै कफी पिउँदैथिए धन्न रुस्तम आईपुग्यो, कम्पनी दिन। उसलाई पनि लास्ट ह्याङ लाग्यो रे !”

“भनेपछि तिमेरुको जोडी जम्याछ ? जेहोस् ह्यान्सी छ है रुस्तम।”

“त्यस्तो केही हैन क्या, साथी मात्र हो। म तँलाई पनि भन्दिनँ होला त।” यसो भन्दै त्यो काली केटीले बाहिर हेरी, प्रसुति गृहतर्फ। टेम्पु घ्याच्च रोकिएको थियो। हामी त्यतिखेर थापाथलीको रेड लाईटमा रोकिएका थियौँ। त्यसपछि त्यो विष्णुमति पुलमाथिको चक्काजाम त बाँकी नै छदैथियो।

टेम्पु अगाडि बढ्यो। हलुका आएको हावाले काली केटीको केश लहरायो। सिखा एक्कासी चिच्याई “वाउ, क्या दामी ईयर पर्ल ! कहिले किनेकी ?”

“दामी छ है ! कहाँ मैले किन्नु नि। अस्ति हामी पोखरा गा’को थियौँ नि टुरमा, हो त्यतिखेर मैले त्यो महेन्द्र पुल छेउको कम्प्लेक्समा दामी लागेर हेरेकी थिए। रुस्तमले मलाई थाहै नदिई किनेछ अनि फर्किसकेपछि अस्तिको दिन मेरो बर्थडे मा मलाई सरप्राइज गिफ्ट दिएको।”

“ओ, ड्याट मिन्स हियर कम्स दि त्रुथ। भनेपछि त्यसो।” फेरि जिस्काउन थाली सिखा।

“हि इज जस्ट अ गुड फ्रेन्ड। धेरै नजिस्का है मोरी मलाई।” यसो भन्दै ऊ थोरै रिसाएर धेरै लजाएझैँ गरी। सिखा मुसुक्क मुस्काई। आफ्नो आँखाअगाडि आएको कपाल देब्रे हातको चोरी औलाले कानपछाडि लगी। अनि कपालको लामो भाग ढाडपछाडिबाट अगाडि ल्याएर साहिली र कान्छी औलाको चेपले सुम्सुम्याउँदै भनी, “जेहोस् कटिङ चै राम्रो गरिदियो। हेर न कन्डिसनिङ गरेको, कपाल त अझै चिसै छ भन्या।” काली केटीले कपाल छामिदिँदै भनी, “तर त्यहाँ राम्रो गर्दोरै’छ बुझिस्। म पनि अब त्यही जान्छु सधैँ।”

-0-

टेम्पु घ्याच्च रोकियो। “ल रविभवन झर्नोस् है”, ड्राईभर करायो। काली केटी ओर्लिई। सिखा ओर्लिन के खोज्दैथिई मेरो काखमाथि पो थ्याच्चै बसी। टेम्पुभित्र हाँसोको लामो फोहरा छुट्यो। सिखाको झिलझिले बेल्ट मेरो प्यान्टको बेल्ट बकलमा अड्किएको रहेछ। म हाँस्न सकिनँ। लाजले रातो भएको थिएँ। ऊ झनै लजाएकी थिई। मेरो तिघ्रा र उसको हिप एक्कैठाम् टाँस्सिएको थियो। मभित्र करेन्ट झन्झनाईरहेथ्यो। उसले बेल्ट फुस्काउने यत्न गर्दै गर्दा मेरो तिघ्रामा घर्षण भईरहेथ्यो। ऊ गोरी मान्छे, लाजले रगतै चुहिएला कि जस्तो राती भएकी थिई। म चुपचाप लाटो भएको थिए। अक्क न बक्क।

-0-

ड्राईभरले दोश्रो चोटि ‘पुल्चोक’ भनेपछि पो म झसङ्ग भएँ। सिखा र उसकी साथी ओर्लिसकेछन्। लजाउँदै म पनि ओर्लिएँ। एलिको पुगेँ। त्यहाँ जम्मा गर्नुपर्ने पैसा जम्मा गरिदिएर म त्यो अफिसबाट निस्कनै के आँटेको थिए, फेरि उही टोन बज्यो मेरो मोबाईलमा। रक्षाको रहेछ। मैले उठाउन नपाउँदै ऊ एकोहोरो झर्किई। “हैन केहो ? नो कल, नो मेसेज। अझ मेरो मेसेजको रिप्लाई पनि छैन, के भयो तिमीलाई ? आज भेट्ने भनेको बिर्स्यौ ?”

साँच्चै भन्दा त सिखासँगको स्पर्शपछि त झन्डै–झन्डै मैले आफैँलाई पनि बिर्सिसकेको थिए। “कहाँ बिर्सनु नि, म त्यतै त आउँदैछु।” मैले उसलाई सजिलै टार्न खोजे।

“कतिखेर आईपुग्छौ ?”

“मे बि विथ इन फिफ्टिन मिनट्स।”

“अनि कहाँ भेट्छौ त ?”

अल्मल्लिएँ। भनिदिएँ “तिमी नै भनन, कहाँ भेट्ने ?”

“ओके देन, उसले एकछिन सोचझैँ गरेर भनी “आई विल बि एट नाङ्लो, टेबल नं. सेभेन्टिन। चाँडो आउ है।”

“हुन्छ।” भनेर मैले फोन राखिदिएँ। अनि हिड्न थालेँ, आखिर जावलाखेलको नाङ्लो कत्तिनै टाढा हो र ?

-0-

रक्षा- करिब एक बर्ष जति भयो होला हाम्रो फोनमा कुराकानी हुन थालेको। मैले मेरो साथी दिनेशलाई फोन गर्न खोज्दा रङ नं. डायल भएर राईट ठाउँमा अर्थात् रक्षाकोमा पुगेथ्यो त्यसबेला। मैले फ्लर्ट गर्न खोजेको थिएँ। तर मलाई के थाहा सम्बन्ध यसरी लामो हुन्छ भनेर। मैले उसलाई कहिल्यै देखिनँ, उसले पनि त मलाई देखेकी थिईन। सायद यो उमेर थियो जसले हामीलाई नजिक बनायो। भेट्ने भनेर कुरा धेरै चोटि भएपनि कहिले उसको त कहिले मेरो लास्ट आवरमा के मिल्दैनथ्यो के ! जेहोस् आज हामी भेट्दैथियौँ। म मनमनै उसको चित्र बुन्न व्यस्त हुन थाले। लामो कपाल, काला गाजले आँखा, मिलेको जिउडाल। ग्रिन कलरको ड्रेस लगा’की छु भन्दैथी, सायद हरियो कुर्ता सलवार लगाएकी हुँदी हो। सोझी। राम्री होली रक्षा। एउटा युग जित्न सक्ने साहसिली र पक्कै उत्तिकै फरासिली होली रक्षा। कोमल मनकी धनी रक्षा। म मनमा उसको तस्बिर नियाल्दै फुरुङ्ग परिरहेथे। तरङ्ग दौडिरहेथ्यो मनभित्र कताकता। पाइला हतारिएर वेग हुन खोज्दैथियो।

-0-

जावलाखेल पुगेपछि म एकछिन रोकिएँ। जावलाखेलको बीचमा वरिपरि घुमेको सडक हेरेर लामो स्वास फालेँ। के सोचेर हो कुन्नि मैले मोबाइल साईलेन्ट मोडमा राखिदिएँ। बिहान भर्खर बहिनीले स्पाईडर वेभ आईरन गरिदिएकी सर्ट ठाउँठाउँमा कुच्चिसकेको थियो। तन्काईवरी मिलाएझैँ गरे। क्याप लगाएको थिए, नत्र कपाल मिलाउँथे होला। देब्रे खुट्टाको पछाडि दाहिने र दाहिने खुट्टाको पछाडि देब्रे जुत्ताको अग्रभाग पुछेजस्तै गरे। अनि भित्र छिरे, नाङलो द बेकरी क्याफे।

-0-

भित्र एसी चलिरहेथ्यो। जेम्स ब्लन्टको ‘यु आर ब्युटिफुल ….’ बजिरहेथ्यो। मन ढक्क फुलेर आयो। सायद बढ्यो धड्कनको गति पनि।

तर यो के अचम्म, टेबल नं. सत्र मा त तीनजना केटीहरू पो थिए। झन् अर्को अचम्म त म सिखा र उसकी साथीलाई त्यो टेबलमा देख्दा पो भएँ। म झुक्किएँ कि भनेर वरिपरि हेरे। सिसाको बाहिरपट्टि भित्रबाट मैले उल्टो अक्षरमा नाङलो द बेकरी क्याफे लेखेको देखेपछि भने म ढुक्क भएँ। सायद अर्की केटी रक्षा थिई होला, मैले अनुमान गरेँ।

ठूल्ठूला इयर रिङ, काला आँखा, आँखाको कुनाभन्दा पर लगेर टुङ्ग्याईएको गाजलको चुच्चो रेखा। गहुँगोरी काली। हरियो कलरको टि–सर्ट। ठाउँठाउँमा ग्रन्ज गरिएको नीलो चुज प्यान्ट। प्यान्टको मोता, तलको भित्री भाग भने ठूलो खैरो जम्बो आकारको बुटभित्र कोचिएको। म त देखेर रन्थन्निएँ पो ! सिखा र उसकी साथीले मलाई देखे। काली केटीले सिखालाई जिस्काउँदै कुइनाले ढेस्सा दिई। म फिस्स हाँसेझैँ गरेँ। सिखाले लाजले मुन्टो निहुराई। काली केटीले रक्षालाई खै के भनी कुन्नि, उनीहरू मजाले हाँसे। त्यसपछि सिखाले उनीहरूलाई आँखा तर्न लागी। ऊ ठुस्किएर रिसाई।

मलाई त्यहाँ गईहाल्न मन लागेन। कालो कफी अर्डर गरेर म तिनीहरूको नजिकैको अर्को टेबलमा गएर बसेँ।

-0-

“कतिखेर आईपुग्छ हौ तेरो सौरभ ?” काली केटीले रक्षातर्फ हेरेर सोधी।

“खै आउँदैहोला।” रक्षा बोली।

“साँच्चै कस्तो छ है सौरभ ? भन्न हामीलाई नि।” जिस्काउने पालो अब सिखाको रहेछ।

“ह्यान्सी छ होला नि, जस्तो पायो त्यस्तोलाई के हेर्थी यसले ?” काली केटीले सिखालाई भनेझैँ गर्दै आँखाले भने मतर्फ इसारा गरिरहीथी।

“हुनत हो है। ” म तर्फ ध्यान नदिएझैँ सिखा बोली अनि फेरि सोधी “भन्न कस्तो छ तेरो सौरभ ?”

लाजले मुस्कुराउँदै रक्षा बोली, “खै मलाई के थाहा ? मैले देखेकी नै छैन।” रक्षाको यो उत्तरले बाँकी दुबैको अनुहारलार्ई विस्मयादिबोधक चिन्हले वाण हानेझैँ भयो। सिखा आँ………… गरेर मुख बाएको बायै भई।

काली केटीले सोधी “अनि उसले चाहिँ तलाई देखेको छ त ?”

“छैन।”

“लौ अनि अब कसरी चिन्छ त ?” सिखाले अचम्मित हुदै सोधी।

“मैले यहाँको फुल एड्रेस दिएको छु। यही आउँछ अनि चिनिहाल्छ नि।” मैले देखिरहेथेँ, रक्षालाई मलाई भेट्ने बेचैनी बढिरहेथ्यो। उसको हात फोन गर्न मै व्यस्त थियो, सायद दिमाग पनि। लामो सुस्केरा हाल्दै निरास भएर भनी “हेर न सिखा फोन नै उठाउँदैन।”

“बाइकमा थाहा भएन होला नि। चिन्ता नगर न।” जिस्काउँदै बोली सिखा अनि दुई वटा भेनिला र एउटा स्ट्रबेरी आईसक्रिमको अर्डर गरी। म भने सिखाको प्रेडिक्सन सुनेर खोकेजसरी हाँसे। सिगरेट मगाएँ अनि कफी पिउन थालेँ।

“ओके देन लेट्स मेक अ गेस। तेरो बिचारमा सौरभ कस्तो छ होला ? ”

“अँ, साच्ची कस्तो छ होला है ?” सिखाले काली केटीको प्रश्नलाई अझ स्ट्रेस गरिदिई।

“खै मलाई के थाहा ?” च्याठ्ठिएझैँ गरी लजाई रक्षा।

“जस्ट मेक अ गेस यार” हठ छोडिन काली केटीले।

“अभियोस्ली यु मस्ट ह्याभ प्रेडिक्ट समलाईक …..” सिखाले सही थपी।

“प्लिज यार, लेट अस नो योर ड्रिमब्याय। भन त सही, तेरो विचारमा कस्तो चै होला तेरो सौरभ ?”

दुइटीको जिद्दीको अगाडि जोर नचलेपछि लजाउँदै शिर झुकाएर रक्षा बोली “अग्लो शरीर, चौडा छाती, ह्यान्सी होला। हेल्मेट टेबलमा राख्दै मे आई जोईन विथ यु भन्दै आई पुग्ला सायद।”

मलाई कफी सर्किएछ। बेस्सरी खोकी लाग्यो, आँसु नै आउला जसरी। तर यसो भनिरहँदा रक्षा अलिक खुसी भएकी थिई, एकैछिन मात्र भए पनि फोन डायल गर्न बिर्सिएकी थिई सायद। म खोकेपछि भने रक्षाले ओठ चोसो पारेर रिसाउँदै मलाई हेरी। आँखा ठूलो पारेर तर्दाखेरी उसले मस्कारा पोतेर माथि उचालेकी परेला अझैँ माथि आकाशतर्फ उचालिएथ्यो। चोसो परेको उसको ओठ भने लिपिस्टिकले टम्माएको थियो। म एकोहोरो चुरोट पिउन थालेँ। रक्षाले एकदिन फोनमा भनेकी थिई ‘आइ हेट स्मोकर्स’, तर मलाई त्यसबखत चुरोट पिउँदा छुट्टै आनन्द आईरहेथ्यो।

मैले एस्ट्रे छेउको कपबाट टिस्स्यु पेपर उठाए अनि लेख्न थाले :

‘सरी रक्षा !

आई डन्ट नो, तिमीले मलाई के सोच्छौ ? किन किन मलाई तिम्रो अगाडि पर्नै मन लागेन। मे बि ड्याट आई एम ईन्टायर्ली डिफरेन्ट फ्रम ह्वाट यु थिङ्क अफ मि। मे बि डिफरेन्ट फ्रम योर ईम्याजिनेसन टु। सायद परिवर्तन आवश्यक छ, कि तिमीमा कि ममा। हुनत फेरि पनि हामी दुवै परिवर्तन हुने छैनौ किनकि हामी दुवै सोच्छौँ कि ह्वाट वी आर द्याट ईज द बेस्ट वी कुड बि ! सपना र यथार्थहरू प्राय उस्तै विरलै हुन्छन्। सायद त्यसैले पनि यहाँ आएर तिमीलाई नभेटी फर्किएँ। आई डु होप यु विल एस्क्युज मी। नभेटी गएकोमा माफी चाहन्छु। लास्ट्ली, आई एम सो सरी टु मेक यु अवेट सो लङ्ग। 

सौरभ।’ 

थोरै नेपाली, अनि धेरै अङ्ग्रेजी लेखेर पत्र टुङ्ग्याए। त्यो पहेलो टिस्स्यु पेपरमा त्यो भन्दा बढी अट्दोहो त म अझैँ बढी लेख्थे होला। त्यसपछि मैले चुरोट एस्ट्रेमा निभाउदै विलको अर्डर गरे। रु ५५ को विल माथि मैले रु १०० को नोट राखिदिए अनि त्यो वेटरलाई खुसुक्क भनेँ, “यो पेपर त्यो ग्रन्ज प्यान्टमाथि हरियो टि– सर्ट लगाउने केटीलाई उनीहरू जानेबेलामा दिनु अनि मैले दिएको चै नभन्नु नि फेरि। बाँकी पैसा तिमीलाई टिप्स भयो।” खुसी हुदै र अलि बढी अचम्मित हुँदै उसले हुन्छ सूचकको टाउको हल्लायो। म निस्किने बेला बब मार्ली रेगे म्युजिकमा ‘नो वुमन नो क्राई’ चिच्याउँदै थिए। म पनि लय मिलाउँदै त्यही गीत मधुरो स्वरमा गुनगुनाउन थालेँ।

-0-

सडकपेटिमा निस्किएर घडी हेरेँ। पाँच बज्न पाँचै मिनेट मात्र बाँकी थियो। स्कूल कलेजबाट फर्कनेहरूको, जागिर खाएर घर फिरेकाहरूको, नाईट ड्युटीका मा जानेहरूको, तरकारी बेच्नेहरूको अनि तरकारी किन्नेहरूको घुइँचो लागिसकेको थियो। घाम डाँडापारी छिमल्लिसकेको थियो। म हतारहतार एउटा गाडीमा चढेँ। चढेँ पनि के भन्नु ? झुन्डिएँ। पातलो मान्छे, बल्ल तल्ल अलि भित्र छिरेँ अनि कोच्चिएर उभिईरहेँ। खुट्टो राख्ने ठाउँ पनि मुस्किलले पाएको थिएँ। त्यतिखेर मोबाइल साईलेन्ट मोडबाट हटाउन मन त लागेको थियो तर त्यो भीडमा चट्पटाउन पनि नसकेकाले त्यतातर्फ ध्यान नै दिन मन लागेन। सायद त्यतिखेरै मैले एउटा अनिश्चित निर्णय गरेँ ‘आजै गएर बा’लाई भन्नुपर्ला। साँच्चै एउटा बाइक त चाहिँन्छ क्यारे।’

-0-0-